28Shares

अर्थतन्त्रमा सुधार आएको अर्थमन्त्रीको दाबी

स्थिति अझै सहज छैन : पोउवा संघ अध्यक्ष कार्की

पोखरा, ३ फागुन । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको अर्थतन्त्रमा क्रमशः सुधार हुँदै गएको बताएका छन् ।

गण्डकी प्रादेशिक कार्यालय भवनको शनिबार पोखरामा उद्घाटन गर्दै उनले वर्तमान सरकार गठन हुँदा अर्थतन्त्रमा देखिएको समस्याहरू हाल क्रमशः सुधार भएका बताएका हुन् ।

देशको अर्थतन्त्रमा सुधार भएको आर्थिक सूचकले पनि देखाइरहेको बताउँदै अर्थमन्त्री पौडेलले वर्तमान सरकार इच्छाशक्ति भएको र समस्याको समाधान गर्न सक्षम रहेको दाबी गरे ।

देशको बिग्रँदो आर्थिक अवस्थालगायत विद्यमान समस्या समाधान गर्नेगरी दुई प्रमुख दल सम्मिलित वर्तमान सरकार बनेको उनको दाबी थियो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सरकारले निर्माण गरेको उल्लेख गर्दै उनले यसको सञ्चालन गराउनेतर्फ पनि सरकार लागिरहेको बताए । पोखरा र भैरहवा विमानस्थल सञ्चालनका सम्बन्धमा प्रधानमन्त्री स्वयंले पटकपटक बैठक तथा छलफल गरिहेको उल्लेख गर्दै उनले यसको सञ्चालनमा सरकार गम्भीर रहेको बताए । सरकारी बैंकले सर्वसाधारणलाई आकर्षित गर्नुपर्नेमा उनले जोड थियो ।

कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले कर्जा प्रक्रियामा सरलीकरण तथा न्यून ब्याजदर निजी क्षेत्रको चाहना भएको बताए । सरकारी बैंक भएको नाताले अन्य बैंकको तुलनामा राष्ट्रिय वाणिज्य बैंकसँग सुलभ कर्जा दिने दायित्व रहेको बताउँदै उनले आउँदा दिनमा बैंक अझ उद्योगी/व्यवसायी मैत्री बनोस् पोखरा उद्योग बाणिज्य संघ बैंकिङ्ग साक्षरता डिजिटल लिटरेसी मा सहकार्य गरोस् भन्ने चाहना व्यक्त गरे ।

उनले बैंकले पोखरा उद्योग वाणिज्य संघले आयोजना गर्दै आइरहेको राष्ट्रिय औद्योगिक व्यापार मेलामा निरन्तर सहकार्य गर्दै आइरहेको स्मरण गर्दै धन्यवाद पनि ज्ञापन गरे ।

उनले देशमा दुई ठूला दल मिलेर सकार बनेपछि अध्यादेशमार्फत् उद्योगी/व्यवसायीहरुको हितमा केही नीतिगत व्यवस्था गर्ने जमर्को गरिए पनि अध्यादेश पारित गर्न दलीय सहमति जुटाउनुपर्नेमा पनि जोड दिए ।

‘नेपाल राष्ट्र बैंकले जारी गरेको पछिल्लो वित्तीय प्रतिवेदनले केही सकारात्मक सन्देशहरु प्रवाहित गरेका छन् । वैदेशिक मुद्राको संचिति बढेको छ । रेमिट्यान्समा र बैंकबाट जाने कर्जा पनि उकालो लागेको देखिएको छ,’उनले भने,‘ तर, सोचेजस्तो अझै भएको छैन र यति मै हामी सन्तुष्ट भएर आर्थिक चलायमान पुर्ण रूपमा चल्ने अवस्था रहँदैन । खासगरी राज्यको पूँजीगत खर्चमा बढोत्तरी नहुँदा,लगानीको लागि अझै उत्साहपूर्ण वातावरण नबनेको हामीलाई महशुस भइरहेको छ ।’

ठूला परियोजनाहरुले गति नलिँदासम्म,सरकारको भुक्तानी प्रणाली सन्तुलित नबन्दासम्म र कुल ग्राहस्थ उत्पादन एवं रोजगारीमा निश्चित योगदान दिने ठूला, मझौला र साना उद्योगहरु नखुल्दासम्म अर्थतन्त्र बलियो नहुने पनि उनको भनाइ थियो । उनले पाँच औद्योगिक क्षेत्रभित्र रहेका उद्योगहरुको अत्यधिक भाडा वृद्धिप्रति आपत्ति जनाए । खरबौँ लगानी गरेका उद्योगहरुलाई बचाउन सरकारले जसले उद्योग संचालन गरेको छ, उसैलाई जग्गा पनि प्रदान गर्नुपर्नेमा पनि उनको जोड थियो । अध्यक्ष कार्कीले पोखरा ३३ मा नयाँ औद्योगिक क्षेत्र स्थापनाको पहल, गण्डकी प्रदेशमै कम्पनी रजिस्ट्रार कार्यालयको स्थापना, काठमाडौं बाहिरका व्यवसायी पनि सुन खरिद गर्न पाउने व्यवस्था हुनुपर्ने माग पनि गरे । पोखरा अन्तर्राष्ट्रिय विमानस्थ बाट वैदेशिक उडान नभएकोप्रति आपत्ति जनाउँदै उनले त्यसको लागि फेरि सडक मै उत्रनु पर्ने बाध्यता उत्पन्न नगराउन पनि सरकारको ध्यानाकर्षण गराए ।

सहकारीका बचतकर्तााको ठूलो रकम हिनामिना हुँदा त्यसको असर अर्थतन्त्रमा परेको उल्लेख गर्दै उनले राज्यले सहकारी नियमनको लागि प्राधिकरण निर्माण,बचत फिर्ताको प्रक्रिया थाल्ने जनाए पनि प्रगति नहुँदा त्यसले जनतामा निराशा ल्याएको पनि बताए ।

‘बैंक तथा वित्तीय संस्थाहरुबाट अनावश्यक रुपले धरपकड गरिएको, कर्जा असुलीको लागि अन्य विकल्प हुँदाहुँदै धितो लिलामीतर्फ उद्यत रहेको गुनासाहरु पनि आइरहेका छन् । पत्रपत्रिकामा देखिने धितो लिलामीको सूचनाले नयाँ लगानीकर्ताहरु रिक्स मोल्न हिच्किचाइरहेका छन्,’उनले भने ।

अनौपचारिक अर्थतन्त्रको आकार बढ्नुलाई पनि निजी क्षेत्रले निको नमानेको पनि उनको भनाइ थियो ।

28Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected