दुई दशकको राजनीतिक–सामाजिक अनुभवसहित कांग्रेस केन्द्रीय सदस्यको दौडमा कविता इँटिनी
- October 6, 2026
- 342

‘पदका लागि राजनीति होइन, सेवा र नीतिनिर्माणका लागि उम्मेदवारी’

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदका लागि कविता इँटिनीले उम्मेदवारी प्रस्तुत गरेकी छन्। महिला अधिकार, सामाजिक समावेशीकरण, मानव अधिकार र स्थानीय तहको नीति निर्माणमा काम गरेको अनुभवलाई पार्टीको केन्द्रीय भूमिकामार्फत नीतिनिर्माणमा उपयोग गर्ने उनको मुख्य एजेन्डा छ।
इँटिनीले राजनीतिक पदलाई अधिकार प्राप्त गर्ने माध्यमभन्दा सामाजिक उत्तरदायित्व र सेवाको जिम्मेवारीका रूपमा लिनुपर्ने बताएकी छन्। ‘पदका लागि राजनीति होइन, सेवा र नीतिनिर्माणका लागि उम्मेदवारी’ उनको उम्मेदवारीको मूल सन्देश हो।
इँटिनीको राजनीतिक यात्रा २०५८ सालमा नेपाल विद्यार्थी संघ धादिङ जिल्ला कार्यसमितिको कोषाध्यक्षबाट सुरु भएको हो। नेविसंघको १२औँ अधिवेशनबाट जिल्ला सदस्य र १३औँ अधिवेशनबाट सहसचिव बनेकी उनी त्यसपछि नेपाल महिला संघमा निर्वाचित केन्द्रीय सदस्य भएकी छन्।
कांग्रेसको १३औँ अधिवेशनमा महासमिति सदस्य र १५औँ अधिवेशनमा महाधिवेशन प्रतिनिधिको भूमिका निर्वाह गरेकी इँटिनी २०८२ सालमा नेपाली कांग्रेस महिला विभागको सचिवसमेत बनेकी थिइन्। हाल उनी नेपाल महिला संघको केन्द्रीय सदस्यका रूपमा सक्रिय रहेको विवरणमा उल्लेख छ।
राजनीतिसँगै सामाजिक क्षेत्रमा पनि उनको लामो संलग्नता छ। सेतो गुराँस बाल विकास सेवा केन्द्र, धादिङको अध्यक्ष, हिमाल महिला उत्थान समाजको कार्यकारी निर्देशक तथा जिल्ला बालकल्याण समितिको सदस्यका रूपमा काम गरेकी उनी महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा मानव अधिकारका क्षेत्रमा विभिन्न अभियान र सञ्जालसँग जोडिएकी छन्।
लायन्स इन्टरनेसनलमा चार्टर प्रेसिडेन्ट तथा डिस्ट्रिक्ट कोर्डिनेटरको जिम्मेवारी सम्हालेकी इँटिनी वन महासंघमा जिल्लादेखि केन्द्रीय तहसम्म विभिन्न नेतृत्वदायी भूमिकामा समेत रहेकी छन्। लैंगिक हिंसा न्यूनीकरण, महिला अधिकार, सामाजिक समावेशीकरण र मानव अधिकारका क्षेत्रमा उनको सक्रियता रहेको छ।
समाजशास्त्रमा स्नातकोत्तर गरेकी इँटिनी जेन्डर तथा प्राकृतिक स्रोत व्यवस्थापनकी प्रशिक्षकसमेत हुन्। स्थानीय तहका नीति, योजना, बजेट तथा आवधिक योजना तर्जुमामा स्रोत व्यक्तिका रूपमा काम गरेको अनुभवलाई अब पार्टीको नीति निर्माणसँग जोड्ने उनको भनाइ छ। ‘पद केवल अधिकार होइन, सामाजिक उत्तरदायित्व हो’ भन्ने मान्यतासहित उनले आफ्नो राजनीतिक र सामाजिक अनुभवलाई संगठन, सेवा र नीतिनिर्माणमा केन्द्रित गर्ने बताएकी छन्।




