0Shares

पोखरा । अटोवेज प्राइभेट लिमिटेडले युरो सिक्स (बीएस सिक्स) मापदण्डको भोल्भो–आइसर लक्जरी बसमार्फत पोखरा–काठमाडौं सेवा सुरु गर्ने भएको छ।

अटोवेज प्रालिका अध्यक्ष नारायण पौडेलका अनुसार युरो सिक्स मापदण्डका सवारी साधनले नेपालमा वातावरणमैत्री यातायात प्रणालीतर्फको महत्वपूर्ण कदमको प्रतिनिधित्व गर्छन्। “यी बसहरू कम उत्सर्जन, उन्नत इन्जिन प्रविधि, उच्च इन्धन दक्षता र आधुनिक सुरक्षा सुविधासहित सञ्चालनमा आउनेछन्,” उनले बताए।

स्विफ्ट होलिडेजका प्रबन्ध निर्देशक मिलन नेपालले गुणस्तरीय, सुरक्षित र आरामदायी यात्रालाई थप परिष्कृत बनाउन नयाँ लक्जरी बस प्रभावकारी हुने विश्वास व्यक्त गरे। उनका अनुसार कम्पनीले हाल करिब ४० वटा सवारी साधनमार्फत सेवा दिँदै आएको छ भने अब थप ६ वटा बसमार्फत सेवा विस्तार गरिनेछ।

अध्यक्ष पौडेलका अनुसार सरकारले तोकेको नीति अनुरूप ४० सिट क्षमताका बस नेपाल भित्र्याइएको हो, जसलाई १० वर्षसम्म बिक्री गर्न नपाइने प्रावधान छ। एक बसको मूल्य करिब १ करोड ३० लाख रुपैयाँ रहेको उनले जानकारी दिए।

नयाँ बसमार्फत पोखरा, काठमाडौं, चितवन र लुम्बिनीमा दिवा तथा रात्रिकालीन सेवा सञ्चालन गरिनेछ। पोखरा–काठमाडौं र काठमाडौं–पोखरा रुटमा प्रतियात्रु १ हजार २ सय रुपैयाँ भाडादर निर्धारण गरिएको कम्पनीले जनाएको छ।

युरो सिक्स मापदण्डको लक्जरी बस सञ्चालनसँगै पर्यावरण संरक्षण, सुरक्षित यात्रा र सेवा गुणस्तर उकास्न निजी क्षेत्रको सक्रियता बढेको संकेत मिलेको छ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected