
पोखरा भ्यूज
पोखरा, ९ साउन । गण्डकी प्रदेश सरकारको आयोजनामा पोखरामा वृत्ति परामर्श तथा रोजगार मेला सम्पन्न भएको छ ।
युवा जनशक्ति वैदेशिक रोजगारीमा पलायन भइरहेका कारण जनशक्ति अभावको समस्या रहेकाले वेरोजगार युवा युवतीहरुलाई विदेश पलायन हुनबाट रोकेर स्वदेशमै रोजगार सृजना गर्ने र औद्योगीक तथा व्यवसायीक क्षेत्रमा भएको जनशक्ति अभावलाई पूर्ती गर्ने उदेश्यले आयोजना गरिएको ३ दिने रोजगार मेला आईतबार सम्पन्न भएको हो ।
पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा सुक्रवार देख़ि आइतवारसम्म चलेको मेलाको प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उद्घाटन गरेका थिए ।

शिक्षा, संस्कति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयको आयोजना तथा नेपाल सरकार र स्वीस सरकारको सहयोग एवं नेपाल व्यावसायिक योग्यता प्रणाली परियोजना (NVQS-P) को प्राविधिक सहयोग र सिटिईभीटी गण्डकी प्रदेश कार्यालय, गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठान, उधोगी व्यवसायी र रोजगार दाताहरूको छाता संगठनहरूसँगको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम र पूर्व ज्ञानको मान्यतामा आधारित सिकाइबारे जानकारी प्रदान गर्न मेलाको आयोजना गरिएको शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले बताए । उनले मेलाले सीप भएर पनि जागिर नपाएर विदेशिन बाध्य नागरिकलाई स्वदेशमै राख्ने वातावरण मिलेको जानकारी दिए । मेलाको तयारी स्वरुप मन्त्रालयले यसअघि विभिन्न निकाय, स्थानीय तह र रोजगारदातासँग अन्तक्र्रिया समेत गरेको थियो ।

गण्डकी प्रदेश सरकारले नागरिकलाई स्वदेशमै रोजगारी दिने निती अनुरुप सो मेला गरिएको हो। प्रदेशभरका उद्योग, कलकारखाना र अन्य क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गर्नुका साथै कार्य क्षेत्रमा परिचालन गर्ने गरी मेला आयोजना गरिएको थियो ।
मेलामा सीपमूलक तालिमको अवसरहरुको जानकारी, वृत्ति परामर्श सम्बन्धी सेवा प्रदान, सीपको प्रमाणीकरण, विभिन्न रोजगारीका अवसरका बारेमा जानकारी तथा रोजगारीका लागि सहजीकरण गर्ने, नेपाल व्यावसायिक योग्यता प्रणालीबारे जानकारी दिने, तालिम तथा रोजगार व्यवस्थापन सूचना प्रणालीसम्बन्धी जानकारी दिने उद्देश्य राखिएको थियो ।
१ हजारभन्दा बढी बेरोजगार युवालाई रोजगारीमा जोड्नका लागि सहजिकरण गर्ने अपेच्छा गरिएको थियो । मेलाको ११ हजार बढ़ीले अवलोकन गरेको मन्त्रालयका उपसचिव तोयनाथ लम्सालले बताए । लम्सालका अनुसार मन्त्रालयले तालिम तथा रोजगार व्यवस्थापन सूचना प्रणाली मोबाइल एप निर्माण गरेकोछ । सो एपमा सीपमूलक तालिम लिन चाहने, रोजगारको खोजीमा रहेका व्यक्तिहरु, रोजगारदाता र सिप परीक्षण गर्न चाहनेहरुबारे जानकारी दिईएको थियो ।
मेलामा विभिन्न उद्योग तथा व्यवसायीक प्रतिष्ठानहरुले विभिन्न प्रकारका जनशक्ति आवश्यक रहेको भन्दै जनशक्ति उपलब्ध गराउन माग गर्दै आवेदन दिएका छन् ।
त्यस्ता विभिन्न उद्योग तथा कम्पनीहरुले कम्प्यूटर अपरेटर, ग्राफिक डिजाईनर, एडभान्स तहको सिलाई वुनाई, जुत्ता चप्पल बनाउने, लेखापाल, वेटर, कार्पेटिङ्गका विभिन्न विधा, हाउस किपिङ लगायतका विभिन्न किसिमका जनशक्ति अभाव रहेको भन्दै जनशक्ति उपलब्ध गराइदिन आवेदन दिएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्र (सिटीईभिटी) गण्डकी प्रदेशका प्रमुख प्रमोदभक्त आचार्यले जानकारी दिए ।
साच्चै नै यस मेलाले रोजागरीको खोजीमा रहेका युवा र रोजगारदातालाई जोड्न सहयोग पुगेको, विद्यार्थी भाइवहिनीहरूलाइ बृति परामर्श उपलब्ध गराइएको, अनौपचारीक सीप सिकेको सीप परीक्षण तथा प्रमाणीकरणग गर्ने विधि र प्रकृयाका वारेमा जानकारी उपलब्ध गराईएको आचार्यले बताए ।








सम्बन्धित खवर
















