
पोखरा, २३ चैत । कास्कीको हेमजामा आयोजना हुने १४औँ राष्ट्रिय आलु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ। आयोजक विष्णुपादुका क्लबले सोमबार पत्रकार सम्मेलन गर्दै महोत्सव यही चैत २७ गतेदेखि वैशाख ५ गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो।
महोत्सवमा प्रतिकिलो ३५ रुपैयाँमा आलु बिक्री गरिनेछ। मूल आयोजक समितिका संयोजक तथा क्लब अध्यक्ष वसन्तकुमार श्रेष्ठका अनुसार महोत्सवमा आलु तथा ताजा तरकारीको बृहत् प्रदर्शन, आलुको विशाल पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शनी लगायतका कार्यक्रम हुनेछन्।
यसैगरी कृषकका लागि माटो परीक्षण, बोटबिरुवा रोग परीक्षण तथा निदान सेवा, कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारका सांस्कृतिक प्रस्तुति, बीउबिजन तथा कृषि यन्त्रको प्रदर्शनी समेत समावेश गरिनेछ।
पोखरा महानगरपालिकाका प्रवक्ता एवं वडाध्यक्ष मोतिलाल तिम्सिनाले आलु महोत्सवले पोखरालाई अन्तर्राष्ट्रिय बजारमा चिनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताए। उनले महानगर कृषकलाई प्रोत्साहन गर्न प्रतिबद्ध रहेको पनि उल्लेख गरे।
कृषि प्राविधिक चन्द्रकान्त तिमिल्सीनाले हेमजाको आलु स्वस्थकर रहेको उल्लेख गर्दै आलुलाई ‘तरकारीको राजा’ को संज्ञा दिए।
“सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक” भन्ने नारासहित आयोजना गरिने महोत्सवको लक्ष्य हेमजालाई कृषि क्षेत्रका रूपमा स्थापित गर्नु, कृषकलाई व्यवसायिक कृषि तर्फ आकर्षित गर्नु र कृषि उत्पादनमा टेवा पुर्याउनु रहेको छ।
त्यस्तै आयोजकले क्लब भवन निर्माण, तरकारी सङ्कलन तथा बिक्री वितरण केन्द्र स्थापना र बहुउद्देश्यीय भवन निर्माण सम्पन्न गर्ने उद्देश्य समेत राखेको छ।
हेमजाको कुल १३ हजार ५ सय हेक्टर क्षेत्रफलमध्ये ५ सय ९० हेक्टरमा आलु खेती हुँदै आएको छ। यस खेतीमा करिब २ हजार घरपरिवार संलग्न छन् भने १ हजार ५० कृषकले व्यवसायिक रूपमा आलु उत्पादन गर्दै आएका छन्। यहाँ प्रति रोपनी औसत लागत १८ हजार ५ सय ९७ रुपैयाँ र औसत उत्पादन ७ सय ९ केजी रहेको छ।





सम्बन्धित खवर
















