0Shares

अन्नपूर्ण–१ भारतीडाँडामा प्रतीक्षालयसँगै धारो निर्माण, समुदायलाई हस्तान्तरण; ‘जन्मे–हुर्केको गाउँका लागि केही गर्नुपर्छ’ भन्ने प्रेरणादायी सन्देश

अन्नपूर्ण कास्की । जन्मे–हुर्केको गाउँप्रतिको माया शब्दमा मात्रै होइन, कर्ममै देखाउनुपर्छ भन्ने उदाहरण अन्नपूर्ण गाउँपालिका–१, भारतीडाँडामा देखिएको छ। स्वर्गीय हजुरबा हरिप्रसाद अधिकारी ‘हरे बा’को स्मृतिमा उनका नाति राजेन्द्र अधिकारीले आफ्नै गाउँमा प्रतीक्षालय निर्माण गरी समुदायलाई हस्तान्तरण गरेका छन्।

स्थानीयवासीको दैनिक आवतजावत र विश्रामका लागि उपयोगी हुने गरी निर्माण गरिएको प्रतीक्षालयसँगै सार्वजनिक धारासमेत निर्माण गरिएको छ। व्यक्तिगत खर्चमा निर्माण गरिएको उक्त संरचना समुदायको साझा सम्पत्तिका रूपमा हस्तान्तरण गरिएको हो।

शनिबार २० गते आयोजित एक कार्यक्रमबीच बयोवृद्ध बालकृष्ण अधिकारीले रिबन काटेर प्रतीक्षालयको उद्घाटन गरे। अन्नपूर्ण गाउँपालिका–१ का वडाध्यक्ष तुलसीप्रसाद अधिकारीको रोहवरमा प्रतीक्षालय समुदायलाई हस्तान्तरण गरिएको थियो।

हजुरबाको सम्झनालाई सामाजिक सेवासँग जोड्दै राजेन्द्रले आफू जन्मे–हुर्केको गाउँका लागि केही गर्नुपर्छ भन्ने भावनालाई व्यवहारमा उतारेका हुन्। आफ्नो सफलताको केही हिस्सा जन्मभूमि र स्थानीय समुदायको हितमा लगानी गर्न सके त्यसले समाजमा सकारात्मक प्रभाव पार्ने सन्देश उनको कार्यले दिएको छ।

‘जन्मभूमिलाई सम्झने मात्रै होइन, आफ्नो ठाउँका लागि केही योगदान पनि गर्नुपर्छ’ भन्ने भावनाबाट प्रेरित भएर निर्माण गरिएको प्रतीक्षालयले स्थानीयवासीलाई सुविधा दिनुका साथै सामाजिक उत्तरदायित्वको एउटा सुन्दर उदाहरणसमेत प्रस्तुत गरेको छ।

हस्तान्तरण कार्यक्रममा टोल विकास संस्थाका अध्यक्ष, आमा समूहका अध्यक्ष, स्थानीय बुद्धिजीवी, समाजसेवी तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा टोल विकास संस्थाका अध्यक्ष एकबहादुर कुँवरले प्रतीक्षालय तथा धाराको संरक्षण र व्यवस्थापनको जिम्मेवारी टोल विकास संस्थाले लिने प्रतिबद्धता व्यक्त गरे।

स्थानीयस्तरमा यस्ता संरचना निर्माण हुँदा तत्कालीन सुविधा मात्र थपिँदैन, समुदायप्रतिको अपनत्व र सहकार्यको भावना पनि बलियो हुन्छ। अझ आफ्नै जन्मभूमिमा जन्मे–हुर्केका व्यक्तिहरूले गाउँको आवश्यकता पहिचान गरी सामाजिक काममा हातेमालो गर्ने हो भने स्थानीय विकासले नयाँ गति लिन सक्ने स्थानीयको भनाइ छ।

हजुरबाको स्मृतिलाई जीवन्त राख्दै समुदायलाई उपयोगी संरचना उपहार दिएका राजेन्द्रको यो पहलले एउटा महत्वपूर्ण सन्देश दिएको छ—आफू जन्मेको र हुर्केको गाउँका लागि योगदान गर्न ठूलो योजना वा ठूलो पद होइन, इच्छा र सामाजिक जिम्मेवारीको भावना आवश्यक हुन्छ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected