
पोखरा भ्यूज ।
नेपाल टेलिकमको द्रुत गतिमा इन्टरनेट चल्ने फाइबर नेट जोड्ने प्रविधि (एफटिटिएच)मनाङ जिल्लामा पनि शुभारम्भ भएको छ | सो सेवा सुरु गरिएको मनाङ ६१ औं जिल्ला हो |
कार्यक्रमका प्रमुख अतिथि मनाङ ज़िल्लाका प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यलाई प्रादेशिक निर्देशनालय पोखराका उप-प्रबन्धक नविनमान श्रेष्ठले एफटिटिएचको सीपिई हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी आचार्यले पहिलो पटक एकै तारबाट द्रुत गतिको इन्टरनेट, फोन र टिभी चल्ने सेवा सञ्चालन गरेकोमा खुसी व्यक्त गर्दै नेपाल टेलिकमलाई धन्यबाद दिएका थिए । सो अवसरमा आचार्यले नेपाल टेलिकम वायरलाइन तथा ग्राहक सेवा निर्देशनालयका निर्देशक अनन्तमान सिंहलाई फोन गरी सेवा शुभारम्भ गरेकोमा धन्यबाद समेत दिएका थिए ।

हाल मनाङ जिल्ला अन्तर्गत चामे, कोतो, तलेखु आसपास लगायतको क्षेत्रमा एफटिटिएच प्रविधि जडान गरिएको छ |
नेपालको ७७ वटै जिल्लामा एफटिटिएच सेवा सञ्चालनमा ल्याउने तयारी गरेको नेपाल टेलिकमले यस अघि ६० जिल्लामा सेवा शुभारम्भ गरिसकेको छ ।

कार्यक्रममा नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखराका वरिष्ठ ईन्जिनियर रामचन्द्र पोखरेल र सेल्स प्रमुख बलराम अधिकारीले एफटिटिएच सेवाको बारेमा विस्तृत जानकारी दिएका थिए ।








सम्बन्धित खवर
















