मतदाता भेटघाटमा गौतम प्यानल, ‘आश्वासन होइन, परिणाम’को एजेन्डा

पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन तथा ७२औँ वार्षिक अधिवेशन नजिकिँदै गर्दा अध्यक्ष पदका उम्मेदवार शोभा गौतम नेतृत्वको प्यानलले मतदाता भेटघाटलाई तीव्रता दिएको छ।
भदौ २० र २१ गते हुने महाधिवेशनलाई लक्षित गर्दै प्यानलले उद्योगी–व्यवसायीका समस्या, सुझाव र अपेक्षा बुझ्दै आफ्नो चुनावी एजेन्डा प्रस्तुत गरिरहेको छ। प्यानलले ‘आश्वासन होइन, परिणाम’लाई मुख्य नाराका रूपमा अघि सारेको छ।
अध्यक्ष पदका उम्मेदवार गौतमले संघमा आफूले निर्वाह गरेका जिम्मेवारीलाई पदका रूपमा नभई सेवाको अवसरका रूपमा लिएको बताउँदै अब नेतृत्वको जिम्मेवारी पाए उद्योगी–व्यवसायीका समस्या समाधानमा परिणाममुखी ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
गौतमले २६ वर्षअघि संघकै अगाडि रहेको सानो चियापसलबाट आफ्नो व्यवसायिक यात्रा सुरु गरेको स्मरण गर्दै संघर्ष र चुनौती पार गर्दै अध्यक्ष पदको उम्मेदवारसम्म आइपुगेको बताइन्। २६ वर्षको व्यवसायिक अनुभवसँगै संघभित्र प्राप्त संस्थागत अनुभवलाई आधार बनाएर आफू नेतृत्वको प्रतिस्पर्धामा आएको उनको भनाइ छ।
उनले महिला व्यवसायीका समस्या र आवाजलाई समेत प्राथमिकताका साथ उठाउने बताएकी छन्।

वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार टीकाराम सुवेदीले संघको कार्यसमितिमा दुई कार्यकाल काम गरेको अनुभवलाई नेतृत्वमा उपयोग गर्ने बताए। माछापुच्छ्रे ट्रेड लिंक एण्ड सप्लायर्सका सञ्चालकसमेत रहेका सुवेदीले पोखरा पर्यटनको राजधानी घोषणा भइसकेको अवस्थामा गुणस्तरीय पर्यटन प्रवर्द्धनमा संघले प्रभावकारी भूमिका खेल्नुपर्ने बताए।
कृषि र पर्यटनलाई एकीकृत रूपमा अघि बढाउन सके पोखराको आर्थिक समृद्धिको आधार बलियो बन्ने उनको धारणा छ। संघको संस्थागत साख जोगाउँदै एकताबद्ध भएर काम गर्ने प्रतिबद्धता उनले जनाए।
उद्योग उपाध्यक्ष पदका उम्मेदवार सौगात थापाले युवा व्यवसायीको आवाज संघको नेतृत्व र निर्णय प्रक्रियासम्म पुर्याउन आफ्नो उम्मेदवारी रहेको बताए। अंशुभरा ग्रुपका प्रबन्ध निर्देशक थापा बैगचा वेलनेस रिसोर्ट र पोखरा ट्रेडमलको व्यवस्थापनमा समेत संलग्न छन्।
व्यवसाय सञ्चालनका क्रममा व्यवसायीले भोग्ने समस्या र चुनौतीलाई नजिकबाट अनुभव गरेको बताउँदै थापाले युवालाई व्यवसायमा आकर्षित गर्नुका साथै नेतृत्व र नीति निर्माणमा समेत सहभागी गराउनुपर्ने बताए।
“आजको युवा रोजगारी खोज्ने मात्र होइन, रोजगारी सिर्जना गर्ने क्षमता राख्छ,” उनले भने। प्रविधिको प्रयोग, नयाँ व्यवसाय र नयाँ बजार खोज्ने युवाको क्षमतालाई संघले अवसरका रूपमा लिनुपर्ने उनको भनाइ छ।
वाणिज्य उपाध्यक्ष पदका उम्मेदवार भीम गौतमले व्यवसायीको अप्ठ्यारोमा निरन्तर साथ दिने बताए। युनिक लेडिज फेसनका सञ्चालक गौतमले घरबेटीका कारण समस्यामा परेका व्यवसायीको आवाज उठाउनुका साथै साना तथा मझौला व्यवसायीको हकहितका लागि काम गर्ने बताए।
वर्तमान कार्यसमितिमा रहेर प्राप्त अनुभवलाई आगामी कार्यकालमा उपयोग गर्ने उनको भनाइ छ।
महासचिव पदका उम्मेदवार तारानाथ ढुंगानाले व्यवसायलाई व्यक्तिगत पेसाका रूपमा मात्र नभई रोजगारी, राजस्व, परिवारको भविष्य र समग्र अर्थतन्त्रसँग जोडिएको क्षेत्रका रूपमा बुझ्नुपर्ने बताए।
तारा सुमन सप्लायर्सका सञ्चालक ढुंगानाले व्यवसायीका समस्या साझा भएकाले समाधानका लागि सम्बन्धित निकायसँग समन्वय र पहल गर्ने बताए। महासचिवको जिम्मेवारी व्यवसायीको आवाज सम्बन्धित निकायसम्म प्रभावकारी रूपमा पुर्याउने महत्वपूर्ण भूमिका भएको उनको भनाइ छ।
कोषाध्यक्ष पदका उम्मेदवार जीवन प्रकाश श्रेष्ठले संघको आर्थिक गतिविधिलाई चलायमान बनाउँदै आर्थिक कारोबारलाई पारदर्शी बनाउने प्रतिबद्धता व्यक्त गरे। जीवन सोफा कभर एण्ड डेकोरेशन सिस्टमका सञ्चालक श्रेष्ठ यसअघि खुला सदस्यमा निर्वाचित भएर काम गरिसकेका छन्।
उपमहासचिव पदका उम्मेदवार यादवप्रसाद पोखरेलले युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्ने नीति तथा कार्यक्रमलाई प्राथमिकता दिने बताए। नविन फेन्सी स्टोर्सका सञ्चालक पोखरेलले सीप, प्रविधि, लगानी र बजारलाई उद्यमशीलतासँग जोडेर अघि बढ्नुपर्ने बताए।
व्यवसायीका समस्या समाधानका लागि सरकारी निकायसँग साझेदारी र समन्वय गर्ने तथा बैंकबाट सहुलियतपूर्ण ऋणको व्यवस्था गर्न पहल गर्ने उनले बताए।
गौतम नेतृत्वको प्यानलले उद्योगी–व्यवसायीका समस्या समाधान, युवा तथा नयाँ पुस्तालाई व्यवसायमा जोड्ने, संघको संस्थागत साख र आर्थिक पारदर्शिता कायम गर्ने तथा पोखराको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका थप बलियो बनाउने विषयलाई प्राथमिकतामा राखेको जनाएको छ।
महाधिवेशन नजिकिँदै जाँदा प्यानलले मतदाता भेटघाटलाई तीव्र बनाउँदै आफ्नो एजेन्डा र उम्मेदवारबारे व्यवसायीलाई जानकारी गराइरहेको छ। प्यानलले अनुभव, नयाँ ऊर्जा र परिणाममुखी कार्यलाई आफ्नो मुख्य आधारका रूपमा प्रस्तुत गर्दै मतदातासँग समर्थन मागिरहेको छ।








