0Shares

उत्तरगयामा राहत सामग्री गोदाम र सेल्टरमा थुप्रिएको आरोप, वितरणको पारदर्शितामाथि गम्भीर प्रश्न

रसुवा, उत्तरगया । बाढी–पहिरो पीडितका नाममा वितरण गरिएको राहत सामग्री वास्तविक पीडितको हातसम्म पुगेको हो कि होइन भन्ने प्रश्नले उत्तरगयामा नयाँ बहस सिर्जना गरेको छ। लायन्स क्लब अफ काठमाडौं गुल्मोहर र स्थानीय प्रशासनको पहलमा राहत सामग्री वितरण गरिएको भनिए पनि सामग्री सेल्टर तथा भण्डारणस्थलमा थुप्रिएको देखिएको र पीडित परिवारसम्म राहत नपुगेको आशंका व्यक्त गरिएको छ।

सामाजिक अभियन्ता सन्दीप क्षेत्री पराजुलीले सामाजिक सञ्जालमार्फत राहत वितरणप्रति प्रश्न उठाउँदै “राहत पुग्यो, पीडित भेटिएनन्!” भन्ने अभिव्यक्ति दिएका छन्। उनको भनाइपछि राहत सामग्री कहाँ पुग्यो, कति परिवारले पाए र वास्तविक पीडितको पहिचान कसरी गरियो भन्ने विषयमा चासो बढेको छ।

विपद्का बेला राहत संकलन र वितरण मात्रै पर्याप्त हुँदैन। कति सामग्री आयो, कति परिवारले पाए र बाँकी सामग्री कहाँ छ? भन्ने विवरणसमेत सार्वजनिक हुनुपर्ने सरोकारवालाको माग छ।

राहत सामग्री गोदाम वा सेल्टरमा जम्मा हुनु र पीडितको घरदैलोमा पुग्नु फरक विषय हो। त्यसैले राहत वितरण प्रक्रियामा पारदर्शिता कायम गर्न वितरण गरिएका परिवारको विवरण, सामग्रीको परिमाण र बाँकी मौज्दात सार्वजनिक गर्नुपर्ने माग उठेको छ।

राहत वितरणमा अनियमितता भएको निष्कर्षमा पुग्नुअघि सम्बन्धित निकायले घटनाको वास्तविकता छानबिन गर्नुपर्ने देखिएको छ। स्थानीय प्रशासन र राहतमा संलग्न संस्थाले राहत वितरणको सम्पूर्ण विवरण सार्वजनिक गरी उठेका आशंका चिर्नुपर्ने अधिकारकर्मी तथा स्थानीयको माग छ।

पीडितका नाममा आएको राहत सेल्टरमा थुप्रिने होइन, पीडितकै हातमा पुग्नुपर्छ। उत्तरगयामा उठेको प्रश्न अब सम्बन्धित निकायको जवाफको पर्खाइमा छ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected