0Shares

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको संगठनात्मक संरचनामा व्यापक सुधारको खाँचो औंल्याएका छन्। केन्द्रीय समिति बैठकमा बोल्दै उनले समाज र पुस्ताको विविधता पार्टीभित्र रहे पनि संरचना अझै भद्दा र अप्रभावकारी रहेको टिप्पणी गरे।

थापाले कांग्रेसको मौलिकता पुनः पहिचान गर्नुपर्नेमा जोड दिँदै निर्वाचनमा भएको हारको गम्भीर समीक्षा आवश्यक रहेको बताए। उनले पुस्तौँदेखि कांग्रेससँग जोडिएका परिवारका युवासमेत पार्टीमा आकर्षित हुन नसकेको भन्दै यसबारे घरघरमा पुगेर छलफल गर्नुपर्ने धारणा राखे।

पार्टीभित्र मूल्य–मान्यता कमजोर हुँदै गएको हो कि भन्ने प्रश्न उठाउँदै उनले कांग्रेसले जनताको स्वतन्त्रताका लागि लडेको इतिहासलाई जोगाउनुपर्ने बताए। “पार्टीभित्र शुद्धीकरण आवश्यक छ, सही मानिस सही ठाउँमा छन् कि छैनन् भन्ने पनि समीक्षा गर्नुपर्छ,” उनले भने। साथै, सामाजिक आन्दोलनमा पनि पार्टी सक्रिय हुनुपर्ने उल्लेख गर्दै उनले महाधिवेशनतर्फ अघि बढ्दै गर्दा सुधारका काम सँगसँगै गर्नुपर्ने बताए।

सभापति थापाले विभिन्न चर्चित काण्डहरूको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिए। उनले शेरबहादुर देउवा निवाससँग जोडिएको जलेको पैसाको घटनादेखि गिरीबन्धु जग्गा प्रकरण, ललितानिवास प्रकरण र वाइडबडी जहाज खरिद प्रकरणसम्म सबैमा छानबिन हुनुपर्ने बताए। “काण्डहरू सार्वजनिक खपत वा आरोप–प्रत्यारोपको विषय मात्र बन्नु हुँदैन। दूधको दूध, पानीको पानी हुनुपर्छ,” थापाले स्पष्ट पारे।

थापाले सार्वजनिक पदमा बसेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न नयाँ सरकारले आयोग गठन गर्नुपर्ने माग गरेका छन्। उनका अनुसार २०४८ सालदेखि २०८२ सालसम्म सार्वजनिक जीवनमा रहेका सबैको सम्पत्ति जाँच हुनुपर्छ। “गलत ढंगले आर्जन गरिएको सम्पत्ति जफत हुनुपर्छ,” उनले भने, “यदि यस्तो आयोग गठन गरिन्छ भने कांग्रेसले पूर्ण सहयोग गर्नेछ।”

यससँगै उनले नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आफ्नो प्रतिबद्धता अनुसार सम्पत्ति छानबिन आयोग गठन गर्नुपर्ने धारणा व्यक्त गरे।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected