
काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ घुँडाको एसीएलमा यसअघि गरिएको शल्यक्रियाबाट हालिएको ग्राफ्ट तथा एमसिएलमा गम्भीर चोटका कारण जटिल शल्यक्रियाको तयारीमा हुनुहुन्छ। उहाँको उपचारका लागि आर्थिक तथा नैतिक साथ आवश्यक रहेको बताइएको छ।
यसै सन्दर्भमा, नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्षसँग टेलिफोन संवाद गरी खेलाडीको उपचार कोषमा पार्टीका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो। सोही प्रतिबद्धता अनुसार एन्फाको ग्लोबल आईएमई बैंक लिमिटेडमा रहेको खाता नं. ३४४०१०१०००११३७ मा रु. ५,००,००० (पाँच लाख रुपैयाँ) जम्मा गरिएको जनाइएको छ।
यस विषयमा कांग्रेस सभापति गगनकुमार थापाले देशको प्रतिष्ठा अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउनुभएकी प्रसिद्ध फुटबल खेलाडी ‘साम्बा’ प्रति उच्च सम्मान व्यक्त गर्दै पार्टीका तर्फबाट आर्थिक सहयोग गरिएको उल्लेख गर्नुभयो। उहाँले यतिबेला सबैले एकजुट भई खेलाडीलाई साथ दिनुपर्ने आवश्यकता औंल्याउँदै पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ। नेपाली कांग्रेसले खेलकुदलाई केवल मनोरञ्जनको माध्यम नभई ‘राष्ट्रिय पहिचान’ र ‘राष्ट्र निर्माणमा युवा सहभागिता’ को मेरुदण्डका रूपमा स्थापित गर्ने प्रतिबद्धता दोहोर्याएको छ।







सम्बन्धित खवर














