0Shares

पोखरा, ८ भदौ — नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीको नयाँ नेतृत्व चयनका लागि हुने १४औँ अधिवेशनमा अध्यक्ष पदका लागि कमला गिरी र संगीता पौडेल आमनेसामने भएका छन्।

नाट्टा गण्डकीको ३१औँ साधारणसभा तथा १४औँ अधिवेशन यही भदौ १० गते हुँदैछ। अध्यक्ष पदमा दुई जनाको उम्मेदवारी दर्ता भएसँगै आगामी नेतृत्वका लागि प्रतिस्पर्धा रोचक बनेको छ।

अध्यक्षका उम्मेदवार गिरी र पौडेलबीच यसअघि पनि प्रतिस्पर्धा भइसकेको छ। १३औँ अधिवेशनमा प्रथम उपाध्यक्ष पदमा आमनेसामने भएका उनीहरूबीचको प्रतिस्पर्धामा पौडेल विजयी भएकी थिइन्। यसपटक भने दुवै जना अध्यक्ष पदका लागि मैदानमा उत्रिएका छन्।

प्रथम उपाध्यक्ष पदमा चेतबहादुर कार्की र राजेश पहारीबीच प्रतिस्पर्धा हुने भएको छ। द्वितीय उपाध्यक्षमा भने विद्याराज आचार्यको एकल उम्मेदवारी परेको छ।

त्यसैगरी, महासचिव पदमा ताराप्रसाद गौतम र नवराज भण्डारी, सचिवमा प्रतीक लामिछाने र सुवास पहारी, कोषाध्यक्षमा छवि रमण पौडेल र सन्दिप श्रेष्ठ तथा सह–कोषाध्यक्षमा तुलबहादुर गुरुङ र पदम राज आचार्यबीच प्रतिस्पर्धा हुने भएको छ।

सदस्य पदका लागि अशोक कुमार क्षेत्री, मिलन ढकाल, विकास निरौला, रामचन्द्र घिमिरे र सोमनाथ अधिकारीको उम्मेदवारी परेको छ। सदस्यतर्फ पाँच पदका लागि पाँच जनाकै उम्मेदवारी परेकाले त्यहाँ भने प्रतिस्पर्धा नहुने भएको छ।

अध्यक्षसहित अधिकांश प्रमुख पदमा दुई–दुई जनाको उम्मेदवारी परेपछि नाट्टा गण्डकीको नयाँ नेतृत्वप्रति पर्यटन तथा ट्राभल व्यवसायीको चासो बढेको छ। विशेषगरी गिरी र पौडेलबीचको दोस्रो प्रतिस्पर्धालाई व्यवसायीहरूले चासोका साथ हेरेका छन्।

नयाँ नेतृत्वले गण्डकीको पर्यटन प्रवर्द्धन, ट्राभल व्यवसायको संस्थागत सुदृढीकरण, व्यवसायीका साझा समस्या समाधान तथा पर्यटन व्यवसायमैत्री वातावरण निर्माणमा कस्तो भूमिका खेल्छ, त्यसलाई पनि अधिवेशनले निर्धारण गर्ने अपेक्षा गरिएको छ।

अब नाट्टा गण्डकीको नेतृत्वमा १३औँ अधिवेशनकी विजेता पौडेलले निरन्तरता पाउँछिन् वा यसपटक गिरीले बाजी मार्छिन्, भन्ने निर्णय भदौ १० गते हुने निर्वाचनले गर्नेछ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected