0Shares

पोखरा। प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा कास्की क्षेत्र नं २ मा चुनावी गतिविधि तीव्र बनेको छ। नेपाली काँग्रेस कास्की–२ का उम्मेदवार माधव प्रसाद बास्तोला (मधु) को घरदैलो कार्यक्रम पोखरा–४ का विभिन्न टोलमा उत्साहजनक सहभागितासहित सम्पन्न भएको छ।

सिद्धार्थचोकबाट सुरु भएको घरदैलो कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै समर्थन मागेका थिए। “काँग्रेस सच्चिएर आएको छ, ढुक्क भएर मतदान गर्नुहोस्,” भन्दै कार्यकर्ताले मतदातासँग आग्रह गरेका थिए।

गणेशटोल निवासी प्रविण पालिखेले यसपटक काँग्रेस कार्यकर्तामा उल्लेखनीय उत्साह देखिएको बताए। “इमान्दार नेता माधव प्रसाद बास्तोला उम्मेदवार पाउँदा खुसी लागेको छ,” उनले भने। अधिकांश घरमा पुगेर भोट माग्ने र सुझाव संकलन गर्ने कार्य गरिएको जनाइएको छ।

घरदैलो कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा मन्त्री बिन्दुकुमार थापा, वीरेन्द्रनारायण बिजुक्छे, ऋषि काफ्ले, केशर निर्दोषी, सकुन्तला कोइराला, शंकर बास्तोला, कृष्णकुमारी परियार, देवकृष्ण पराजुली, विष्णु कोइराला लगायतको सहभागिता रहेको थियो।

आइतबार सिद्धार्थचोक, चिप्लेढुंगा, पराजुली मार्ग, गणेशटोल, नालाको मुख, रामकृष्ण टोल, बागलुङ बसपार्क र गैहपाटन बुढालिलाकण्ठ मन्दिर क्षेत्रमा घरदैलो तथा सुझाव संकलन कार्यक्रम गरिएको छ। गणेशटोलका पुराना बजार र कलात्मक घरहरूको संरक्षणमा आफूले विशेष जोड दिने प्रतिबद्धता बास्तोलाले व्यक्त गरे।

नालाको मुखस्थित गणेशमान सिंहको शालिकमा माल्यार्पण गर्दै बास्तोलाले नेपाली काँग्रेस अब गणेशमानकै बाटोमा अघि बढेको दाबी गरे। सच्चिएको काँग्रेसले सुशासन र समृद्धिलाई प्रमुख एजेन्डा बनाउने उनको प्रतिबद्धता थियो।

यसैबीच, मध्यपूर्वका युद्ध प्रभावित मुलुकमा रहेका नेपालीहरूको सुरक्षाप्रति उनले गम्भीर चिन्ता व्यक्त गरे। युद्धका कारण नेपाली नागरिकमा पर्न सक्ने असरप्रति सचेत रहँदै सरकारले सुरक्षित स्थानमा राख्ने व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए। आफू त्रिशूली नदीमा खसेर पुनर्जन्म लिएर आएको व्यक्ति भएकाले पीडाको अनुभूति राम्रोसँग बुझेको उनले उल्लेख गरे।

घरदैलो कार्यक्रममा पोखरा–४ का वृद्धवृद्धादेखि जेनेरेसन–जेड समूहका मतदातासमेत उत्साहपूर्वक सहभागी भएका थिए। यसअघि शनिबार पोखरा–११ मा पनि घरदैलो तथा सुझाव संकलन अभियान सम्पन्न भएको थियो। उम्मेदवार बास्तोलाले यसपटक काँग्रेस कार्यकर्तामा अभूतपूर्व उत्साह देखिएको प्रतिक्रिया दिएका छन्।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected