0Shares

पोखरा  भ्यूज

पोखरा— जथाभावी एन्टिबायोटिक औषधिको प्रयोगले महामारीको रूप लिन सक्ने भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजना र यूएसएआईडी एमट्याप्सको सहयोगमा एन्टिमाइक्रोबियल प्रतिरोधका लागि मिडिया संवेदनशिलता विषयक कार्यशालामा एन्टिबायोटिक औषधिको प्रभावकारिता माथि विश्वस्तरमै प्रश्न उठेको बताईएको थियो ।
कार्यक्रममा यूएसएआइडी एमट्याप्स कार्यक्रमका सिनियर टेक्निकल एडभाइजर एन्टिमाइक्रोबियल रेसिस्टेन्स डाक्टर सन्तोष दुलालले सन् २०१९ मा विश्वका २ सय ४ देशबाट गरिएको तथ्यांक संकलन अनुसार एन्टिबायोटिकले काम नगरेर अर्थात एन्टिमाइक्रोबियल रेसिस्टेन्सका कारण अनुमानित १२ लाख ७० हजार नागरिकको मृत्यु भएको र ४९ लाख ५० हजार मृत्युसँग अप्रत्यक्ष सम्बन्ध रहेको बताए ।
डा. दुलालले एन्टीबायोटिकको सेवनमा हुने हेलचेक्राईले ठूलो दुर्घटना निम्त्याउने बताएका हुन् । उनले भने ‘जसरी एटमबमले एक पटक पड्कदा विश्व ध्वस्त पार्छ त्यसैगरी एन्टीबायोटिकको गलत सेवनले धेरैको जिन्दगी ध्यस्त हुने अवस्था आउँछ, ।’
विश्वकै जनस्वास्थ्यमा समस्या भएकाले नेपाल पनि यसबाट अछूतो नभएको डा दुलालको भनाई थियो । उनका अनुसार प्रमाणमा आधारित एन्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर) बारे तथ्यांकको व्यवस्थित अध्ययन हुन जरुरी रहेको, बहुपक्षीय र बहुक्षेत्रीय संलग्नतामा सहकार्यसहित काम गर्न जरुरी छ ।
एन्टिबायोटिकको प्रयोग गर्दा चिकित्सकको सिफारिसमा मात्र खानुपर्ने, आफूखुसी किनेर खान नहुने, आफूले प्रयोग गरेर निको भएपछि त्यही औषधी अरुलाई बाँड्न नहुने उनको भनाई थियो । एन्टिबायोटिक खाइरहेको अवस्थामा त्यसको पूरा डोज (मात्रा) खानुपर्ने डा. दुलालको भनाई थियो ।
कार्यशालामा यसबारे विज्ञले एएमआरविरुद्ध लड्न आवश्यक नीति नियम र दिशानिर्देशको खाँचो रहेको आवाज उठेको थियो । मानव, जनावर र बोटबिरुवाहरुमा एन्टिमाइक्रोबियलको अनुचित प्रयोग, एन्टिबायोटिक खाँदा पर्ने स्वास्थ्यका असरहरुबारे जनचेतनाको कमी, एएमआरसम्बन्धी आवश्यक नियम कानुनको अभाव एवं भएका नियम कानुनको समेत उचित कार्यान्वयन हुन नसक्नु यसको मुख्य चुनौती भएको औंल्याइएको छ ।
एएमआर संक्रमणको निगरानी व्यवस्थामा सुधार गर्ने, नीति, कार्यक्रमको सुधार गरी संक्रमणको रोकथाम र नियन्त्रण कार्यान्वयनलाई बलियो बनाउने, औषधीको उत्पादन, उचित प्रयोग गर्नुपर्ने गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव डा. विनोदबिन्दु शर्माले बताए ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक खिमबहादुर खड्काले जथाभावी एन्टिबायोटिक प्रयोग हानीकारक हुने बताए । एएमआरबारे सचेतना आवश्यक रहेको खड्काको भनाइ थियो ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected