पोखरा भ्यूज
पोखरा । कास्कीको अन्नपूर्ण बेसक्याम्पमा उडान भर्न चार हेलि कम्पनीले सम्झौता गरेका छन् । बुधवार गाउँपालिकाको कार्यालयमा गाउँ कार्यपालिकाको कार्यबिधि अनुसार हेलिकप्टर उड़ान गर्ने गरी सम्झौता गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर केसीले एयर डाइनेष्टी हेलि सर्भिसेस प्रा. लि., अल्टिच्युट एयर प्रा. लि. र हेलि एभरेष्ट प्रा. लि.सँग पालिकाको कार्यविधि अनुसार हेलिकप्टर उडानको लागि सम्झौता गरेका छन् । यस अगाडि सिम्रीक एयर प्रा.लि.ले सम्झौता गरिसकेको छ ।



बिभिन्न हेलि कम्पनीहरूले पालिकासँग सम्झौता गरिसकेको पालिका अध्यक्ष विष्णु केसीले जानकारी दिए । ‘अब अनुमति नलिएका कम्पनीले बेसक्याम्पमा उडान भर्न पाउँदैनन्,’ उनले भने, ‘सूचीकरण नभएका कम्पनीलाई उडानमा निरुत्साहित गरिएको छ ।’

अध्यक्ष केसीका अनुसार यस अघि हेलि कम्पनीहरुले निशुल्क रुपमा असिमित उडान भर्दै आएकोमा आउँदा दिनदेखि प्रति उडान १० हजार शुल्क तिरेर मात्र उडान गर्न पाइने भएको छ ।
अन्नपूर्ण गाउँपालिकाले हेलिकप्टर उडानमा पर्यटन शुल्क लिने गरी कार्यविधि बनाएको गाउँपालिकाका प्रवक्ता भरतमान गुरूङले बताए । २०७९ सालमा बनाइएको कार्यविधिमा पालिकाले संशोधन सहित फागुन १ गते राजपत्रमा प्रकाशन गरेको छ ।
यो सँगै बेस क्याम्पमा व्यावसायिक उडान गर्न चाहने कम्पनीले पालिकामा सूचीकरण गर्नुपर्छ । सूचीकरणको छुट्टै ५ हजार तिर्नुपर्छ । पालिकाबाट अनुमति लिएका कम्पनीले मात्रै वर्षैभरि उडान भर्न पाउनेछन् । तर उद्धारकालागि गरिएको उडानमा भने पैसा लाग्दैन ।
तोकिएको कम्पनी बाहेक अन्यले उडान भर्न चाहेमा प्रति उडान २० हजार रुपैयाँ तिर्नुपर्ने व्यवस्था राखिएको छ । हेलिकप्टर उडानबाट उठेको रकमबाट ३ प्रतिशत पर्यटन सूचना केन्द्र संचालन कोषमा खर्च गर्ने पालिकाले जनाएको छ । पर्यटन शुल्कबाट प्राप्त आम्दानी ११ नम्बर वडाको पर्यटन विकासमा खर्च गर्ने व्यवस्था कार्यविधिमा छ ।
योसँगै अन्नपूर्ण क्षेत्रमा प्रति दिन बढीमा १२ वटासम्म मात्रै उडान गर्न पाउने गरी व्यवस्था मिलाइएको छ । ‘धेरै उडान हुँदा पदयात्रामा जाने पर्यटक र वन्यजन्तुलाई असर परेको गुनासो छ । त्यसैले उडान संख्या कार्यविधिमा नै व्यवस्थित गरिएको हो,’ अध्यक्ष केसीले भने, ‘बढी उडान गरे कारबाही हुन्छ । जलवायु परिवर्तनको असरलाईसमेत ध्यान दिएर कार्यविधि तयार गरिएको हो ।’ कार्यविधिमा पालिका अध्यक्षको संयोजकत्वमा सहजीकरण समितिको परिकल्पना गरिएको छ । उडान व्यवस्थित रुपमा सञ्चालन भए नभएको हेर्ने दायित्व यही समितिको हुनेछ ।
उडानलाई व्यवस्थित गर्न पोखरा विमानस्थल र बेसक्याम्पमा एक एक जना कर्मचारी पालिकाले खटाउने छ ।अन्य कम्पनीलाई पनि सूचीकरणका लागि आह्वान गरिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले बताए । ‘आह्वान गरेका छौँ । अरू कम्पनी आएका छैनन्,’ उनले भने, ‘२ पटकसम्म सूचना निकालेर १४ वटै कम्पनीलाई पत्राचार गरियो । चारवटा कम्पनी दर्ता हुन आएको छ । अरू दर्ता नभएकाहरूले पटके रूपमा २०हजार शुल्क तिरेर उड्छन् ।’
एक्यापमा भएको रेकर्ड कै आधारमा कम्पनीसँग शुल्क असुल गरिने उनले बताए । ‘हामीले एक्यापसँग समन्वय गरेका छौँ । त्यहाँ उडान अनुमति लिँदा जति रेकर्ड छ, त्यसैको आधारमा उडान यकिन हुन्छ,’ अघि भने, ‘संख्या त्यसैलाई गनेर पालिकामा पैसा तिर्ने हो । कसैले बदमासी गर्ने भन्ने हुँदैन । निगरानी गर्न कर्मचारी राखिएको छ।’ हेलिकप्टर उडान शुल्कबाट पालिकाले वर्षमा डेढ करोड आम्दानी गर्ने लक्ष्य लिएको छ ।




