प्राकृतिक उपचार अनुभव: जीवन परिवर्तनतर्फको एक सशक्त यात्रा

सबिता बराल, पोखरा। म, सबिता बराल, पोखराबाट १३ दिनको मेरो बसाइँका क्रममा नवलपरासी जिल्ला रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयमा प्राप्त गरेको सेवा, अनुभव र आत्मिक रूपान्तरणप्रति हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु।
करिब १० बिगाह मनमोहक क्षेत्रफलमा फैलिएको यो चिकित्सालय अत्यन्तै विशाल, हराभरा र शान्त वातावरणमा अवस्थित छ। यहाँको प्राकृतिक परिवेशले शरीर मात्र होइन, मन र आत्मालाई समेत शुद्ध, सन्तुलित र ऊर्जाशील बनाउने अनुभूति प्रदान गर्दछ। यहाँ उपचार पद्धति मुख्यतः आकाश, वायु, अग्नि, जल र पृथ्वी—यी पंचमहाभूत (पंचतत्व) को माध्यमबाट गरिने भएकाले शरीरलाई स्वाभाविक रूपमा पुनर्जीवित गर्न विशेष भूमिका खेल्दछ।

यहाँ प्रदान गरिने आहार पूर्ण रूपमा अर्गानिक, ताजा तथा स्वास्थ्यवर्द्धक हुनुका साथै स्वादमा पनि उत्कृष्ट रहेको पाइयो। “आहार नै औषधि र औषधि नै आहार” भन्ने सिद्धान्तलाई आत्मसात् गरिएको यहाँको भोजन प्रणालीले उपचार प्रक्रियालाई अझ प्रभावकारी बनाएको अनुभूति भयो। हिप्पोक्रेटसले भनेझैँ “Let food be thy medicine and medicine be thy food” भन्ने अवधारणा यहाँ व्यवहारमा देख्न पाइन्छ। जङ्गली जनावरहरू प्रकृतिका नियम पालना गरेर स्वस्थ, सन्तुलित र दीर्घायु हुन्छन् भन्ने सिद्धान्त यहाँ स्पष्ट रूपमा अनुभूत हुन्छ।
सम्पूर्ण कर्मचारीवर्गको व्यवहार अत्यन्तै विनम्र, सहयोगी र सेवामुखी रहेको छ। उनीहरूको आत्मीयता र समर्पणले प्रत्येक सेवाग्राहीलाई घरजस्तै सहजता र अपनत्वको अनुभूति गराउँछ।
यस प्रतिष्ठित चिकित्सालयका संकल्पकर्ता तथा महाप्रबन्धक श्री हरि प्रसाद सापकोटाज्यूको सक्षम, समर्पित र दूरदर्शी नेतृत्वमा यहाँको समग्र वातावरण सकारात्मक, ऊर्जाशील र अनुकरणीय बनेको छ। उहाँको मार्गदर्शनमा चिकित्सालयले समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्दै उत्कृष्ट सेवा प्रदान गरिरहेको छ।
म यहाँ मेरी आमाको उपचारका लागि उहाँको साथमा आएको थिएँ। तर यहाँको शान्त, सकारात्मक तथा उपचारमैत्री वातावरणले प्रभावित भई मैले स्वयं पनि डिटक्स उपचार लिने निर्णय गरें। उपचार पश्चात् मैले आफूलाई अत्यन्तै हलुका, ताजगीपूर्ण, स्वस्थ र ऊर्जावान महसुस गरेकी छु। यो मेरो जीवनकै एक अत्यन्त सन्तोषजनक र रूपान्तरणकारी अनुभव बनेको छ।
यस चिकित्सालयको अर्को महत्वपूर्ण विशेषता भनेको यहाँको सेवा अत्यन्तै सुलभ, किफायती र सबै वर्गका मानिसहरूका लागि पहुँचयोग्य हुनु हो। सेवाग्राहीहरूले आफ्नो आर्थिक क्षमताअनुसार सेवा लिन सक्ने व्यवस्था हुनु अत्यन्त प्रशंसनीय पक्ष हो। एकपटक उपचारमा गरेको लगानीले जीवनभर प्रतिफल दिन सक्छ भन्ने अनुभूति यहाँबाट मैले स्पष्ट रूपमा प्राप्त गरेकी छु।
यहाँ उपचार तीनवटै आयाममा गरिन्छ—उपचारात्मक, प्रतिरोधात्मक र निधानात्मक। यसले शारीरिक, मानसिक र आध्यात्मिक तीनै तहमा सन्तुलन कायम गर्दछ। जीर्ण, जटिल तथा असाध्य रोगहरूमा उपचारात्मक र निधानात्मक विधि प्रभावकारी देखिन्छ भने सामान्य अवस्थाका मानिसहरूका लागि प्रतिरोधात्मक रूपमा ‘सर्भिसिङ सेन्टर’ जस्तै डिटक्सिफिकेशनको रूपमा उपयोग गर्न मिल्ने यसको अर्को विशेषता हो।
“रोग अनेक, उपचार एक” भन्ने मूलभूत सिद्धान्तमा आधारित यस प्रणालीले जीवनशैली सुधार, भान्सा सुधार, के खाने के नखाने, कुन मेलयुक्त र कुन बेमेलयुक्त भोजन भन्ने ज्ञान समेत व्यवहारमा सिकाउँछ। अहिले यसको महत्वलाई बुझेर तीन पुस्ता—नाति, बाउ र हजुरबा—समेत उपचारमा संलग्न देखिनु यसको प्रभावकारिताको स्पष्ट संकेत हो।
प्राकृतिक चिकित्सा र योग जीवनशैलीप्रतिको बढ्दो आकर्षण चिकित्सालयको “नो बेड, नो रुम” अवस्थाबाट प्रष्ट हुन्छ। देशभित्र मात्र नभई विदेशबाट समेत सेवाग्राहीहरू आउनु, अन्य विधाका चिकित्सकहरू समेत यहाँ उपचारमा संलग्न हुनु यस विधाप्रतिको विश्वास र आकर्षणको प्रमाण हो।
सामान्य सेवा शुल्कमा सञ्चालनमा आएको यो परियोजना देख्दा लाग्छ—यदि सबै कर्मचारीहरूमा ट्रस्ट, समर्पण र साझा उद्देश्य हुन सकेमा यस्तो उत्कृष्ट कार्य सम्भव हुँदो रहेछ। यसको व्यवस्थापन प्रणाली स्वयंमा अनुसन्धानको विषय बन्न सक्छ। म सबैलाई एकपटक यो परियोजना अवलोकन (visit) गर्न अनुरोध गर्दछु, जसले व्यवस्थापन सीप विकासमा समेत ठूलो प्रेरणा दिन सक्छ।
एउटा असल संकल्प लिएको व्यक्तिलाई समाजले विश्वास, साथ र सहयोग गर्न सकेमा कस्तो परिवर्तन सम्भव हुन्छ भन्ने ज्वलन्त उदाहरण रजहरबाट सिक्न सकिन्छ। विभिन्न सातथरी रोगको चंगुलबाट बाँचेको एक व्यक्तिले यत्रो कार्य गर्न सक्छ भने हामी त सबल र सक्षम छौँ—हामीका लागि असम्भव के छ र?
समग्रमा, यहाँबाट प्राप्त प्राकृतिक उपचार र सेवा मेरो जीवनका लागि एक विशेष, प्रेरणादायी र स्मरणीय अनुभव बनेको छ। भविष्यमा पुनः यहाँ आउने दृढ इच्छा व्यक्त गर्दछु।
म सम्पूर्णमा अनुरोध गर्दछु—एकपटक स्वयं वा आफ्ना ज्येष्ठ नागरिक परिवारका सदस्यहरूलाई यहाँ ल्याई सेवा लिनुहोस्। यो उनीहरूका लागि अमूल्य उपहार हुनेछ, जसले उनीहरूको स्वास्थ्यमा सकारात्मक परिवर्तन ल्याउँदै जीवनलाई अझ दीर्घ, स्वस्थ र गुणस्तरीय बनाउन सहयोग पुर्याउनेछ।
अन्त्यमा, यस सामुदायिक प्राकृतिक चिकित्सालयले आगामी दिनहरूमा अझ व्यापक रूपमा सेवा विस्तार गर्दै समाजमा स्वास्थ्य प्रवर्द्धनको क्षेत्रमा निरन्तर योगदान पुर्याओस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु। जनचेतना मार्फत रोग लाग्ने कारण, त्यसबाट बच्ने उपाय, जीवनशैली सुधार, भान्सा सुधार तथा स्वस्थ जीवनशैलीसम्बन्धी देशव्यापी अभियानलाई निरन्तरता दिइयोस् भन्ने कामना गर्दछु।
यसै आर्थिक वर्ष ०८३/८४ बाट योग र प्राकृतिक चिकित्सा विधामा अध्ययन/अध्यापन गराउने गरी शिक्षण अस्पताल सञ्चालन गर्ने उद्देश्य सफल होस्। नेपाल सरकारले आरोग्य पर्यटनलाई आर्थिक रूपान्तरणको राष्ट्रिय एजेण्डाका रूपमा अगाडि बढाउँदै “Nepal Wellness Year 2027” मनाउने लक्ष्यमा सामुदायिक प्राकृतिक चिकित्सालय रजहर र नेपाल सरकारबीच सहकार्य अझ सुदृढ होस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु।
धन्यवाद।























