
काठमाडौं । नेपाली कांग्रेसले १५औं महाधिवेशनको कार्यतालिका संशोधन गरेको छ। पार्टीको आज बसेको केन्द्रीय समिति बैठकले वडा अधिवेशन २ भदौदेखि सुरु गर्ने निर्णय गरेको हो।
यसअघि मंगलबारको बैठकमा ६ साउनदेखि वडा अधिवेशन सुरु गर्ने प्रस्ताव गरिएको थियो। तर उक्त कार्यतालिका संशोधन गर्दै नयाँ तालिका ल्याइएको एक केन्द्रीय सदस्यले जानकारी दिएका छन्।
संशोधित कार्यतालिकाअनुसार गाउँ–नगर अधिवेशन अब ७ भदौमा हुने भएको छ। यसअघि यो अधिवेशन १२ साउनका लागि तय गरिएको थियो। त्यसैगरी, प्रदेश सभा क्षेत्रीय अधिवेशन २३ साउनबाट सारेर १७ भदौमा गर्ने निर्णय गरिएको छ।
यसैगरी, ३० साउनमा गर्ने भनिएको क्षेत्रीय अधिवेशन तथा एक निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन २४ भदौमा हुने भएको छ। एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाहरूको अधिवेशन भने २ र ३ असोजमा गर्ने निर्णय गरिएको छ, जुन पहिले ६ र ७ भदौका लागि प्रस्ताव गरिएको थियो।
प्रदेश अधिवेशन पनि सारिएको छ। अब प्रदेश अधिवेशन ७ र ८ असोजमा हुनेछन्, जबकि यसअघि १५ र १६ भदौमा गर्ने प्रस्ताव गरिएको थियो।
पार्टीले १५औं महाधिवेशन आगामी १६, १७, १८ र १९ असोजमा काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ। यसअघि महाधिवेशन २४ देखि २६ भदौसम्म गर्ने प्रस्ताव गरिएको थियो।





सम्बन्धित खवर
















