पोखरा । २६ औं संस्करणको तीज महोत्सव भदौं १९ देख़ि सुरू हुने भएको छ । तीजको अवसरमा पोखराको लामाचौरमा तीज महोत्सव-२०८१ हुने भएको हो ।
नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा २८औं बार्षिकोत्सव एवं २६ औं संस्करणको ‘लामाचौर तीज महोत्सव–२०८१ भदौ १९ देखि २१ गतेसम्म हुन लागेको मंगलवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
इन्द्रराज्यलक्ष्मी माविको प्रांगणमा तीन दिनसम्म चल्ने महोत्सवको उद्देश्य संस्कृतिको जगेर्ना एवं खेलकुदको विकास गर्ने रहेको छ । ‘मौलिक संस्कृतिको जगेर्ना गरौं’ भन्ने नाराका साथ आयोजित महोत्सवको मुख्य आकर्षण राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता ‘लामाचौर कप’ रहेको पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष स्वागत सिंह भण्डारीले जानकारी दिए । उनका अनुसार महिला र पुरुषतर्फ नेपालका ३ विभागीय टिमसहित ५/५ टिमले भाग लिने छन् । महिला राष्ट्रिय भलिबलतर्फ विभागीय सशस्त्र प्रहरी बल एपिएफ क्लब, नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, न्यु डायमन्ड युथ स्पोर्टस् क्लब र न्यु एभरेस्ट भलिबल क्लब बुटवल सहभागी हुनेछन् ।
पुरुषतर्फ विभागीय सशस्त्र प्रहरी बल एफिएफ, नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, गण्डकी प्रदेश भलिबल टिम र मणिमुकुन्द भलिबल क्लब बुटवलबीच प्रतिस्पर्धा हुने संस्थाका प्रथम उपाध्यक्ष तथा सूचना एवं सञ्चार उपसमिति संयोजक दिनेश भण्डारीले बताए । भण्डारीका अनुसार दुबै विधाका विजेताले १ लाख ५० हजार १११, उपविजेतालाई १ लाख १११, तेस्रोलाई ५० हजार १११ नगद पुरस्कार साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । सर्वोत्कृष्ट खेलाडी एवं विधागत पुरस्कार पनि व्यवस्था गरिएको छ । टिमको यातायात, आवास र खाना खर्च आयोजकले व्यवस्थापन गर्नेछ । भलिबल भने महोत्सव उद्घाटनको अघिल्ल्लो दिन भदौ १८ देखि नै सुरु हुनेछ ।
महोत्सवकै अवसरमा अन्तर विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता, अन्तरमहिला समूहगत खुला तीज गीत प्रतियोगिता पनि रहेको छ । महोत्सवमा ख्यातिप्राप्त राष्ट्रिय कलाकार सम्झना भण्डारी, अस्मिता डल्लाकोटी, दुर्गेश थापा, दीपक खड्का, वसन्त विश्वकर्मा, सरस्वती लामिछाने, प्रकाश पराजुली लगायतको विशेष प्रस्तुति रहनेछ ।
महोत्सवमा औद्योगिक तथा व्यापार प्रदर्शनीका स्टलहरु रहने छन् । आयोजकले शिक्षा, साहित्य, खेलकुद, युवा उद्यमशीलता विकासका क्षेत्रमा योगदान दिनेलाई यस वर्ष सम्मान गर्नेछ । छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिइएको अध्यक्ष भण्डारीले बताए ।
महोत्सव सम्पन्न गर्न ५४ लाख ८८ हजार खर्च लाग्ने अनुमान आयोजकको छ । महोत्सवबाट बचत रकम आकस्मिक सेवा तथा तीज महोत्सव संचालन कोष वृद्धिका लागि थप गरिने अर्थ संकलन उपसमिति संयोजक बुद्धिबहादुर खत्री क्षत्रीले बताए । संस्थाले सर्वसाधारणको सेवामा लामो समयदेखि एम्बुलेन्स तथा शववाहन संचालन गर्दै आएको छ । पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना र वडा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले लामाचौर महोत्सवकै कारण यस क्षेत्रको चिनारी अन्तर्राष्ट्रियस्तरमा पुगेको भन्दै वडाले पनि अपनत्व लिएको बताए ।
महोत्सवमा प्रवेश निशुल्क भएपनि भलिबल हेर्न भने टिकटको व्यवस्था गरिएको छ । भलिबल हेर्न ४ हजार सिट क्षमताको अस्थायी प्यारापिट निर्माण गरिएको सचिव हरिबहादुर थापाले बताए । महोत्सवको मुख्य सहयोगी इन्द्रराज्यलक्ष्मी मावि र बानियाँ किराना स्टोर्स लामाचौर छन् । महोत्सवका लागि अध्यक्ष स्वागत सिंह भण्डारीको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ । १६ वटा उपसमिति छन् ।
संचारमा दिनेश भण्डारी, खेलकुदमा शंकर केसी, अर्थ संकलनमा बुद्धिबहादुर खत्री क्षत्री, महिला परिचालनमा गीता थापा, तीज महोत्सव संरक्षण कोषमा नवीन भण्डारी, स्वागत सत्कार एवं सांस्कृतिकमा खुसीमान गुरुङ, समन्वय विशेष तथा महोत्सव अनुगमनमा मिलन केसी रहेका छन् ।
त्यस्तै, कार्यालय तथा बजार व्यवस्थापनमा मोहन केसी, मञ्च व्यवस्थापनमा प्रेमबहादुर गुरुङ, ज्येष्ठ नागरिक दिवा सेवा तथा हेरचाह केन्द्र, खाजा एवं भान्सामा चन्द्रबहादुर गुरुङ, आकस्मिक तथा सरसफाइमा थिरबहादुर थापा, परियोजनामा गुप्तबहादुर केसी, शिक्षा तथा श्रष्टा सम्मानमा कृष्ण गुरुङ, युवा परिचालनमा सचिन केसी, टिकटमा कमलबहादुर थापा, ब्यानरमा राजकुमार पौडेल संयोजक रहेका छन् ।