1Shares

पोखरा । गैरकानूनी रुपमा अन्तर्राष्ट्रिय कल बाईपास गरेको आरोपमा कास्की प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । शुक्रबार पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार पोखरा-११, फूलबारीबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

नेपाल सरकारको कुनैपनि निकायबाट अनुमति नलिई गैरकानूनी रुपमा अन्तर्राष्ट्रिय आगमन कल वाइपास संचालन गरिरहेको छ भन्ने गोप्य सुचनाको आधारमा केन्द्रिय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय कास्कीको संयुक्त प्रहरी टोलीले उनीहरूलाई विभिन्न उपकरण सहित पक्राउ गर्न सफल भएको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाले बताए ।

प्रकाउ पर्नेमा लुम्विनी साँस्कृतिक नगरपालिका वडा नं.४ रुपन्देही स्थायी वतन भई हाल पोखरा ११ फुलवारी बस्ने वर्ष २७ को ईमरान अहमद र सखुवा पर्सौनी गाउँपालिका वडा नं. ५ पर्सा स्थायी घर भई पोखरा ११ फुलवारी बस्ने वर्ष ३७ को बिशाल साह कलवार रहेका छन् । उनीहरूबाट १ सय २८ पोर्ट क्षमताको डिभाइसमा सिमकार्ड प्रयोग गरी कल वाइपास गरिरहेको अवस्थामा अवैध भिओआइपीमा प्रयोग गरिएका विभिन्न उपकरणहरू सहित प्रहरीले प्रकाउ गरेको हो ।

उनीहरुबाट ६४ पोर्ट भएको अवैध कल बाईपास गर्ने उपकरण गेटवे थान २, सो उपरकरणमा जडान भएको सिमहरु थान १ सय २८ र सोको चार्जर थान २, वल्ड लिकंको राउटर थान १, यूपिएस थान १, एक्टेन्सन कर्ड थान १, फाइबर वायर थान २, पेन ड्राइभ थान १, एप्पल कम्पनीको मोबाइल थान १, भिभो कम्पनीको मोबाइल १ थान, परिचयपत्र थान ३, चेक बुक थान २ र एनसेलको सिम थान ५ सय ९७ बरामद भएको एसपी थापाले पत्रकार सम्मेलनमा खुलाए ।

पक्राउ परेका दुवैजनाले पोखराको पन्थी गल्लीमा कपडा पसल सञ्चालन गर्दै आएको समेत प्रमुख थापाको भनाइ छ । उनीहरुलाई दुरसञ्चार ऐन २०५३ को दफा ४७  अनुसारको मागदावी सहित मुद्दा चलाइने उनले बताए । ‘दुरसञ्चार ऐन २०५३ को दफा ४७ अनुसार अन्तर्राष्ट्रिय कल वाइपास गरेमा ५ वर्षसम्म कैद वा विगो बमोजिम जरिवाना वा दुवै सजाय भन्ने व्यवस्था छ’ उनले भने ।  जिल्ला प्रहरी कार्यालय कास्कीले कास्की जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान गरे पश्चात सरकारी वकिल कार्यालय कास्की मार्फत कास्की जिल्ला अदालतमा मुद्दा दर्ता गरेर कारवाही अगाडी बढाउनेछ ।

यसका अलावा थप कारवाहीको लागि विगोको हकमा नेपाल दुरसञ्चार प्राधिकरणमा पनि पठाउने कानूनी व्यवस्था रहेकोले दूईवटा निकायबाट अनुसन्धान र कारबाही अगाडी बढ्ने उनले प्रष्ट पारे । अहिलेसम्म प्रारम्भिक अनुसन्धानबाट उनीहरुले फेब्रुअरी १ तारिखदेखि यो काम सुरु गरेको देखिएको प्रहरीको भनाइ छ । यो कार्यमा श्रीलंकाका नागरिकको समेत सम्लग्नता रहेको बुझिएको र अन्य कुरा थप अनुसन्धानबाट खुल्ने एसपी थापाको भनाइ छ ।

केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी निरिक्षक प्रदीप खत्रीले हालसम्म यस्ता १ सय २० वटा घटनामा अनुसन्धान गरेको बताए । अनुमति नलिई गैरकानूनी रुपमा विदेशबाट आउने कल वाइपास गर्ने काम अवैध भएको भन्दै यसले कर छली गर्ने र दुर सञ्चार क्षेत्रको आम्दानीमा समेत असर पार्ने खुलाए । ‘दुरसञ्चार कम्पनीलाई प्रत्यक्ष घाटा हुने नै भयो, आम सर्वसाधरणलाई पनि असर गर्छ, यो डिभाइस राखेको ठाउँमा कल विजी र सिग्नल राम्रोसँग नआउने समस्या पर्छ’ उनले भने । यस्तो क्रियाकलपाले दुरसञ्चार क्षेत्रलाई धरासायी बनाउने भएकोले नियन्त्रणका लागि केन्द्रीय अनुसन्धान ब्यूरोले अप्रेसन सुरु गरेको उनले खुलाए ।

1Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected