माछापुच्छ्रे माविका पूर्वविद्यार्थीको पुनर्मिलन, २१औँ साधारणसभा सम्पन्न

उत्कृष्ट विद्यार्थी, शिक्षक र अभिभावक सम्मानित; विद्यालयको शैक्षिक उन्नयनमा पूर्वविद्यार्थीको योगदान बढाउन जोड
अन्नपूर्ण, कास्की । कास्कीको माछापुच्छ्रे माध्यमिक विद्यालय, ढिकुरपोखरीका पूर्वविद्यार्थी मञ्चद्वारा आयोजित पुनर्मिलन, शुभकामना आदान–प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। प्रत्येक वर्ष विजया दशमीको द्वादशीका दिन आयोजना हुँदै आएको उक्त कार्यक्रमसँगै मञ्चको २१औँ साधारणसभा पनि शुक्रबार विद्यालय परिसरमा सम्पन्न भएको हो।
मञ्चका अध्यक्ष फणिन्द्र अधिकारीको अध्यक्षतामा आयोजित कार्यक्रममा संविधानसभा सदस्य एवं संविधानविद् तथा पूर्वविद्यार्थी डा. खिमलाल देवकोटा प्रमुख अतिथि र नेपाल सरकारका सचिव एवं लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव तथा पूर्वविद्यार्थी विनोदबहादुर कुँवर विशिष्ट अतिथि थिए। कार्यक्रममा विभिन्न क्षेत्रमा स्थापित पूर्वविद्यार्थी, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
साधारणसभाले अध्यक्ष फणिन्द्र अधिकारी, महासचिव हरिप्रसाद भण्डारी र कोषाध्यक्ष कमला पौडेलद्वारा प्रस्तुत प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि डा. खिमलाल देवकोटाले २१ वर्षअघि स्थापना भएको पूर्वविद्यार्थी मञ्चले विद्यालयको सुधार तथा समुदायको विकासमा महत्त्वपूर्ण भूमिका खेल्नु पर्ने बताए। उनले विभिन्न क्षेत्रमा स्थापित पूर्वविद्यार्थीहरूलाई आफ्नो अनुभव, ज्ञान र सीप नयाँ पुस्तासँग साझा गर्दै विद्यालयको शैक्षिक उन्नयनमा सक्रिय योगदान दिन आग्रह गरे।
विशिष्ट अतिथि विनोदबहादुर कुँवरले सामान्य परिवेशबाट संघर्ष गर्दै नेपाल सरकारको विशिष्ट श्रेणीसम्म पुग्न गरेको मेहनतबारे अनुभव सुनाउँदै विद्यार्थीलाई लगनशीलता, अनुशासन र निरन्तर प्रयासका साथ लक्ष्य प्राप्त गर्न प्रेरित गरे।
मञ्चका निवर्तमान अध्यक्ष विष्णुप्रसाद अधिकारी, संस्थापक अध्यक्ष डा. गिरधारी दाहाल, पूर्वअध्यक्ष यादवराज अधिकारी तथा प्रा. डा. यमनाथ तिमिल्सिनालगायतले विद्यालय सुधारमा पूर्वविद्यार्थीहरूको सहभागिता अझ बढाउनुपर्नेमा जोड दिए।
अध्यक्ष फणिन्द्र अधिकारीले पूर्वविद्यार्थीलाई संगठित गर्दै विद्यालयको शैक्षिक तथा भौतिक विकासमा प्रत्यक्ष योगदान पुर्याउने अभियानलाई प्रभावकारी बनाउनुपर्ने बताए। उनले चाडपर्वले सत्य, सत्मार्ग, सद्भाव र ऐक्यबद्धताको सन्देश दिने उल्लेख गरे।
कार्यक्रममा आधारभूत तह, एसईई तथा माध्यमिक तहमा सर्वोत्कृष्ट अंक हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। त्यस्तै, विद्यार्थीलाई शतप्रतिशत उत्तीर्ण गराउन सफल शिक्षक तथा विद्यालयको शैक्षिक गतिविधिमा उल्लेखनीय सहयोग पुर्याउने उत्कृष्ट अभिभावकलाई पनि सम्मान गरिएको थियो।
हरेक वर्ष आयोजना हुने यस कार्यक्रमले पूर्वविद्यार्थीबीच आत्मीयता बढाउनुका साथै विद्यालयप्रतिको अपनत्व र योगदानको भावना बलियो बनाउँदै आएको छ। कार्यक्रममा बडादशैँ, तिहार, छठ, नेपाल संवत् तथा ल्होसारलगायतका पर्वको शुभकामना आदान–प्रदान गरिएको थियो।
विद्यालयको तथ्याङ्कअनुसार २०३२ सालमा पहिलोपटक एसएलसी परीक्षा सञ्चालन भएदेखि हालसम्म ८ हजार ३३३ भन्दा बढी विद्यार्थी भर्ना भएका छन् भने ६ हजार २०० भन्दा बढी विद्यार्थीले एसएलसी/एसईई तहको अध्ययन गरेका छन्।
विद्यालयका १२ जना पूर्वविद्यार्थीले विभिन्न विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) हासिल गरिसकेका छन् भने एक जना पूर्वविद्यार्थी नेपाल सरकारको सचिव पदसम्म पुग्न सफल भएका छन्। यी उपलब्धिले विद्यालयको शैक्षिक योगदान र यहाँबाट उत्पादित जनशक्तिको क्षमता उजागर गरेको छ।
कार्यक्रममा मञ्चका उपाध्यक्ष रमेशराज भण्डारीले स्वागत मन्तव्य राखेका थिए भने महासचिव हरिप्रसाद भण्डारीले सञ्चालन गरेका थिए।
पूर्वविद्यार्थी मञ्चले आयोजना गर्दै आएको पुनर्मिलन तथा सम्मान कार्यक्रमले विद्यालय र पूर्वविद्यार्थीबीचको सम्बन्ध सुदृढ बनाउनुका साथै शैक्षिक गुणस्तर सुधार, प्रतिभा पहिचान र विद्यालयको समग्र विकासमा सहकार्यका नयाँ सम्भावना सिर्जना गर्ने विश्वास लिइएको बिधालयका पूर्व प्राचार्य रामचन्द्र सुवेदीले बताए ।
कार्यक्रमका अवसरमा पूर्वविद्यार्थी एवं रंगकर्मी दिवाकर भण्डारीले प्रत्येक वर्ष प्रदान गर्दै आएको शैक्षिक सामग्री पालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत १० जना विद्यार्थीलाई हस्तान्तरण गरेका थिए।













