2Shares

पोखरा, २९ असोज। महिला सशक्तिकरण नेपालको २४औँ वार्षिक साधारण सभा, सामाजिक परीक्षण तथा १०औँ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले निकी कार्कीको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। महिला सशक्तिकरण, नेतृत्व विकास र पर्यटन क्षेत्रमा महिलाको सहभागिता अभिवृद्धि गर्ने उद्देश्यसहित स्थापित संस्थाले आफ्नो वार्षिक समीक्षा तथा भावी कार्ययोजनामाथि छलफल गर्दै नयाँ नेतृत्व चयन गरेको हो।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा अनिता भट्टराई, सचिवमा मनु हिराचन र कोषाध्यक्षमा ज्ञानु थापा चयन भएका छन्। त्यसैगरी, सदस्यहरूमा लिला पुन, इशा पाठक, मिना रानाभाट, दीपजया कार्की र प्रतिज्ञा गौतम चयन भएका छन्। संस्थाको सल्लाहकारमा संस्थापक अध्यक्ष लक्की कार्की र संस्थापक डिक्की कार्की रहेका छन् भने कानुनी सल्लाहकारमा तारा शर्मालाई चयन गरिएको छ।

पोखरा महानगरपालिका वडा नम्बर ६ का जनप्रतिनिधि पवित्रा थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गैरसरकारी संस्था महासंघ कास्कीकी अध्यक्ष इन्दिरा पौडेल, जिल्ला समन्वय समितिका सामाजिक विकास अधिकृत नवराज बराल, बंगालादी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तुलसी गौतम तथा संस्थाका कानुनी सल्लाहकार तारा शर्मालगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले महिलाको सामाजिक, आर्थिक तथा नेतृत्व विकासका लागि संस्थाले निर्वाह गर्दै आएको भूमिकाको महत्त्वमाथि प्रकाश पारेका थिए। उनीहरूले महिलालाई अवसर, सीप र आत्मविश्वास प्रदान गर्न संस्थागत प्रयाससँगै परिवार, समुदाय र राज्यको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।

प्रमुख अतिथि पवित्रा थापाले महिलाको सशक्तिकरण समाजको समग्र विकाससँग जोडिएको विषय भएको बताउँदै महिलालाई निर्णय प्रक्रियामा सहभागी गराउने र उनीहरूको क्षमता पहिचान गरी अवसर प्रदान गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिएकी थिइन । उनले महिला तथा बालिकाको सशक्तिकरण, क्षमता विकास, समान अवसर र समावेशी समाज निर्माणका क्षेत्रमा संस्थाका गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको बताईन।

गै. स . स . महासंघ कास्कीका अध्यक्ष इन्दिरा पौडेलले महिला अधिकार, समान अवसर र संस्थागत सहकार्यलाई सुदृढ बनाउँदै महिलाको नेतृत्व विकासमा निरन्तर काम गर्नुपर्ने धारणा राखेकी थिइन । जिल्ला समन्वय समितिका सामाजिक विकास अधिकृत नवराज बरालले संस्थाका कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय तह तथा सरोकारवाला निकायबीच समन्वय आवश्यक रहेको विषयमा जोड दिएका थिए।

कानुनी सल्लाहकार तारा शर्माले पोखराका ‘थ्री सिस्टर्स’ को प्रेरणादायी यात्राबाट आफू पनि प्रेरित भएको महसुस गरेको बताइन । उहाँहरूको व्यक्तित्व, साहस र योगदानमा मातृशक्तिको वास्तविक रूप झल्किन्छ। उनले भनिन् -महिला सशक्तीकरण भनेको पुरुषलाई गाली गरेर वा दोषारोपण गरेर मात्र सम्भव हुँदैन। महिलाको क्षमता, आत्मविश्वास, नेतृत्व र योगदानलाई उजागर गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउनु नै वास्तविक सशक्तीकरण हो। थ्री सिस्टर्सको प्रेरणादायी उदाहरणले महिलाहरूले आफ्नै साहस, संघर्ष र क्षमताका बलमा नयाँ बाटो निर्माण गर्न सक्छन् भन्ने सन्देश दिन्छ। महिलालाई सशक्त बनाउने बाटो विरोध मात्र होइन, प्रेरणा, अवसर, आत्मनिर्भरता र सहकार्य पनि हो उनले भनिन्।

संस्थाका अध्यक्ष निकी कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव बिनिता अधिकारी बराल र कोषाध्यक्ष सम्झना बरालले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए। सामाजिक परीक्षण सहजकर्ता हरिकला लम्सालले सामाजिक परीक्षण प्रतिवेदन प्रस्तुत गरेकी थिइन्। सभाले प्रस्तुत सबै प्रतिवेदन पारित गरेको थियो। साथै, संस्थाका कार्यसमिति पदाधिकारी तथा सदस्यहरूले संस्थाको उद्देश्य प्राप्तिका लागि पुर्‍याएको योगदानको उच्च सम्मान गर्दै उनीहरूलाई सम्मान गरिएको थियो।

संस्थापक अध्यक्ष लक्की कार्कीले संस्था स्थापना गर्नुको उद्देश्य, स्थापनाकालदेखि हालसम्म सञ्चालन गरिएका गतिविधि तथा हासिल भएका उपलब्धिबारे प्रकाश पारेकी थिइन्। अर्की संस्थापक डिक्की कार्कीले संस्थाको यात्रामा साथ दिने सदस्य, सहयोगी तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै महिला तथा बालिकाको सशक्तिकरण अभियानलाई अझ प्रभावकारी बनाउन सबै पक्षको निरन्तर सहयोग र सहकार्य आवश्यक रहेको बताएकी थिइन्।

सन् १९९९ अर्थात् वि.सं. २०५६ मा स्थापना भएको महिला सशक्तिकरण नेपाल महिलाद्वारा स्थापित तथा महिलाद्वारा सञ्चालित गैरनाफामूलक संस्थाका रूपमा परिचित छ। महिलाको क्षमता विकास, आत्मनिर्भरता, नेतृत्व अभिवृद्धि तथा आर्थिक अवसर विस्तारका क्षेत्रमा काम गर्ने उद्देश्यले स्थापित संस्थाले महिला सशक्तिकरणको अभियानलाई निरन्तरता दिँदै आएको छ।

पर्यटन क्षेत्रमा महिलाको सहभागिता बढाउने अवधारणासँग जोडिएका थ्री सिस्टर्सका तीन दिदीबहिनीको प्रयास पनि महिला सशक्तिकरणको प्रेरणादायी उदाहरणका रूपमा लिइन्छ। पर्यटन क्षेत्रमा महिलालाई तालिम, सीप र रोजगारीका अवसरसँग जोड्दै उनीहरूको आत्मविश्वास तथा आर्थिक आत्मनिर्भरता अभिवृद्धि गर्ने प्रयासले महिला सहभागिताको महत्त्वलाई उजागर गरेको छ।

 

2Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected