0Shares

अनुपा अधिकारी :
बिगत लामो समयदेखि पोखरालाई पर्यटनको राजधानी घोषणा गर्नुपर्छ भन्ने बहसहरु हुँदै आएका थिए । पोखरालाई तीन तहका सरकारले पनि पर्यटकीय सहर मानेकै हुन् । विभिन्न तथ्याङ्कले पनि नेपाल आउनेमध्ये करिब ४० प्रतिशत पर्यटक पोखरा आएको देखाउँछन् । प्रायः आन्तरिक पर्यटककै रोजाइमा पनि पोखरा पर्छ । पोखराको थप प्रवर्द्धन गर्न र पर्यटनकै माध्यमबाट यो क्षेत्रको विकास गर्ने उद्देश्यले गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले गत चैत ४ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा एक भव्य कार्यक्रमको आयोजना गरी पोखरालाई औपचारिक रूपमा पर्यटनको राजधानी शहर घोषणा गरी सकेको छ ।
यसो त, जुन सुकै तहका जनप्रतिनिधिहरुले पनि पोखराको सन्दर्भमा पर्यटनलाई नै मुख्य एजेन्डा बनाउँदै राजधानी घोषणा गर्ने प्रतिबद्धतासमेत जनाउँदै आएका पनि हुन् । पर्यटन व्यवसायी तथा निजी क्षेत्रबाट पनि यसका लागि निरन्तर दबाबसमेत दिने काम भइरहेको थियो ।
अन्तत पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारले पोखरालाई देशकै पर्यटनको राजधानी शहर घोषणा गÞर्यो ।
पर्यटनको राजधानी घोषणासँगै लेकसाइडसहित सहरका मुख्य क्षेत्र चौबिसै घण्टा खोल्न पाइने भएको छ  । पोखराको पर्यटकीय क्षेत्र लेकसाइडका सिमित होटल, बारले चौबिसै घण्टा खोल्ने अनुमति पाए पनि अरू बजार भने राति १० बजेपछि बन्द हुने गरेका थिए । घोषणा पश्चात व्यापार, व्यवसाय खुला राख्न मिल्ने क्षेत्रका व्यवसायी र व्यावसायिक फर्मले ४३ बुँदे मापदण्ड पूरा गरी रातभर व्यवसाय खोल्न पाँएका छन् । प्रशासनको यो निर्णयबाट पर्यटन व्यवसायी उत्साहित छन् । एकातिर पर्यटकीय राजधानी घोषणा, अर्कातिर पर्यटकीय क्षेत्र चौबिसै घण्टा खोल्ने निर्णयले पर्यटन व्यवसायमा उत्साहको सञ्चार भएको पर्यटन व्यवसायीहरु बताउँछन् ।
घोषणा सकारात्मक काम भए पनि पूर्वतयारी नभएकोमा चिन्ता पनि उत्तिकै छ । पूर्वाधार निर्माणमा ध्यान दिइएन, सडकको पहुँच राम्रो छैन, अन्तर्राष्ट्रिय उडान छैन र पर्यटकको यकिन तथ्याङ्कसम्म नभएको अवस्था चुनौतीपूर्ण रहेको स्वयं व्यवसायीहरु बताउँछन  ।
पर्यटनको राजधानी घोषित पोखराका सबै जसो ताल मानवीय र प्राकृतिक अतिक्रमणको चपेटामा छन् । यहाँका धेरै जसो पर्यटकीय सम्पदाबाट सरकारले आम्दानी गर्न सकेको छैन । पर्यटकीय सम्पदाको स्वामित्व पनि स्थानीय सरकारसँग छैन । सम्पदाको संरक्षणसँगै ती सम्पदाको प्रवर्धन बिना समृद्धि पनि सम्भव छैन ।
यी र यस्ता समस्या तर्फ सङ्केत गर्दै पर्यटन राजधानी घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पर्यटनको राजधानी बनेको पोखरालाई साँच्चिकै राजधानी बनाउने दायित्व सबै तहका सरकारसहित स्थानीय बासिन्दाको भएको बताए । पोखरालाई औपचारिक रूपमा पर्यटनको राजधानी घोषणा गरेपछि उनले फेवाका समस्या चाँडै सुल्झाइने वाचा पनि गरे । सर्वोच्चको फैसला र जनताको भावना दुवैलाई सम्बोधन गरी फेवातालका समस्या सुल्झाइने छ , अब पोखरालाई विश्वकै विशिष्ट पर्यटकीय गन्तव्य बनाउन नेपालसहित विश्वभर रहेका नेपालीले भूमिका निर्वाह गर्नु पर्ने प्रधानमन्त्रीको भनाई थियो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि भूमिका निर्वाह गरेको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले नियमित अन्तर्राष्ट्रिय उडान थाल्न र विमानस्थलको ऋणलाई अनुदानमा बदल्न पहल लिने वाचासमेत गरेका थिए । विश्वमा प्रचलित मान्यताबमोजिम पर्यटनको राजधानी बनेको पोखरामा पहुँच विस्तार, लगानी वृद्धि, पूर्वाधार निर्माण गर्दै स्थानीयको जीवनस्तर सुधार्न लाग्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिएका थिए । भौतिक विकास र मानवीय विकासलाई सँगसँगै लैजाने गरी नीति, निर्माण र कार्यान्वयन गर्न प्रदेश सरकार र गण्डकीका स्थानीय तहलाई उनको सुझाव छ । सङ्घ सरकारले समेत यसमा सघाउने प्रतिबद्धता पनि गरेका थिए ।
पोखरा पर्यटनको राजधानी बनेपछि त्यसलाई कार्यान्वयन गर्ने गरी प्रदेश सरकार अगाडि बढ्ने र स्थानीय तहहरूले पनि त्यसलाई सघाउने गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनाएका थिए  । उनले प्रदेशले बनाउँदै गरेको दोस्रो पञ्चवर्षीय योजना र सङ्घको १६ औँ पञ्चवर्षीय योजनामा यसलाई लागु गर्ने खालका कार्यक्रम राख्नुपर्नेमा जोड दिएका थिए ।
गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले यो घोषणा अनुरूप देश र विदेशमा प्रवर्धनसँगै थप पूर्वाधार निर्माणमा जोड दिएका थिए । पोखरा महानगरका प्रमुख धनराज आचार्यले पर्यटनको राजधानी घोषणाले सबै पोखरेली र गण्डकीवासीमा सकारात्मक ऊर्जा सञ्चार भएको बताए  । उनले अब सिर्जना हुने चुनौती र अवसर दुवै निर्क्यौल गरिएको जनाउँदै निर्णय कार्यान्वयका लागि सबै तहका सरकार, पर्यटन व्यवसायी र नागरिक समाज, राजनीतिक दललगायतको साथको अपेक्षा पनि गरेका थिए ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected