0Shares

पोखरा, असार १८ । पोखराको पर्यटकीय केन्द्र लेकसाइडस्थित टेम्पल बेल बुटिक होटल एण्ड स्पा प्रालिले सञ्चालनको पहिलो वर्ष पूरा गरेको अवसरमा सोमबार विशेष सम्मान कार्यक्रम आयोजना गर्दै होटल निर्माण तथा स्थापनामा योगदान पु¥याउने विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गरेको छ।

पोखराको पर्यटन क्षेत्रमा सन् २००८ देखि सक्रिय चिल्ली ग्रुपको लगानीमा लेकसाइडको स्ट्रिट नं. १७ मा निर्माण गरिएको होटलले आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा निर्माण, व्यवस्थापन, वित्तीय तथा प्राविधिक क्षेत्रमा योगदान पु¥याएका व्यक्तिहरूलाई नगदसहित सम्मान गरेको हो।

होटल निर्माणमा काष्ठ, ढुंगा तथा मेटलसम्बन्धी काम गर्ने लक्ष्मण गदाल, कृष्ण गदाल, मन्जु आलम, विष्णु बिके, जसबहादुर बिके, चन्द्रबहादुर चेपाङ तथा साइड सुपरभाइजर सूर्यबहादुर थापा सम्मानित भए। त्यसैगरी रिजाल कन्स्ट्रक्सनका ओमप्रसाद रिजाल, सुरुवाती चरणमा सहयोग गर्ने गुप्त गिरी, साइड इन्जिनियर रमेश पोखरेल, वित्तीय साझेदार ग्लोबल आईएमई बैंक गण्डकी प्रदेश, चार्टर्ड एकाउन्टेन्ट लक्ष्मण अधिकारी, इन्टेरियर डिजाइनर सुरेश श्रेष्ठ तथा आर्किटेक्चर इन्जिनियर दिलीप पंगेनीलाई पनि सम्मान गरिएको थियो।

कार्यक्रममा वर्षको उत्कृष्ट कामदारका रूपमा दिवस कुमाल पुरस्कृत भए। सम्मानित सबैलाई जनही १० हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो।

गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा होटलका अध्यक्ष विश्वराज पौडेललगायतले सम्मान प्रदान गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि देवकोटाले विश्वभर चेन होटलहरूको विस्तार भए पनि बुटिक होटल पर्यटकमाझ लोकप्रिय बन्दै गएको उल्लेख गरे। पोखरामा तारेस्तरका होटलको संख्या सीमित रहेको अवस्थामा यस्ता बुटिक होटलले गुणस्तरीय पर्यटक भित्र्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

होटल व्यवस्थापनका अनुसार सन् २०२१ डिसेम्बरमा निर्माण सुरु गरिएको टेम्पल बेल बुटिक होटल एण्ड स्पा कोभिड–१९ महामारी तथा विभिन्न प्राविधिक चुनौतीबीच निर्माण सम्पन्न भएको हो। प्रारम्भिक लक्ष्य तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने भए पनि महामारीका कारण निर्माण अवधि करिब साढे तीन वर्ष पुगेको थियो।

करिब साढे दुई रोपनी क्षेत्रफलमा फैलिएको होटलमा जग्गासहित करिब एक अर्ब २५ करोड रुपैयाँ लगानी गरिएको छ। होटलका अध्यक्ष पौडेलका अनुसार सञ्चालनमा आएयता होटलले सन्तोषजनक अकुपेन्सीसहित स्वदेशी तथा विदेशी पर्यटकलाई सेवा प्रदान गर्दै आएको छ।

होटलमा दुई इन्टरकनेक्टेड ब्लकमा ५५ वटा सुसज्जित कोठा रहेका छन्। जसमध्ये ४७ डिलक्स बुटिक, पाँच सुपर डिलक्स, दुई जुनियर स्वीट र एक प्रेसिडेन्सियल स्वीट छन्। साथै दुईवटा ज्याकुजीसहितका स्वीमिङ पुल, सम्मेलन हल, अत्याधुनिक स्पा, ‘याक एण्ड यति’ बार, ‘आंटी’ आलाकार्ट रेस्टुरेन्ट, बेसमेन्ट पार्किङ, आपतकालीन निकास तथा दुईवटा आधुनिक लिफ्टको सुविधा उपलब्ध रहेको होटलले जनाएको छ।

व्यवस्थापनका अनुसार होटल परिसरमा बेकरी, कफी सप, गार्डेन तथा योग हल निर्माणको काम अन्तिम चरणमा पुगेको छ। होटल निर्माणमा स्थानीय ढुंगा, नेपाली काष्ठकला, ढाका, थान्का, झुमर तथा नेपाली चित्रकलाको प्रयोग गरी मौलिक नेपालीपन झल्काउने प्रयास गरिएको छ। कोठा, करिडोर तथा खुला क्षेत्रलाई हरियालीमैत्री र वातावरणअनुकूल ढंगले सजाइएको छ।

होटलका म्यानेजिङ डाइरेक्टर भीष्मराज पौडेलले स्वागत मन्तव्य व्यक्त गर्दै सम्मान कार्यक्रमले भावी पुस्तालाई श्रम, समर्पण र सहकार्यको महत्वबारे सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरे। उनले सकारात्मक सोच, साझा प्रयास र पारदर्शी सहकार्यबाट मात्रै दिगो तथा समृद्ध पर्यटन क्षेत्रको विकास सम्भव हुने उल्लेख गर्दै आगामी दिनमा पनि सबै सरोकारवालाको साथ, सहयोग र रचनात्मक सुझावको अपेक्षा गरे।

कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी तथा सम्मानित व्यक्तित्व जसबहादुर बिकले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन कर्पोरेट म्यानेजर लेखनाथ पहारीले गरेका थिए।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected