31Shares

पोखरा, २१ माघ ।आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली काँग्रेस कास्की क्षेत्र नं. ३ ले पोखरा महानगरपालिका वडा नं. २४ कास्कीकोटमा चुनावी प्रचारप्रसार कार्यालय उद्घाटनसँगै घरदैलो अभियानलाई तीव्र बनाएको छ। स्थानीय तहमा विशेषगरी युवाहरूको उल्लेखनीय सहभागिता र आकर्षण बढ्दै गएपछि कांग्रेसको चुनावी अभियान कास्कीकोट क्षेत्रमा सशक्त बन्दै गएको छ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य कृष्ण केसी, पूर्व सांसद शारदा पौडेल, कास्की काँग्रेसका उपसभापति एवं क्षेत्र नं. ३ का निर्वाचन परिचालन समितिका संयोजक युवराज कुँवर तथा प्रतिनिधिसभा उम्मेदवार मनोज गुरुङले संयुक्त रूपमा प्रचार कार्यालयको उद्घाटन गरे । कार्यालय उद्घाटनपछि उम्मेदवारसहितको टोलीले घरदैलो कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष संवाद गर्दै कांग्रेसका नीति, कार्यक्रम र भावी प्रतिबद्धताबारे जानकारी गराएको थियो।

कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य कृष्ण केसीले विशेष महाधिवेशनपछि गगन थापाको नेतृत्वमा बद्लिएको नेपाली काँग्रेस अब देश र जनताको अवस्था बदल्ने संकल्पसहित अघि बढेको बताए । उनले कास्की क्षेत्र नं. ३ बाट प्रत्यक्षतर्फ मनोज गुरुङ र समानुपातिकतर्फ आइबहादुर गुरुङजस्ता इमानदार र सादगी उम्मेदवारले जनताको विश्वास जित्ने दाबी गरे ।

कार्यक्रमकै क्रममा समाजसेवी चक्रपाणि त्रिपाठीसहित टिकाराम भट्टराई, विजय अधिकारी, इन्दिरा त्रिपाठीलगायत दर्जनौँ व्यक्तिले विभिन्न दल परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका थिए। नवप्रवेशीहरूले वर्तमान राजनीतिक अवस्थालाई मध्यनजर गर्दै सोचविचारपूर्वक कांग्रेस रोजेको बताएका थिए।

जेन–जी युवाको तर्फबाट एलिसा अधिकारीले भाषणभन्दा काम र जनताको भावना बुझ्ने नेतृत्व आजको आवश्यकता भएको उल्लेख गर्दै त्यो नेतृत्व कास्की–३ मा मनोज गुरुङ र आइबहादुर गुरुङ भएको बताइन् । उनले अनुभवी र युवा नेतृत्वको संयोजनले मात्र देशलाई निकास दिन सक्ने धारणा राखिन् ।

कार्यक्रममा नेपाली काँग्रेस कास्कीका उपसभापति युवराज कुँवर, उम्मेदवार मनोज गुरुङ, पूर्व सांसद शारदा पौडेललगायत वक्ताहरूले बद्लिएको कांग्रेसप्रति जनताको भरोसा बढ्दै गएको उल्लेख गर्दै युवालाई देशमै भविष्य खोज्ने वातावरण निर्माण गर्न पार्टी प्रतिबद्ध रहेको बताए। कार्यक्रम नेपाली काँग्रेस पोखरा–२४ इकाइ सभापति प्रतापबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो।

31Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected