0Shares

२५६३ वर्ष पहिला कपिलवस्तु तिलौराकोट राज्यबाट माइती देवदह जाने क्रममा आमा मायादेवीको कोखबाट लुम्बिनी भन्ने ठाउँमा सर्वार्थसिद्धको जन्मभएको थियो । जन्मेको सात दिनमै आमा गुमाएपश्चात सौतेनी आमाको स्याहार–सुसारमा हुर्किएका ‘सर्वार्थसिद्ध’ पछि एशियाको ज्योतिको रुपमा संसारभर चिचिन पुगे । न्वारनको समयमा १०८ ब्राम्हणद्वारा बालकको नामाकरण गर्ने कार्य गरिदा, सबै मनोभावनाले पूर्ण गर्ने भन्ने अर्थमा उपस्थित ब्राम्हणहरुले उनको नाम ‘सर्वार्थसिद्ध’ राखे । ‘सर्वार्थसिद्ध’ कै छोटकरी नाम सिदार्थबाट उनी चिनिन पुगे । राज्यमा घटिरहेको घटनाक्रमले आक्रान्त र वैराग्य भई २९ वर्षको उमेरमा एक दिन रातको समयमा आफ्नो राज्य, जीवन संगीनी र छोरा राहुललाई छोडि बुध अर्थात ज्ञानको खोजीमा निस्किए ।

लामो समयसम्मको खोज र तपश्याबाट सर्वार्थसिद्धले बुद्धत्व प्राप्त गरी गौतम बुद्धको रुपमा सर्वत्र चुलिन पुगे । मानव जीवनको अति महत्वपूर्ण पक्षहरुलाई केलाएर ज्ञानको प्रचारप्रशार गरे । उनले प्रचार गरेका ८२ हजार सुत्रहरु र उनका शिष्यहरुका २ हजार सुत्रहरु समेटेर श्रीलंकाका राजा पट्टगामीनिले संग्रहित ग्रन्थ प्रकाशन गरे जसलाई त्रिपिटक भनि चिनिन्छ । राजकाजमा व्यस्त भइरहेका शुद्धोदन अन्ततः जीवनको उर्तरार्धमा बुद्धको चेला बन्न पुगेका थिए । बौद्ध दर्शनबाट प्रभावित भई चन्द्रगुप्त मौर्यका नाती सम्राट अशोकले आफ्नो सम्पूर्ण अस्त्र त्याग गरी राज्यरोहणको बीसौं वर्षमा बुद्धको जन्मस्थल आएका थिए । सम्राट अशोकले आफ्ना छोरीहरुसहित २ सय जनालाई बौद्ध दर्शनको प्रचारप्रशार गर्न लगाए । सम्राट अशोकले अस्त्र परित्याग गरेको दशमी तिथीको दिन परेको हुँदा बौद्धमार्गी नेवार समूदायले अहिले पनि बडा दशैंको दशमीको रात सजाइएको खड्ग झिकि, खड्ग जात्रा गरी अस्त्र–आयुधलाई सम्मानसहित पुजा गरी बिसाउने चलन छ । यस्तो विविधता र विशेषताका कारण गौतम बुद्ध नेपालको राष्ट्रिय विभूतिको रुपमा सम्मानित छन् ।

