15Shares

पोखरा । एकातिर कृषिबाट आम्दानी नहुनु अनि अर्का तीर युवाशक्ति विदेशिएर गाउँघर शून्यता छाउनु र त्यसमाथि बाँदरले आतंक मच्चाएर बालीनाली सखाप पार्नु जस्ता चोटहरू भोगेका छन् जनप्रतिनिधि सुदिप राज ढुंगाना । “यहाँ त न सरकारको नजर पर्यो न नगरपालिकाले नै कुनै कदम चाल्यो । वडाको स्रोत र साधनले समस्या हल गर्न नसक्ने भयो । अहिले बिस्तारै-बिस्तारै गाउँ नै पूरै रित्तिँदै छ,” । बन्यजन्तु मार्न नहुने सरकारी नीति र मार्नु मात्र एकमात्र विकल्प देखिइरहेको अवस्थामा जनता र बन्यजन्तुबीच पारस्परिक समबन्ध कसरी निर्माण गर्न सकिन्छ भन्ने विषयमा विकल्पहरू खोजिरहेको ढुंगानाले बताउँछन् ।

यसै सन्दर्भमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई महानगरको २६ वडाका सदस्य सुदिप राज ढुंगानाले खुलापत्र लेखेका छन् । पछिल्लो समय पोखरामा बाँदर आतंक र यसले पारेको असरबारे गहिरो बहस भइरहेका बेला वडा सदस्य ढुंगानाले मेयरलाई खुलापत्र लेखेका हुन् । उनले लेखेको खुलापत्र जस्ताको तस्तै ।

मेयर साहेब
नमस्कार
हामी निर्वाचित भएर आए पछिको ११औ नगर सभा देखि हरेक नगर सभामा अधिकांश सभासदहरुले बाँदर आतङ्क र यसले पारेको असरको बारेमा आवाज बुलन्द पारेका थियौ। तर आजको दिनसम्म यहाँको जुन पहल कदमी हुनु पर्थ्यो, कति भयो भन्ने तपाइलाइ नै थाहा होला । अचानाको पिर खुकुरीलाई थाहा नहुने रहेछ । म नगर सभासदमात्र नभई कृषक भएर पनि आफैले देखे भोगेको तितो सत्य बोली रहेको छु जुन अधिकांश महानगरभित्रको ग्रामीण महानगर बस्तीको पीडा रहेको छ।

तपाईँलाई थाहा नै छ, हाम्रै वडा लयगतका महानगरका विभिन्न वडामा बेसी र समथर भूभागहरू छन् । जहाँ १२ मासे सिँचाइको व्यवस्था छ अनि जेठो बुडो देखि सबै खाले बालीहरू तरकारी र फलफूल ३ सिजन फल्ने गर्दछ।

जहाँ बाँदरको आतङ्कको पहुँच पुग्दैन, त्यस्तो ठाउँलाई आवास क्षेत्र घोषणा गर्नु भयो । त्यसको उल्टो पहाडी इलाका जहाँ आकाशे पानी परेपछि र मूल उम्रेपछि मात्र खेतीपाती गर्न सकिन्छ, उल्टै खाने पानी त मुस्किल छ, लगाएको बाली नाली माथि बाँदर आतङ्क छ, त्यस्तो ठाउँलाई खेतीयोग्य जमिन बनाइदिनु भएको छ।

मेयर साहेव

हजुर पनि भरत पोखरी कै डाँडामा जन्मी, हुर्की, पढी आज यो ठाउँमा आइपुग्नु भएको छ ।  हुन त तपाईँको अहिलेको अधिकतम बसाइ नयाँ बजारमा भएर पनि होला, हालको गाउँको बाँदर आतङ्क पूर्ण रूपमा थाहा नहुन सक्छ तर म हिजो कन्धनी डाँडामा जन्मी, हुर्की, पढी यहाँसम्म आइपुग्दा हिजो जहाँ हुर्के बढे र पढे, आज पनि त्यही बस्छु जसका कारण आज मैले बाँदर आतङ्क देखेको र भोगेको छु । बारीमा म एक्लै बाँदर धपाउन जाँदा एक पटक बाँदरले म माथि आक्रमण गरी नग्रा गाडेको अझै डोब छ ।

तपाईँलाई थाहा होला बाँदरको नग्रा मात्र गाड्यो भने कति घातक हुन्छ भनेर । एउटा बच्चा स्कुल गएर आउँदा बाँदरको आक्रमण भयो र त्यसलाई तलमाथि केही भयो भने त्यसको जिम्मा कसले लिन्छ । र, आज बाबु नानी र अभिभावकलाई समेत स्कुल जाँदा देखि फर्कँदा सम्म मनोत्रास छ ।

पहिला पहिला बच्चाहरूलाई कोर्कोमा सुताएर आमाले खेत बारीमा काम गर्ने चलन थियो । तपाईँ हामी पनि सानोमा स्कुल जाँदा बाँदर बाटोमा भेटिन्थे तर पहिला त्यस्तो थिएन । अहिले काम त के, कति खेर आएर आक्रमण गर्छ भन्ने डर । झन् महिला र केटाकेटीलाई त पटक्कै नटेर्ने । आज तपाईँ र मेरो डाँडा मात्र हैन महानगर भित्रका दुर्गम महानगर बस्तीहरू बेगनास, माझठाना, कालिका, आर्बा, मौजा, भलाम, अर्मला, हर्पाक, घार्मी, पुरन्चौर, चुरुङा, उपल्लोहेम्जा, सराङकोट, कास्किकोट, चापाकोट, हर्पन, पुम्दीभुम्दी, मट्टिइखान, निर्मल पोखरी सहितका हरेक ठाउँहरू विकास निर्माण लगायतका अत्यावश्यक सुविधा त छदै छ, झन बाँदर आतङ्कले गाउँको अवस्था विकराल छ ।

आज हामी महानगरवासीहरू धेरै खाद्य सामाग्री आयात माथि भर पर्नुको कारण के युवा विदेश पलायन गराउने बाटो हामिले नै गरेका छैनौ ?  गाउँ घरमा खेती पाती गर्‍यो मकै छरे देखिनै बाँदरले बीउ खोतल्न थाल्छ मकै पाकिन्जेल सम्म सबै सखाप, दिन भर कुरेर बस्यो, कुन बेला झुक्क्याएर बाँदरले सखाप पार्छ ।

धान बीउ छरे देखि काट्ने बेला सम्म उहीँ हालत, कोदो ,गहुँ, तोरी लगायत सबै बालीको अवस्था त्यस्तै छ । कि खाने, नखाए बिगारेर भत्काएर छोड्ने। तरकारीको कुरै नगरौँ, आलु, प्याज, केराउ, काउली बन्दा, काँक्रो, लौका, सिमी, घिरौँलाको अवस्था त्यस्तै ।

सार्ने बेला देखि बचिला लाउने बेला सम्म झुक्क्याएर सखाप पार्ने । मैले घरमा उत्पादन गरेको लसुन प्याजले वर्ष दिन भरी खान पुग्थ्यो, तर अहिले प्याजको बेर्ना सार्न नपाइ सखाप हुन्छ जसले गर्दा भारतबाट आयातित प्रति किलो १६० रुपैयाँ सम्म तिरेर खानु परेको छ ।

कृषि क्रान्तिको भजन गाउँदै गर्दा यो कृषकको समय मल, बीउ बिजन लगायत हल खेतालाको पारिश्रमिकको जिम्मा कसले लिने र ति कृषकहरूलाई क्षतिपूर्ति र बिमा रकमको व्यवस्था गरेका छौ त ? बारीमा लगाएको खेती नष्ट गरेर नपुगेर भान्छाको खानाको कसौँडी सम्म नछाड्ने यी बॉदरहरु गॉउको बस्तीका लागि क्यान्सर कै रूपमा रहेको अधिकांश जनताहरूको भनाइ छ ।

मेयर साहेब

तपाईँलाई अबगतनै छ, अहिले ग्रामीण भेगबाट बेसी र समथर भूभागमा बसाइ सराइ अत्यधिक बढिरहेको छ । गाउँको जग्गा बाझो राखेर बस्ने अनि २ ओटा खुर्सानी र तरकारीका बोट छतमा उमारेर सामाजिक सञ्जालमा पोस्ट गरेर मक्ख पर्ने र कृषि क्रान्तिको नारा रट्ने हाम्रो गाउँ र समाज कता गइरहेको छ ?

तितो सत्य हामीले अलि बिर्सियेउ कि! हो, जनावरको पनि आफ्नो अधिकार हुन्छ, त्यसलाई पनि मध्य नजर गर्दै वैकल्पिक व्यवस्थापन गर्नुपर्दछ तर हामी मानबहरुले नै आधिकारको नाममा दैनिक मानव जीबनमानै उथल पुल गर्ने, कृषि पेशाबाटनै पलायन हुनुपर्ने, गाउँ घर नै छोडेर हिँड्नु पर्ने बाध्यात्मक अवस्थालाई रोक्ने तपाई हाम्रो दायित्व हैन ?

नेपालकै ठुलो महानगरका बासिन्दा हामी ठुलो बाँदर आतङ्कमा छौ भन्दै गर्दा र तपाइले रुख कटान सम्बन्धी गरिएको सम्प्रेषणमा तत्काल वैकल्पिक व्यवस्था गरिएन भने भविष्यमा हामीले घोषणा गर्दै गरेको पर्यटकीय राजधानीमा गाउँ घरमा उत्पादन भयेको अर्ग्यानिक तरकारी, फलफूल र खानेकुरा भन्दै विदेशबाट आयातित गरेको खानेकुरा खुवाउने दिन छिट्टै आउनेछ ।

बाँदर आतङ्कबाट बच्नको लागि तत्काल सुनुवाइ होस भनी जोडदार माग गर्दछु । प्रमाणको रूपमा मेरै घरको माथि खिचिएको फोटो र भिडियो पेस समेत गरेको छु।

धन्यवाद

जय पोखरा
तपाईँकै नगर सभा सदस्य
सुदिप राज ढुङ्गाना
वडा सदस्य
पोखरा महानगरपालिका २६

15Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected