राजनीतिक एजेण्डामा केन्द्रित हुन प्राध्यापक, बुद्धिजीवी पेशाकर्मीहरूको सुझाव

पोखरा । प्रतिनिधिसभा निर्वाचन आउन ६ दिन मात्र बाँकी रहदाँ राजनीतिक एजेण्डामा केन्द्रित भई चुनाव प्रचार प्रसार गर्न काँग्रेस निकट प्राध्यापक, बुद्धिजीवी पेशाकर्मीहरूले सुझाएका छन् । उनीहरूले चुनाव केन्द्रित प्रचारप्रसारको रणनीति समेत परिवर्तन गर्नुपर्नेमा जोड दिए ।
नेपाली काँग्रेस कास्की क्षेत्र नं. २ प्राध्यापक बुद्धिजीवी समन्वय उपसमितिले शनिबार पोखरामा आयोजना गरेको कसरी नेपाली काँग्रेसमा जनमत आकर्षित गर्न सकिन्छ? विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरूले जेनजी विद्रोहपछि नेपालको राजनीति र देश बुझेको व्यक्तिले नेपाल राज्यको नेतृत्व गर्ने जिम्मेवारी नेपाली काँग्रेसलाई दिने विश्वास पनि व्यक्त गरे । उनीहरुले देश खतरामा परेको अहिलेको अवस्थालाई सुधार गर्न काँग्रेसको विकल्प नभएको ठोकुवा समेत समेत गरे ।

यद्यपि उनीहरूले नेपाली काँग्रेसले बुद्धिजीवीहरूको भूमिकामा ध्यान दिन नसकेको गुनासो समेत व्यक्ति गरे । बदलिएको काँग्रेसले पार्टी सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीका रुपमा अगाडि सारेर चुनावमा होमिदैं गर्दा काँग्रेसको पक्षमा जनलहर बढेको दावी गर्दै वक्ताहरूले नयाँ पुस्ताले अघि सारेका मागहरूको सम्बोधन गर्ने सक्ने पार्टी काँग्रेस मात्र हो भनेर गाउँतहसम्म जागरण फैलाउन बुद्धिजीवी पेशाकर्मीको सहयोग लिन समेत नेतृत्वलाई सुझाउ दिए । ‘हामीले पार्टीको हितमा काम गरिराखेका छौं, तर नेतृत्वले हामीसँग भएको क्षमता उपभोग गर्ने संयन्त्र बनाएको छैन,’ प्रा.डा. बोधराज ढकालले भने,’ अर्को कुरा पार्टी नेतृत्वले हामीलाई चिन्दा पनि चिन्दैन तर हामीहरू काँग्रेसको पक्षमा जनमत आकर्षित गर्ने काममा क्रियाशील छौं ।
सामाजिक सञ्जाललाई चुनाव प्रचारप्रसारको प्लेटफर्मका रुपमा समेत प्रयोग गर्न र काँग्रेसका उमेद्वारबारे सकारात्मक धारणा राख्ने, अनर्गल टिप्पणी गर्नेका उपरमा समेत प्रतिवाद गर्नुपर्नेमा वक्ताहरुले जोड दिए । काँग्रेसले नेतृत्व गरेका वडाहरूमा जनप्रतिनिधिका व्यवहारले मतदाताहरूमा असन्तुष्टि बढेको र त्यसतर्फ पार्टी नेतृत्व तहबाट उनीरूको असन्तुष्टि सम्बोधन गर्न पनि आग्रह गरेका छन् । ‘जनप्रतिनिधिका कारण काँग्रेसपति जनताको आक्रोश बढी देखिएको छ,’ उपप्राध्पक सरिता पराजुलीले भनिन्, ‘जताको आक्रोश वडा नं. ४ र ९ मा बढी भेटिएको छ ।’

नेपाली काँग्रेस कास्की क्षेत्र नं. २ कां चुनावी कमाण्डर समेत रहेका क्षेत्रीय सभापति केशरप्रसाद निर्दोषीले बुद्धिजीवी पेशाकर्मीहरूबाट प्राप्त सुझावलाई कार्यान्वयन गरिने जानकारी दिए । उनले अहिलेको परिवर्तित सन्दर्भमा बुद्धिजीवीहरूको भूमिका महत्वपूर्ण हुने भन्दै सकारात्मक सहयोगको अपेक्षा समेत गरे ।कार्यक्रममा नेपाली काँग्रेस महासमिति सदस्य वीरेन्द्र नारायण बिजुक्छेले बुद्धिजीवीहरूका सुझावलाई पार्टीले पुँजीका रुपमा ग्रहण गर्ने बताए ।
नेपाली काँग्रेस कास्की क्षेत्र नं. २ प्राध्यापक बुद्धिजीवी समन्वय उपसमितिका संयोजक प्रा.डा रामचन्द्र पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा २८ भन्दा बढी व्यक्तिले आसन्न प्रतिनिधिसभा निर्वाचनमा काँग्रेसको पक्षमा जनमत आकर्षित गर्ने सन्दर्भमा आआफ्नो सुझाउ दिएका थिए ।






















