0Shares

५० लाख उद्धार कोषमा, नुवाकोटका दुई आश्रयस्थलमा सौर्य ऊर्जाबाट चल्ने खानेपानी प्लान्ट

पोखरा । आफ्नै घर गुमाएको पीडा अझै नसकिँदै लायन्स अन्तर्राष्ट्रिय मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालका निवर्तमान मल्टिपल काउन्सिल चेयरपर्सन मिलन थापा विपद् प्रभावित परिवारको सेवामा जुटेका छन्।

घर जलेर नष्ट भएको एक वर्ष पुग्न लाग्दा पनि पुनर्निर्माण पूरा हुन नसकेको अवस्थामा साथीले उपलब्ध गराएको अपार्टमेन्टमा बस्दै आएका थापा आफ्नो व्यक्तिगत पीडालाई थाती राखेर विपद् प्रभावित समुदायको सहयोगमा सक्रिय भएका हुन्।

‘राहतमा हाम्रो पनि थोरै साथ’ भन्ने उद्देश्यका साथ उनी स्वयं विपद् प्रभावित क्षेत्रमा पुगेका छन्। विभिन्न कठिनाइ र विकटता छिचोल्दै करिब १२ घण्टाको यात्रापछि थापा नुवाकोटको त्रिशूली पारिका क्षेत्रमा पुगेका थिए।

त्यहाँ करिब ४ सय जनाका लागि डसना, सिरानी, तन्ना, औषधि तथा आधारभूत स्वास्थ्य सामग्री, खाद्यान्न तथा तरकारी, खाना पकाउने सामग्री र भाँडाकुँडा तथा पुरुष, महिला र बालबालिकाका लागि आवश्यक कपडालगायत सामग्री वितरण गरिएको छ।

थापाले आफू जस्तोसुकै परिस्थितिमा भए पनि मानवीय संवेदना मर्न नहुने बताए। आफूभन्दा ठूलो विपद्मा परेका समुदाय तथा परिवारका लागि केही गर्नुपर्छ भन्ने भावनाले सहयोग अभियान सञ्चालन गरिएको उनको भनाइ छ।

विपद्को कठिन समयमा प्रभावितको साथमा उभिने उद्देश्यले थापाको कम्पनी मेक्सस नेपाल तथा हिमालय अर्गनाईजेसनका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी ५० लाख रुपैयाँको चेक केही दिनअघि अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको छ।

त्यसैगरी, लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ जे नेपालको समन्वयमा करिब ३० लाख रुपैयाँ लागतमा नुवाकोटको त्रिशूली क्षेत्रका दुई अस्थायी आश्रयस्थलमा स्वच्छ खानेपानी उपलब्ध गराउन ‘वाटर ट्रिटमेन्ट प्लान्ट’ जडान गरिएको छ।

भैरूम माध्यमिक विद्यालय र त्रिशूली प्राथमिक विद्यालयमा जडान गरिएका दुवै प्लान्ट सौर्य ऊर्जामा आधारित छन्। प्रत्येक प्लान्टले प्रतिघण्टा १ हजार लिटर पानी शुद्धीकरण गर्न सक्ने क्षमता रहेको बताइएको छ।

प्लान्ट सञ्चालनमा आएपछि तत्काल अस्थायी आश्रयस्थलमा रहेका विपद् प्रभावितलाई स्वच्छ खानेपानी उपलब्ध हुने र दीर्घकालीन रूपमा विद्यालयका विद्यार्थीले समेत यसको लाभ लिन सक्ने अपेक्षा गरिएको छ।

विपद् प्रभावितका लागि थापाले गरेको सहयोग यो पहिलोपटक भने होइन।

२०७२ सालको विनाशकारी भूकम्पका समयमा पीडितको उद्धार तथा राहत कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले तीन जिल्लाका लागि करिब एक करोड रुपैयाँ बराबरका तीनवटा एम्बुलेन्स उपलब्ध गराइएको थियो।

थापाका श्रीमान् ध्रुवबहादुर थापा लायन्स वर्ष २०१५/१६ मा डिष्ट्रिक्ट ३२५ नेपालका डिष्ट्रिक्ट गभर्नर थिए। सोही समयमा विनाशकारी भूकम्प गएको थियो। भूकम्पपछि उद्धार तथा राहतमा उनको सक्रियता उल्लेखनीय रहेको थापाले बताएकी छन्।

त्यस्तै, कोभिड–१९ महामारीका समयमा विभिन्न संघसंस्थालाई निःशुल्क सञ्चालनका लागि चारवटा शववाहन तथा एम्बुलेन्स उपलब्ध गराइएको पनि उनले स्मरण गरिन्।

सामाजिक सञ्जालमा सहयोगका विषयमा आउने कतिपय टिप्पणीप्रति दुःख व्यक्त गर्दै थापाले आफूहरूले अहिले मात्र नभई विगतदेखि नै विपद्का समयमा सहयोग गर्दै आएको बताए।

विपद्को कठिन घडीमा पीडित परिवारको साथमा उभिन पाउनु दायित्व मात्र नभई मानवीय कर्तव्यसमेत भएको उनको भनाइ छ।

उनले विपद् प्रभावितको साथमा हातेमालो गर्न सबैलाई आग्रह गर्दै सहयोग गर्दा वास्तविक आवश्यकता पहिचान गरेर मात्र सहयोग गर्नुपर्नेमा जोड दिए।

आफ्नै घर गुमाएको पीडा अझै नसकिएको अवस्थामा अरूको दुःखमा साथ दिन सक्रिय थापाको अभियानले व्यक्तिगत पीडाभन्दा माथि उठेर मानवीय सेवामा समर्पित हुने सन्देश दिएको छ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected