0Shares

पोखरा।  प्रतिनिधि सभा सदस्य पदका लागि कास्की क्षेत्र नं. २ बाट नेकपा (एमाले)का उम्मेदवार रश्मि आचार्यले देशकै ठूलो महानगर पोखरा को व्यवस्थित विकासका लागि स्पष्ट नीतिगत हस्तक्षेप आवश्यक रहेको बताएका छन्।

वडा नं. ७ मा आयोजित मतदाता भेटघाट कार्यक्रममा बोल्दै आचार्यले महानगरको तीव्र विस्तारसँगै शिक्षा, स्वास्थ्य, रोजगारी, संरचनाको सौन्दर्यीकरण तथा युवा–केन्द्रित कार्यक्रमहरू नीतिगत र कानुनी अल्झनका कारण प्रभावकारी रूपमा अघि बढ्न नसकेको उल्लेख गरे। “व्यवस्थित विकासका लागि नयाँ नीतिगत व्यवस्था र स्थानीय तहसँगको सुदृढ सहकार्य अपरिहार्य छ,” उनले भने।

आचार्यका अनुसार, विकासका योजनाहरू कानुनी अस्पष्टता र समन्वय अभावका कारण असरल्ल परेका छन्। उनले प्रतिनिधि सभामा पुगेर आवश्यक कानुनी संशोधन र नीति सुधारमार्फत यी अवरोध हटाउने प्रतिबद्धता व्यक्त गरे। “नीति स्पष्ट भए मात्रै विकासले गति लिन्छ,” उनको भनाइ थियो।

पोखराको पर्यटनलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यसहित आचार्यले ‘लिङ्क पोखरा, मार्क पोखरा र ट्विट पोखरा’ अवधारणा अघि सारेका छन्। भौगोलिक र सांस्कृतिक सम्पदालाई एकअर्कासँग जोडेर समग्र पर्यटन सञ्जाल निर्माण, ग्रामीण भेगमा नयाँ गन्तव्य पहिचान र विकासमार्फत पर्यटनको विस्तार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा डिजिटल प्रवर्द्धन र ब्रान्डिङबाट पोखराको व्यवस्थित बिकासको बाटो खुल्ने बताए। उनका अनुसार, यी तीन आयामले पोखराको सौन्दर्यीकरण र संरचनागत व्यवस्थापनलाई सुदृढ बनाउँदै पर्यटक आगमन वृद्धि र बसाइ अवधि लम्ब्याउन महत्वपूर्ण भूमिका खेल्नेछ।

मुख्य सहरी क्षेत्रमा बढ्दो जनघनत्वलाई व्यवस्थित नगरेसम्म दिगो विकास सम्भव नहुने आचार्यको तर्क छ। उनले शहरी जनसंख्या व्यवस्थापन, जीवनस्तर सुधार र पूर्वाधार सुदृढीकरणलाई अभियानकै रूपमा अघि बढाउने बताए। “जनघनत्व बढी भएका क्षेत्रको सशक्तिकरणले मात्रै समग्र पोखरा व्यवस्थित बन्छ,” उनले दाबी गरे।

शिक्षा, स्वास्थ्य र रोजगारीका अवसर विस्तारमार्फत युवालाई उत्पादनशील क्षेत्रमा संलग्न गराउने योजना पनि उनको प्राथमिकतामा रहेको छ। नीतिगत त्रुटि सच्याएर युवा–मैत्री वातावरण सिर्जना गर्ने उनको प्रतिबद्धता छ। निर्वाचन नजिकिँदै जाँदा आचार्यले समावेशी विकास, कानुनी सुधार र पर्यटन–केन्द्रित दीर्घकालीन योजनामार्फत “व्यवस्थित र समुन्नत पोखरा” निर्माण गर्ने दाबी गरेका छन्।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected