कास्की–१ मा कांग्रेसको युवा भेला : हजारौँ युवा एकै ठाउँमा, ‘रुख’ जिताउन प्रतिबद्धता

पोखरा। नेपाली कांग्रेस कास्की क्षेत्र नं १ ले चुनाव केन्द्रित युवा परिचालनलाई तीव्र बनाउँदै बृहत् युवा भेला सम्पन्न गरेको छ। युवा परिचालन उपसमितिका संयोजक डमरजंग गुरुङको अध्यक्षतामा आयोजित भेलामा एक हजारभन्दा बढी युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार तिलक रानाभाटले अबको विकास युवा मैत्री र युवा नेतृत्वमा केन्द्रित हुनुपर्नेमा जोड दिए। युवाको सक्रिय सहभागिताबिना दिगो विकास सम्भव नभएको उल्लेख गर्दै उनले सबै क्षेत्रमा युवाहरूको समान र अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याए।

भेलामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णबहादुर केसी, पूर्वमन्त्री यज्ञबहादुर थापा, कास्की जिल्ला सभापति किशोरदत्त बराल, प्रदेश सांसद सरस्वती गुरुङ, नेपाल विद्यार्थी सङ्घका नेता रसिस हरि भण्डारी, पोखरा महानगरपालिका–१२ का वडाध्यक्ष सन्तोष बास्तोला, मादी गाउँपालिका अध्यक्ष देवीजंग गुरुङ, महासमिति सदस्य दीपक गुरुङ ‘माइला’ तथा क्षेत्रीय सभापति राजेन्द्रमणि लामिछानेलगायतले सम्बोधन गरेका थिए। वक्ताहरूले कांग्रेसका उम्मेदवारलाई विजयी गराउन सबै युवाहरू एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिएका थिए।
स्वागत मन्तव्य राख्दै महाधिवेशन प्रतिनिधि तथा युवा नेता सुरज जंग राणाले युवाहरूको आशा र भरोसा तिलक रानाभाटमै केन्द्रित रहेको दाबी गर्दै रुख चिन्हमा मतदान गरी भव्य जित सुनिश्चित गर्न आग्रह गरे। कार्यक्रमको सञ्चालन नेपाल विद्यार्थी सङ्घ कास्कीका सभापति राजीव भण्डारीले गरेका थिए।





















