0Shares

पोखरा, ११ चैत्र । माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा माछापुच्छ्रे गाउँपालिकाको केन्द्र वडा नं. ४, लाहाचोकमा बुधवारदेखि चौथो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८२ सुरु भएको छ।

उद्घाटन खेलमा सुक्लागण्डकी नगरपालिका, तनहुँ र माछापुच्छ्रे गाउँपालिका (निलो) बीच प्रतिस्पर्धा भएको थियो। सुरुवातमा पछि परेको सुक्लागण्डकीले उत्कृष्ट पुनरागमन गर्दै लगातार तीन सेट जित्दै विजयी सुरुवात गरेको छ।

निर्धारित तालिका अनुसार दोस्रो खेल अन्नपूर्ण गाउँपालिका र पोखरा महानगरपालिका वडा नं. २३ बीच हुने तय भए पनि तोकिएको समयमा वडा नं. २३ उपस्थित हुन नसक्दा आयोजकले अन्नपूर्ण गाउँपालिकालाई विजयी घोषणा गर्दै अर्को चरणमा प्रवेश गराएको छ।

महिला तर्फको प्रतिस्पर्धामा एलिट भलिबल एकेडेमी, नदीपुर पोखराले आयोजक माछापुच्छ्रे (निलो) लाई सोझो तीन सेटमा पराजित गर्‍यो। त्यसैगरी, शान्ता भलिबल ट्रेनिङ सेन्टरले माछापुच्छ्रे (रातो) लाई पनि सोझो तीन सेटमा हराउँदै अर्को चरणको यात्रा तय गरेको छ।

कार्यक्रम उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले खेलकुदले पर्यटन प्रवर्द्धनसँगै स्थानीय संस्कार–संस्कृतिको जगेर्ना गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले खेल अनुशासनको प्रतीक भएको उल्लेख गर्दै सबै टोलीलाई अनुशासित खेल प्रदर्शनसहित उपाधि जित्न शुभकामना दिए।

उपाध्यक्ष सीता अधिकारीले गाउँपालिकाले खेलकुदलाई उच्च प्राथमिकतामा राख्दै विभिन्न प्रतियोगिता सञ्चालन गर्दै आएको बताइन्। खेलकुदले समाजमा एकता, भाइचारा र सद्भाव अभिवृद्धि गर्ने उनको विश्वास छ।

वडा नं. ४ का अध्यक्ष मधुसूदन अधिकारीले खेलकुदमार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न वडामा यस्ता प्रतियोगिता आयोजना हुँदै आएको उल्लेख गर्दै लाहाचोकमा प्रतियोगिता आयोजना हुनुले पर्यटनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे।

माछापुच्छ्रे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा स्वागत वडा नं. ४ का अध्यक्ष मधुसूदन अधिकारीले गरेका थिए भने सञ्चालन खेलकुद विकास समिति सदस्य सचिव हुमबहादुर गुरुङले गरेका थिए।

लाहाचोकको व्यवस्थापन तथा माछापुच्छ्रे गाउँपालिका भलिबल संघको समन्वयमा चैत्र ११ देखि १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुष तथा महिला दुवै विधामा उत्कृष्ट खेलाडी, स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सेटर, सर्भर, उदयमान खेलाडी र प्रशिक्षकलाई पालिकाको लोगो अंकित खेलकुद पोशाक पुरस्कार प्रदान गरिनेछ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected