0Shares

पोखरा, वैशाख २ — हेमजामा जारी राष्ट्रिय आलु महोत्सवमा दर्शक सहभागिता र आलु तथा अन्य कृषि सामग्रीको कारोबार उल्लेखनीय रूपमा बढेको छ। महोत्सवको सातौँ दिन बिहीबारसम्म करिब ७५ हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन् भने ६ हजारभन्दा बढी घरपरिवारले आलु खरिद गरेका छन्।

आलु तथा कृषि उपज व्यवस्थापन उपसमितिका संयोजक अर्जुन काफ्लेका अनुसार प्रति घरपरिवार न्यूनतम १ केजीदेखि अधिकतम २ हजार १ सय केजीसम्म आलु बिक्री भएको छ। महोत्सवमा अन्य व्यापारिक स्टलहरूबाट पनि सामग्री खरिद गर्नेको संख्या दिनप्रतिदिन बढ्दो छ। विशेषगरी घरेलु सामग्रीप्रति आकर्षण बढी देखिएको छ।

महोत्सवमा आलुका परिकारका छुट्टै स्टलसहित कृषि तर्फ ३० र व्यापारिक तर्फ १ सयभन्दा बढी स्टल सञ्चालनमा छन्। कुमाल कृषि तथा पशुपन्छी फार्मका प्रोप्राइटर समेत रहेका जिल्ला समन्वय समिति कास्कीका उपप्रमुख सरिता कुमालका अनुसार स्थानीय अन्नबाली, मासु, चामल, चिउरा लगायतका सामग्रीको राम्रो बिक्री भइरहेको छ।

महोत्सवका आयोजक विष्णुपादुका क्लबका अध्यक्ष वसन्तकुमार श्रेष्ठले बिहीबार साँझसम्म करिब ३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको अनुमान गरिएको बताए। “यो सबैका लागि खुसीको कुरा हो,” उनले भने।

महोत्सवमा पोखरासहित आसपासका अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिका, स्याङ्जा, चितवन, तनहुँ, पर्वत, मुस्ताङ, बाग्लुङ, सुनसरी, रुपन्देही लगायतका जिल्लाबाट आगन्तुकहरू आएका छन्। बिहीबार साँझसम्म करिब ३० लाख रुपैयाँ बराबरको आलु मात्र बिक्री भएको छ। यहाँ आलुको मूल्य प्रतिकिलो ३५ रुपैयाँ निर्धारण गरिएको छ।

हेमजाको आलु स्वादिष्ट, छिटो पक्ने र स्वास्थ्यकर मानिने भएकाले उपभोक्ताको रोजाइमा परेको छ। महोत्सव बाहेक अन्य स्थानबाट पनि यस समयमा आलु तथा कृषि उपजको बिक्री वितरण भइरहेको छ।

महोत्सवमा बिहीबार कलाकारहरू श्याम राना, तारापति सुवेदी, पार्वती जिसी, लक्ष्मी नेपाली, सुरेश थापा, गंगा परियार लगायतले प्रस्तुति दिएका थिए। साथै, विभिन्न आमा समूहहरूले सांस्कृतिक प्रस्तुति तथा रत्यौली प्रतियोगितामा सहभागिता जनाएका थिए।

कन्सर्टतर्फ सम्भोज मल्ल, आस्था लोहनी र सुवास गुरुङ तथा नृत्यतर्फ सोनिया केसी, प्रदीप सुनार, सबनम केसी र जोयल अधिकारीले प्रस्तुति दिएका थिए।

बिहीबार परेको वर्षाले महोत्सवमा केही प्रभाव पारे पनि दर्शकको उत्साह भने कम भएको देखिएन। आयोजकका अनुसार शुक्रबार कलाकार एलिना चौहान, चोलेन्द्र पौडेल, सुरेश रमन अधिकारी, विष्णु ढुंगाना र विनिता क्षेत्री लगायतका प्रस्तुति रहनेछन्।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected