
पोखरा, भदौ । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी नदी किनारमा भेटिएका ७८ वटा पहिचान नखुलेका शवको पोखरामा व्यवस्थापन सुरु गरिएको छ।
गोरखा, तनहुँ, धादिङ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाका नदी किनारमा फेला परेका ती शवलाई पोखरा ल्याएर केही समयदेखि शवगृहमा राखिएको थियो। आफन्तको पहिचान र खोजीको प्रतीक्षाबीच ती शव अन्ततः व्यवस्थापन गर्नुपर्ने अवस्थामा पुगेका हुन्।

ती शवमध्ये केहीलाई पोखरा महानगरपालिका–१० रामघाटस्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानर केहीलाई वडा नं. ११ फुलबारीस्थित मणिपाल शिक्षण अस्पतालको शवगृहमा राखिएको थियो।
मंगलबार बिहान ११ बजेदेखि ती शवलाई पोखरा महानगरपालिका–१६, उपल्लो दीपस्थित सिसौघारीमा रहेको सिँचाइको सरकारी जग्गामा व्यवस्थापन गर्न थालिएको हो।

शव व्यवस्थापनका लागि जिल्ला प्रहरी कार्यालय कास्कीले प्रहरी उपरीक्षक नवीन कार्कीको नेतृत्वमा प्रहरी टोली परिचालन गरेको छ। शव व्यवस्थापन भइरहेको सिसौघारी जिल्ला प्रहरी कार्यालय कास्कीबाट करिब ६ किलोमिटर उत्तरतर्फ पर्छ।











