अन्नपूर्ण–१ कांग्रेस सभापतिमा नरपति दाहाल निर्वाचित, २३ क्षेत्रीय प्रतिनिधि चयन

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कास्कीको अन्नपूर्ण गाउँपालिका–१ को वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले नरपति दाहाललाई वडा सभापतिमा निर्वाचित गरेको छ।
आज सम्पन्न अधिवेशनबाट उपसभापतिमा सुन्दर सुवेदी, महिला उपसभापतिमा चन्द्रा विश्वकर्मा, सचिवमा रुद्रबहादुर परियार र सहसचिवमा कृष्णबहादुर श्रेष्ठ निर्वाचित भएका छन्। कोषाध्यक्ष भने वडा सभापतिले कार्यसमितिको बैठकबाट मनोनयन गर्नेछन्।
त्यस्तै, वडा कार्यसमिति सदस्यमा शिवप्रसाद दाहाल, हरिप्रसाद लामिछाने, पूर्णबहादुर परियार, खेमराज अधिकारी, सिर्जना कुँवर, संगीता परियार र मधु परियार निर्वाचित भएका छन्। वडा सभापतिले विधानअनुसार थप पाँच जना सदस्य मनोनयन गर्न पाउनेछन्।
२३ जना क्षेत्रीय प्रतिनिधि निर्वाचित

अधिवेशनले विभिन्न क्लस्टरअन्तर्गत २३ जना क्षेत्रीय प्रतिनिधिसमेत चयन गरेको छ।
महिला प्रतिनिधितर्फ तुलसीकुमारी सुवेदी, अम्बिका कुँवर र राजकुमारी परियार निर्वाचित भएका छन्। खुलातर्फ युवराज कुँवर, कृष्णप्रसाद सुवेदी, तिलकबहादुर कुँवर, चित्रमोहन सुवेदी र मधुप्रसाद सुवेदी चयन भएका छन्।
पेशागत विज्ञतर्फ नेपाल प्रेस युनियन गण्डकी प्रदेशका अध्यक्ष टंकराज अधिकारी निर्वाचित भएका छन्।
३५ वर्षमुनिका युवा प्रतिनिधितर्फ अंकित भण्डारी, अन्तिमा दाहाल र रन्जिता दाहाल चयन भएका छन्। दलिततर्फ अम्बरबहादुर परियार, अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्वतर्फ चेतभक्त लम्साल निर्वाचित भएका छन्।
प्रजातन्त्र सेनानी, द्वन्द्व प्रभावित तथा सहिद परिवार समूहबाट मोहनध्वज कुँवर र हेमबहादुर खत्री चयन भएका छन् भने श्रमिकतर्फ बलबहादुर कुँवर निर्वाचित भएका छन्।
समानुपातिक प्रतिनिधितर्फ खस आर्यबाट भरतबहादुर कुँवर र दिलबहादुर जिसी, आदिवासी जनजातिबाट सुशील भट्टचन र नवराज श्रेष्ठ तथा दलितबाट नरबहादुर विक र सम्झना विक निर्वाचित भएका छन्।
आजदेखि सुरु भयो वडा अधिवेशन
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन आजदेखि औपचारिक रूपमा सुरु भएको हो। पार्टी केन्द्रीय निर्वाचन समितिले आज र आइतबार स्थानीय अनुकूलताअनुसार वडा अधिवेशन सम्पन्न गर्न सकिने कार्यतालिका सार्वजनिक गरेको छ।
निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काका अनुसार गत पुस मसान्तसम्म क्रियाशील सदस्यता नवीकरण गरेका सबै क्रियाशील सदस्यले वडा अधिवेशनमा भाग लिन पाउनेछन्।
कांग्रेसको विधानअनुसार वडा अधिवेशनले वडा सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव, एक सहसचिव र सदस्य निर्वाचित गर्ने व्यवस्था छ। गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका वडामा निर्वाचित सभापतिले सम्बन्धित कार्यसमितिबाट कोषाध्यक्ष मनोनयन गर्न पाउनेछन्।
गाउँपालिका वडामा कम्तीमा दुई महिला, एक दलित र ३५ वर्षमुनिका एक युवासहित सात जना वडा सदस्य निर्वाचित हुने व्यवस्था छ। नगर तथा उपमहानगरपालिकामा दुई महिला, एक दलित र ३५ वर्षमुनिका दुई युवासहित आठ जना तथा महानगरपालिकामा कम्तीमा तीन महिला, एक दलित र ३० वर्षमुनिका तीन युवासहित ११ जना सदस्य प्रत्यक्ष निर्वाचित हुनेछन्।
विधानअनुसार गाउँपालिका वडाका सभापतिले पाँच, नगर तथा उपमहानगरपालिकाका सभापतिले छ र महानगरपालिकाका सभापतिले सात जना सदस्य मनोनयन गर्न पाउनेछन्। मनोनयन गर्दा कार्यसमितिमा कम्तीमा एकतिहाइ महिला सहभागिता सुनिश्चित गर्नुका साथै समावेशी सिद्धान्तअनुसार विभिन्न समुदाय, अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति र युवाको प्रतिनिधित्वलाई ध्यान दिनुपर्ने व्यवस्था छ।
वडा कार्यसमितिको बैठक प्रत्येक महिना कम्तीमा एकपटक बस्नुपर्ने तथा आवश्यकताअनुसार क्षेत्रीय अधिवेशनका प्रतिनिधिलाई बैठकमा आमन्त्रण गर्न सकिने विधानमा उल्लेख छ। मातहतका टोल कार्यसमितिका सभापतिलाई भने वडा कार्यसमितिको बैठकमा अनिवार्य आमन्त्रण गर्नुपर्ने व्यवस्था छ।
कांग्रेसको विधानले क्षेत्रीय अधिवेशनका प्रतिनिधि र गाउँपालिका वडा कार्यसमितिमा एउटै व्यक्ति रहन सक्ने व्यवस्था पनि गरेको छ। वडा अधिवेशनबाट क्षेत्रीय अधिवेशनका लागि प्रतिनिधि चयन गरिने र सबै वडाबाट समान संख्यामा प्रतिनिधि चयन गर्ने व्यवस्था रहेको छ।













