0Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहासमा कसैले कल्पना नगरेको काम अहिलेको सरकारले गरेको दाबी गर्नुभएको छ ।

१३०औं मजदुर दिवसको अवसरमा संयुक्त ट्रेड युनियन संघले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले विगतका सरकारले कल्पना नगरेको काम भएको बताउनुभएको हो । उहाँले मुलुक नयाँ प्रणालीमा गएकाले केही समस्या भएको बताउनुभयो । सरकारले राम्रो काम गर्न थालेपछि राजपाले समर्थन फिर्ता लिएको आरोप लगाउदै प्रधानमन्त्री ओलीले समर्थन फिर्ता गर्ने नभई समर्थन गर्न आग्रह गर्नुभयो ।  प्रधानमन्त्री ओलीले रोजगारदाता र श्रमिकको सहमतिमै ल्याइएको न्यूनतम तलब र सामाजिक सुरक्षालाई व्यवहारमै लागु गराउन सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो । सरकारले रोजगारको ग्यारेन्टी गरेको भन्दै उहाले वर्षमा सय दिनको रोजगार ग्यारेन्टी गरेको स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले नेपाल औद्योगिक शान्तिको लागि विश्वमै नमुनाको देशको रुपमा अगाडि बढिरहेको दाबी गर्नुभयो ।

त्यस्तै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसपटक श्रमिकमैत्री बजेट ल्याईने बताउनुभयो । उहाँले बिगतको कमी र समीक्षा गर्दै सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउने पनि स्पष्ट पार्नुभयो । अध्यक्ष प्रचण्डले चुनावका बेला पार्टीले गरेको प्रतिवद्धता पनि सरकारले क्रमश पुरा गर्दै जाने धारणा राख्नुभयो ।

कार्यक्रममा कांग्रेसका उपसभापति विमलेन्द्र निधिले विपक्षीलाई देखाएर प्रधानमन्त्रीले बालुवाटार प्रकरणमा आफ्ना मान्छे जोगाउन लागिपरेको आरोप लगाउनुभयो । निधिले विशेष गरेर योगदानमा आधारित सामाजिक सुरक्षा कोष कांग्रेस नेतृत्वको सरकारले ल्याएको तर प्रधानमन्त्री केपी ओलीले वर्तमान सरकारले सुुरु गरेको भनेर झुठो प्रचार गरेको बताउनुभयो ।

त्यस्तै राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महत्तोले ‘सुखी नेपाली समृद्ध नेपाल’ नारा लगाएर मात्रै देश समृद्ध नहुने बताउनुभयो । महतोले नेपाली श्रमिकले विदेश बनाइरहँदा देश भने विकास हुन नसकेको धारणा पनि राख्नुभयो । कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले एक वर्षमा सरकारले एक लाख पचार हजार रोजगारी सिर्जना गर्ने दाबी गर्नुभयो । मजदुर नेताहरुले सरकारले तोकेको न्यूनतम् पारिश्रमिक कार्यान्वयन गर्न तत्काल ट्रेड युनियन ऐन परिमार्जन गर्नुपर्नेलगायतका माग गरेका थिए । कार्यक्रममा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका पूर्वअध्यक्षहरु मुकुन्द न्यौपाने, खिलानाथ दाहाल, विष्णु रिमाल र शालिकराम जमरकट्टेललाई सम्मान गरिएको थियो ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected