
पोखरा — वैदिक सनातन धर्मको संरक्षण, आध्यात्मिक चेतनाको विस्तार तथा राष्ट्रिय धार्मिक र सांस्कृतिक एकताको सन्देश प्रवाह गर्ने उद्देश्यसहित सञ्चालन भइरहेको मेची–महाकाली राष्ट्रव्यापी श्रीमुक्तिनाथ रथयात्रा २०८३ सोमवार (आज) दिउँसो ३ बजे पोखराको विन्ध्यवासिनी मन्दिर आइपुग्ने भएको छ।
मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य श्रीजी महाराज (मुक्तिनाथ बाबा)को सत्संकल्पअनुसार आयोजना गरिएको रथयात्राले पूर्वदेखि पश्चिमसम्मका प्रमुख धार्मिक स्थल, मठमन्दिर, आश्रम तथा तीर्थधामलाई जोड्दै सनातन संस्कृतिको संरक्षण र धार्मिक पर्यटन प्रवर्द्धनको सन्देश फैलाउने लक्ष्य लिएको मुक्तिनाथ सन्त सेवा आश्रम रामघाट पोखराका कोषाध्यक्ष उर्मिला बस्नेतले जनाइन् ।
आयोजकका अनुसार रथयात्रामा सहभागी भई दर्शन, पूजा–अर्चना तथा धार्मिक कार्यक्रममा सहभागी हुन श्रद्धालु भक्तजनलाई आग्रह गरिएको छ। पोखराको विन्ध्यवासिनी मन्दिरमा रथयात्रा आइपुग्ने भएपछि स्थानीय भक्तजन तथा धर्मावलम्बीमा उत्साह थपिएको छ।
मुक्तिनाथ बाबाका उत्तराधिकारी स्वामी वासुदेव प्रपन्नाचार्यका अनुसार रथयात्राले विविधतायुक्त नेपाली समाजमा धार्मिक सद्भाव, राष्ट्रिय एकता र सहकार्यको भावनालाई सुदृढ बनाउनेछ। साथै, नेपालको प्रसिद्ध मुक्तिनाथ क्षेत्र, पवित्र कालीगण्डकी र समग्र मुक्तिक्षेत्रको धार्मिक महिमा देश–विदेशसम्म पुर्याउनसमेत योगदान पुग्ने उहाँको भनाइ छ।
उहाँले रथयात्राले धार्मिक पर्यटन प्रवर्द्धन, तीर्थस्थलबीच आपसी सम्बन्ध विस्तार, सनातन संस्कृतिको संरक्षण तथा आध्यात्मिक जागरणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
आयोजकले सार्वजनिक गरेको कार्यतालिकाअनुसार रथयात्रा कार्तिक ८ गते मुक्तिनाथबाट सुरु भई जोमसोम, गलेश्वर हुँदै बेनी–कुन्डुलेफेदी पुगेको थियो। कार्तिक ९ गते पञ्चकोट, बागलुङ बजार, मालढुंगा, कुश्मा, नौडाँडा र हेमजाको मार्ग हुँदै पोखरा नगर परिक्रमा गरी श्रीमुक्तिनाथ सनातन सेवाश्रम, रामघाटमा रात्री विश्राम गर्ने कार्यक्रम रहेको छ।
त्यसपछि कार्तिक १० गते पोखराबाट दमौली, डुम्रे, मुग्लिन, धादिङ, थानकोट, कलंकी, स्वयम्भू, बालाजु र चक्रपथ हुँदै काठमाडौं पुग्ने रथयात्रा देशका विभिन्न धार्मिक तथा सांस्कृतिक महत्त्वका स्थल हुँदै पूर्वी नेपाल, मधेस प्रदेश, लुम्बिनी र सुदूरपश्चिमका विभिन्न क्षेत्रको परिक्रमा गर्नेछ।
कार्तिक ३० गते नवलपरासीको त्रिवेणीधामस्थित श्रीगजेन्द्रमोक्ष दिव्यधाममा पुगेर रथयात्राको समापन गर्ने कार्यक्रम छ। त्यसपछि मंसिर १ गतेदेखि २९ गतेसम्म सोही स्थानमा ‘श्रीगजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञ २०८३’ सञ्चालन गर्ने तयारी गरिएको आयोजकले जनाएको छ।
रथयात्राले धार्मिक आस्था, सांस्कृतिक पहिचान र राष्ट्रिय एकताको भावनालाई सुदृढ बनाउँदै देशका विभिन्न तीर्थस्थलको महत्त्व उजागर गर्ने अपेक्षा गरिएको बस्नेतको भनाई छ।














