
पोखरा । रोयल ब्रदर्स युनाइटेडको आयोजनामा दोस्रो संस्करणको अण्डर–१६ सेभेन ए साइड खुला फुटबल प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ। माछापुच्छ्रे माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा १८ टोली सहभागी रहेका आयोजक रोयल ब्रदर्स युनाइटेडका अध्यक्ष विनम्र अधिकारीले बताए ।
प्रतियोगिताको उद्घाटन गर्दै नेपाल सरकारका सचिव तथा लुम्बिनी प्रदेशका प्रमुख सचिव विनोदबहादुर कुँवरले खेलकुदले बालबालिका तथा युवामा अनुशासन, आत्मविश्वास, नेतृत्व क्षमता र सामूहिक भावनाको विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले यस्ता प्रतियोगिताले स्थानीयस्तरमा लुकेर रहेका प्रतिभाको पहिचान गर्नुका साथै खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने उल्लेख गरे। खेलकुदको विकासका लागि विद्यालय, अभिभावक, स्थानीय समुदाय र सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।

प्रतियोगिताको पहिलो दिन आठ खेल सम्पन्न भएका छन्। उद्घाटन खेलमा सेराचौर फुटबल क्लब र अन्नपूर्ण एकेडेमी ‘ए’ बीच निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि सडन डेथमा सेराचौर विजयी भयो।
दोस्रो खेलमा हेमजा युनाइटेडले याम्दी फुटबल क्लबलाई ४–० गोलले पराजित गर्दा धारापानीले प्रगति फुटबल क्लबलाई ५–० गोलले हरायो। त्यस्तै, लिटल बेलले अन्नपूर्ण एकेडेमी ‘बी’ लाई २–० गोलले पराजित गर्यो।
यसैगरी, स्टेप बाई स्टेपले एपेक्सलाई २–१ गोलले हराउँदा ठकुरी फेमिलीले ढिकुरपोखरीलाई ५–१ गोलले पराजित गर्यो। ग्रासरुट एकेडेमीले सिर्जनालाई २–० गोलले हराउँदा दिनको अन्तिम खेलमा ब्रदर हुडले आगो फुटबललाई ३–२ गोलले पराजित गर्यो।
प्रतियोगिताको विजेताले नगद ३० हजार ३३३ रुपैयाँ र उपविजेताले १३ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक रोयल ब्रदर्स युनाइटेडका सचिव प्रज्वल जिसीले जानकारी दिए।
प्रतियोगिताका क्वार्टरफाइनल, सेमिफाइनल तथा फाइनल खेल शनिबार सञ्चालन हुने संयोजक अभिषेक अधिकारीले बताए।
यसअघि २०८१ सालमा आयोजित प्रतियोगिताको पहिलो संस्करणको उपाधि एपेक्स बराह, काँडेले जितेको अर्का संयोजक उत्तम भण्डारीले जानकारी दिए।













