कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य पाण्डे र केसी सम्मानित, पार्टी एकतामा जोड

पार्टीलाई एकताबद्ध बनाउँदै निर्वाचनमा केन्द्रित हुन नेताहरूको जोड
पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित लक्ष्मी पाण्डे र युवा व्यवसायी किरण केसीलाई पोखरामा सम्मानसहित बधाई ज्ञापन गरिएको छ।
पार्टी निकट संस्था स्कूल अफ डेमोक्रेसी, कास्कीले शनिबार चाडपर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा धन्यवाद ज्ञापन कार्यक्रममा नवनिर्वाचित केन्द्रीय सदस्यद्वयलाई सम्मान गरेको हो।
उनीहरूलाई स्कूल अफ डेमोक्रेसीका अध्यक्ष सुवास सिग्देल, गण्डकी प्रदेशसभा सदस्य बिन्दुकुमार थापा र नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले सम्मानसहित बधाई ज्ञापन गरे।
कार्यक्रममा बोल्दै नवनिर्वाचित केन्द्रीय सदस्य लक्ष्मी पाण्डेले पार्टीलाई एकताबद्ध, सक्रिय र गतिशील बनाउन वर्तमान नेतृत्व सक्षम रहेको बताइन्। पार्टीभित्रका असन्तुष्टि र मतभेदलाई थाती राखेर एकताबद्ध रूपमा आगामी स्थानीय तहको निर्वाचनमा केन्द्रित हुनुपर्नेमा उनले जोड दिइन्।

अर्का नवनिर्वाचित केन्द्रीय सदस्य किरण केसीले महाधिवेशनबाट पार्टीले सक्षम नेतृत्व पाएको दाबी गर्दै केन्द्रीय तहमा युवाको उल्लेख्य प्रतिनिधित्व हुनु सकारात्मक पक्ष भएको बताए। युवाको सहभागिताले पार्टीलाई थप ऊर्जाशील र समयानुकूल बनाउन सहयोग पुग्ने उनको भनाइ थियो।
नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले महाधिवेशनका क्रममा देखिएका कमजोरी र असन्तुष्टिलाई बिर्सेर पार्टीलाई एकढिक्का बनाउन सबै नेता–कार्यकर्ता लाग्नुपर्ने बताए। आन्तरिक एकता बलियो भए मात्रै पार्टीले आगामी राजनीतिक चुनौतीको सामना गर्न सक्ने उनको धारणा थियो।
गण्डकी प्रदेशसभा सदस्य एवं महाधिवेशन प्रतिनिधि बिन्दुकुमार थापाले नेपाली कांग्रेसले मात्रै देशलाई सही नेतृत्व र सुशासन दिन सक्ने दाबी गरे। लोकतान्त्रिक मूल्य–मान्यतालाई व्यवहारमा उतार्दै जनताको विश्वास जित्न पार्टी जिम्मेवार भएर अघि बढ्नुपर्ने उनले बताए।
स्कूल अफ डेमोक्रेसीका अध्यक्ष सुवास सिग्देलले लोकतान्त्रिक पद्धतिलाई संस्थागत र सुदृढ बनाउन संस्था निरन्तर क्रियाशील रहेको बताए। लोकतन्त्रका पक्षमा वकालत गर्नुका साथै युवालाई लोकतान्त्रिक अभ्यास र राजनीतिक गतिविधिमा सक्रिय बनाउने काममा संस्थाले जोड दिँदै आएको उनले उल्लेख गरे।
कार्यक्रममा सहभागीहरूले आपसी सद्भाव, पार्टी एकता, लोकतान्त्रिक मूल्य–मान्यता र राजनीतिक सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।












