
पोखरा, ११ फागुन — प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरू मतदाताको घरदैलोमा पुगेर मत माग्न व्यस्त छन्। तर प्रत्येक निर्वाचनमा जस्तै यसपटक पनि पोखरा महानगरपालिका वडा नं. १७ हनुमान टोलका बासिन्दाको एउटै प्रश्न दोहोरिएको छ — “हामी कहिले जग्गाधनी पुर्जा पाउँछौँ?”
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कास्की निर्वाचन क्षेत्र नं. २ बाट नेकपा एमालेका उम्मेदवार रश्मी आचार्य घरदैलो कार्यक्रममा हनुमान टोल पुगेका थिए। त्यहाँ स्थानीयवासीले आफ्नो दीर्घकालीन पीडा सुनाउँदै जग्गाको स्वामित्व कहिले पाउने भन्ने जिज्ञासा राखे।
हनुमान टोल विकास संस्थाका अध्यक्ष रिकमाया गुरुङका अनुसार २०३६ सालदेखि कित्ता नम्बर २९९ र ३०० मा रहेको करिब ५८ रोपनी जग्गामा तीन सयभन्दा बढी परिवार पाँच दशकदेखि बसोबास गर्दै आएका छन्। “दुई दशकभन्दा बढी जिल्ला, पुनरावेदन र सर्वोच्च अदालतमा मुद्दा लडेर भूमाफियाको चङ्गुलबाट जग्गा जोगायौँ,” उनले भनिन्, “तर अझैसम्म लालपुर्जा नपाउँदा हामीले सधैँ दोस्रो दर्जाको नागरिकजस्तो अनुभूति गरिरहेका छौँ।”

उनका अनुसार स्थानीयको सक्रियता र वडा तथा विभिन्न जनप्रतिनिधिको पहलमा टोलमा बाटो, खानेपानी, विद्युतीकरणलगायतका आधारभूत पूर्वाधार निर्माण भइसकेका छन्। अधिकांश बासिन्दा श्रम गरेर जीविकोपार्जन गर्दै आएका छन्।
कार्यक्रममा उम्मेदवार आचार्यले स्थानीयको गुनासो सुनेपछि भूमिहीन समस्या समाधान आफ्नो प्राथमिकतामा रहने बताए। “घर छ, तर जग्गा छैन भन्ने पीडा धेरै परिवारले भोगिरहेका छन्,” उनले भने, “भूमिहीनलाई जग्गाधनी बनाउने काममा म सक्दो पहल गर्नेछु।”
भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या सामाजिक न्यायसँग जोडिएको विषय भएको उल्लेख गर्दै उनले भूमि व्यवस्थापन, लालपुर्जा वितरण र आवास कार्यक्रमलाई व्यवस्थित रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। संघ, प्रदेश र स्थानीय तहबीच समन्वय अपरिहार्य रहेको भन्दै दीर्घकालीन समाधानका लागि स्पष्ट नीति आवश्यक रहेको उनको भनाइ थियो।
उनले विगतमा एमाले नेतृत्वको नौ महिने कार्यकालमा करिब ६३ हजार परिवारलाई लालपुर्जा वितरण गरिएको स्मरण गराउँदै अस्थिर सरकारका कारण राष्ट्रिय भूमि समस्या समाधान आयोगले अपेक्षित काम गर्न नसकेको बताए।
भूमि अधिकार अभियन्ताका अनुसार हाल पनि देशभर २२ लाखभन्दा बढी नागरिक भूमि अधिकारबाट वञ्चित छन्। तथ्याङ्कअनुसार भूमिहीन दलित परिवार ८८ हजार ८९५, सुकुम्बासी एक लाख ६८ हजार ४४१ र अव्यवस्थित बसोबासी चार लाख ७२ हजार १८१ परिवार रहेका छन्।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा वडा इन्चार्ज सुभाष ढुङ्गानाले पोखरा–१७ का विभिन्न भूमिहीन बस्तीमा आवश्यक भौतिक सुविधा विस्तारमा निरन्तर योगदान भइरहेको बताए। कोणसभामा वामपन्थी नेता सोमनाथ अधिकारी (प्यासी) सहित नेता–कार्यकर्ताको सहभागिता रहेको कार्यक्रम एमाले पोखरा–१७ का सचिव उत्तम पौडेलले सञ्चालन गरेका थिए।






सम्बन्धित खवर















