
पोखरा, ११ चैत । पोखरा महानगरपालिका वडा नं. ५ स्थित शान्ति निकेतन स्कूलले अत्याधुनिक सुविधासम्पन्न नयाँ भवनबाट कक्षा ११ र १२ सञ्चालन गर्ने भएको छ। आगामी शैक्षिक सत्र २०८३ देखि नयाँ व्यवस्थापनसहित पठनपाठन सुरु गरिने जानकारी बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत दिइएको हो।
संस्थापक तथा प्राचार्य डा. महेश्वर पराजुलीले विद्यालयले पोखराकै अर्को प्रतिष्ठित शैक्षिक संस्था प्रतिभा माविसँग सहकार्य गर्ने निर्णय गरेको बताए। उनका अनुसार दुवै विद्यालय आ–आफ्नै मोडालिटीमा सञ्चालन भए पनि शैक्षिक तथा व्यवस्थापकीय पक्षमा सहकार्य गरिनेछ। सहलगानी, शिक्षकबीच अनुभव आदानप्रदान तथा संयुक्त गतिविधिमार्फत गुणस्तरीय शिक्षा प्रवर्द्धन गरिने उनको भनाइ छ।
कार्यक्रममा प्रतिभा मावि सञ्चालक समिति अध्यक्ष नारायण पौडेलले दुई विद्यालय गाभिने नभई सहकार्यको मोडेलमा अघि बढ्ने स्पष्ट पारे। उनले प्रतिस्पर्धात्मक रूपमा गुणस्तर अभिवृद्धि गर्दै उत्कृष्ट शिक्षा प्रदान गर्ने लक्ष्य रहेको बताए।
वि.सं. २०६२ मा स्थापना भएको शान्ति निकेतनले २० वर्षे शैक्षिक यात्रामा उल्लेखनीय उपलब्धि हासिल गरेको दाबी गरिएको छ। प्राचार्य पराजुलीका अनुसार विद्यालयले स्थानीय तथा राष्ट्रिय परीक्षामा उत्कृष्ट नतिजा ल्याउँदै आएको छ भने एसइईमा उच्च अंकसहित ४ जीपीए ल्याउने विद्यार्थी उत्पादन गर्दै आएको छ।
विद्यालयले करिब १५ करोड रुपैयाँ लागतमा धारापानी मार्गमा अत्याधुनिक भवन निर्माण गरिरहेको जनाएको छ। करिब ६० करोड मूल्य बराबरको जग्गामा निर्माण भइरहेको भवन एक वर्षभित्र सम्पन्न हुने अन्तिम चरणमा पुगेको बताइएको छ।
नयाँ भवन अपाङ्गता मैत्री हुने, लिफ्ट, अण्डरग्राउण्ड पार्किङ, बास्केटबल कोर्ट, फुटसल, क्रिकेट प्राक्टिस नेट, स्वच्छ क्यान्टीन तथा ३ सय क्षमताको श्रव्य–दृश्य कक्ष जस्ता सुविधा समेटिनेछन्। साथै, आधुनिक आइसीटी ल्याब, साइन्स ल्याब, डिजिटल लाइब्रेरी लगायतका संरचना तयार पारिनेछ।
विद्यालयले स्मार्ट कक्षाकोठा, डिजिटल उपकरणमार्फत शिक्षण, तथा अनुसन्धानमूलक र खोजमा आधारित सिकाइ पद्धतिलाई प्राथमिकता दिने जनाएको छ। विद्यार्थीको सर्वाङ्गीण विकासका लागि खेलकुद, नेतृत्व विकास, नृत्य, कला, संगीत, नाटक, योग, चिनियाँ तथा संस्कृत भाषा शिक्षालाई समेत थप प्रभावकारी बनाइनेछ।
निकट भविष्यमा प्राविधिक धारअन्तर्गत स्नातक तह सञ्चालन गर्ने योजना पनि विद्यालयले अघि सारेको छ। यसका लागि अन्तर्राष्ट्रिय स्तरका शैक्षिक संस्थासँग सहकार्य गर्ने तयारी गरिएको छ।
प्राचार्य पराजुलीले विद्यालयले केवल पाठ्यक्रम र परीक्षा केन्द्रित शिक्षामा सीमित नरही नैतिकता, मानवता र संस्कार विकासमा जोड दिने बताए। “विद्यार्थीलाई जीवनका विभिन्न पक्षमा सक्षम बनाउँदै विश्व बजारमा प्रतिस्पर्धी नागरिक उत्पादन गर्नु हाम्रो मुख्य उद्देश्य हो,” उनले भने।
कार्यक्रम शान्ति निकेतन सञ्चालक समितिका अध्यक्ष कृष्णमणि भुत्र्यालको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन सल्लाहकार पुरुषोत्तम पराजुलीले गरेका थिए।





सम्बन्धित खवर
