बौद्ध दर्शनका प्रर्वतक गौतम बुद्धको (मृत्यु) महानिर्वाणपछि उनको नामबाट प्रचलनमा ल्याइएको संवतलाई बौद्ध संवत्/कालमान भनिन्छ । बौद्ध कालमानको प्रयोग चान्द्र–सौरमान अनुसार चलेको छ । विश्वमा चलेका विभिन्न संवतहरु सरह यो संवतले पनि उत्तिकै मान्यता पाएको छ । वैवाहिक सम्बन्धमा भएको उचनिचको कारण राजा विरुढकको मनभित्र पलाएको बदलाको भावले शाक्य वंश र राज्यको विध्वम्स भएको थियो । विध्वम्स भएको लुम्बिनी, जंगलमा परिणत भएपछि सयौं वर्षपश्चात सोही जंगलमा सम्राट अशोकको स्तम्भ जसलाई वनदेवी भनि पुजा गरिरहेको राणाकालिन पाल्पा गौंडाका बडा हाकिम खड्ग शमशेरले पत्ता लगाए । यस स्थानमा खनीखोस्री गरी हेर्दा अशोक स्तम्भ भेटियो । जुन स्तम्भलाई हात्तिद्वारा उखेल्ने प्रयत्न पनि गरियो । तर, स्तम्भ उखेलिएन । पाल्पाका बडाहाकिम खड्ग शमशेरले सामान्य उत्खनन् गरे । पछि भारतको पुरातत्ववीद् डा. फुहरर सन् १८९६ डिसेम्बर १ मा त्यहाँ पुगे । खड्ग शमशेर पनि सँगै थिए । डा. फुहररले उक्त ठाउँको ढुंगाको खम्बा अशोक स्तम्भ भएको र यसमा लेखिएको आधारमा बुद्धको जन्मस्थल भएको भन्ने पक्का गरे । डा. फुहरर र भारतीय पुरातत्ववीद् पी.सी. मुखर्जीको नेतृत्वमा वि.सं. १९५५/०५६ मा उत्खनन् गरिदा प्राचीन भवनका अवशेष, पर्खाल, पोखरी, मन्दिर, विहार आदि फेला पर्यो । संयुक्त राष्ट्रसंघका महासचिव उथान्त वि.सं. २०२४ सालमा नेपाल भ्रमणमा आएपछि लुम्बिनीलाई तीर्थस्थल र पर्यटकीय स्थलको रुपमा अगाडि लाने प्रस्ताव पेश गरे । वि.सं. २०२७ मा नेपालको संयोजकत्वमा १३ राष्ट्रहरुको प्रतिनिधि रहने गरी लुम्बिनी विकास समिति गठन भयो । लुम्बिनी क्षेत्रको वैज्ञानिक उत्खनन् कार्यको सुरुवात भयो । राष्ट्रसंघबाट विश्वविख्यात जापानी बस्तुकार प्रो. केन्जो टान्गेलाई लुम्बिनी गुरुयोजना डिजाइन गर्न लगाइयो । याे गुरूयाेजना र स्तम्भकै कारण यस क्षेत्रको विस्तारै चर्चा हुन थाल्यो र लुम्बिनी विकासको लागि नयाँ नयाँ योजनाहरु अघि बढ्न थाले । लुम्बिनीको विकासमा चीन, जापान, पाकिस्तान, भारत, सिंगापुर, मलेसिया, बर्मा, अफगानिस्तान, बंगलादेश, भुटान, कोरिया, म्यानमार, श्रीलंका, थाइल्याण्ड, लाओस, भियतनामलगायतका देशहरु सक्रिय छन् । ति देशहरुले बौद्ध संवत् र दर्शनको प्रचारप्रशार गर्दै आइरहेका छन् ।

राजा त्रिभुवनले वि.सं. २००६ सालबाट बुद्ध जयन्तीको राष्ट्रिय स्तरमा परम्परा सुरु गर्नु अगाडि बौद्ध मार्गीहरुले आ–आफ्ना घर, विहार, गुम्बालगायतका स्थानहरुमा यो उत्सव मनाउँने गर्दथे । सन् ४०३ तिर चिनियाँ यात्री फाहियान र सन् ६३६ तिर हुयाङचाङले लुम्बिनीको भ्रमण गरि यस क्षेत्रको बारेमा आफ्नो यात्रा बृतान्तमा उल्लेख गरेका छन् । बुद्धको जन्मथलो लुम्बिनी, मावला देवदह रुपन्देही, ससुराली कोलिय ग्राम देवदह रुपन्देही, प्राचीन ग्रन्थमा बर्णन, मूर्त अमूत सास्कृतिक वैभवलाई नियाल्दा बुद्ध नेपालकै हुन् सबैलाई चेतना भया ।

प्रस्तुति : रविन्द्र रिजाल

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected