वित्तीय संस्थामा कर्जाको जोखिम घटाउने सुत्र “पैसा”
वि.सं. १९९४ सालमा नेपाल बैंक लि.को स्थापनासँगै औपचारीक रुपमा शुरु भएको नेपालको बैकिङ्ग क्षेत्र तीसको दशकसम्म पनि नियन्त्रणात्मक प्रणाली कायम रही बैंक वित्तीय संस्थाको संख्या, यिनीहरुले समेटेको क्षेत्र र कारोबारको मात्रा सीमित रुपमा रहेको पाइन्छ । चालिसको दशकको पूर्वाद्र्धदेखि मात्र नीजि क्षेत्रमा बैंक वित्तीय संस्थाहरुको संख्यामा क्रमिक विस्तारका साथै प्रतिस्पर्धात्मक व्यवस्थाको सुरुवात भएको देखिन्छ । वर्तमान अवस्थासम्म आइपुग्दा बैंक वित्तीय संस्थाहरुको संख्या तथा यिनीहरुले समेटेको क्षेत्र र कारोबारको मात्रामा उल्लेख्य वृद्धी भएको देखिन्छ ।
नेपाल राष्ट्र बैैकको तथ्याँक अनुसार २०७७ आषाढ मसान्तसम्म देशमा २७ बाणिज्य बैंक, २० विकास बैंक, २२ वित्त कंम्पनी, ८५ लघुवित्तीय संस्था र एक पूर्वाधार विकास बंैक गरि कुल १५५ वटा बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनमा रहेका छन् । त्यस्तैगरि २०७७ ज्येष्ठ मसान्त सम्ममा बैक वित्तीय संस्थाले रु.३६६६ अर्ब ६२ करोड निक्षेप परिचालन गर्दै रु ३१७२ अर्ब ९८ करोड कर्जा लगानी गरिसकेका छन् ।
सामान्य अर्थमा बैैक वित्तीय संस्थाको प्रसङग आउँदा यिनीहरुले गर्ने मुख्य काम भनेको पैसा लिने र दिनेलाई मानिन्छ । किनभने ग्राहकबाट निक्षेपको रुपमा बैंकले पैसा लिन्छ । कर्जाको रुपमा आवश्यक ग्राहकलाई पैसा दिन्छ । ग्राहकबाट लिएको पैसामा निश्चित प्रकारको ब्याज दिन्छ । ग्राहकलाई दिएको पैसाबाट निश्चित प्रकारको ब्याज प्राप्त गर्दछ । यही लिने दिने ब्याजको अन्तरबाट नै बैैक वित्तीय संस्थाको नाफा नोक्सानको हिसाव किताव हुन्छ । पैसा लिने क्रममा केही विशिष्ट किसिमका जोखिमहरु हुन सक्छन् जसलाई नियमाकीय निकायबाट प्राप्त निर्दिष्ट मार्गनिर्देशन अनुरुप सानै प्रयासले पनि निराकरण गर्न सकिने हुन सक्छ । तर, पैसा दिने क्रममा भने धेरै किसिमका जोखिमहरु समावेश हुन सक्छन जसलाई निराकरण गर्न नियमाकीय निकायबाट प्राप्त निर्देशन एवं मार्गदर्शनले मात्र नपुगेर अन्य विभिन्न तरिका अपनाउनु पर्ने हुन सक्छ । पैसा दिने काम अत्यन्त जोखिमपूर्ण हुने भएकोले बैैक वित्तीय संस्थाले आ–आफ्नो तरिकाबाट जोखिम निराकरणका विभिन्न उपाय अवलम्बन गरेका हुन्छन् । आ–आफ्नो अनुभव एवं अभ्यास अनुसार अपनाइने उपाय एवं विधिमा एकरुपता नहुन पनि सक्द्छ । जस्ले जस्तो सुकै तरिका एवं विधि अपनाए पनि सबैको उद्देश्य भनेको पैसा दिनुभन्दा अगाडि र पछाडि आइपर्ने जोखिमकोे उचित व्यवस्थापन गर्न सकिन्छ कि सकिदैन भनेर विश्लेषण गर्ने नै हो ।
बैंक वित्तीय संस्थाको वित्तीय विवरणलाई नियालेर हेर्ने हो भने आम्दानीको प्रमुख श्रोतको रुपमा कर्जा लगानीको व्याजले ओगटेको पाइन्छ । कर्जा लगानी गर्ने भनेको पूर्व निर्धारित शर्त अनुसार आवश्यक परेका ग्राहकलाई पैसा÷रुपैंया दिनु हो । पैसा÷रुपैंया भनेको हाम्रो देश नेपालको मुद्राको नाम हो । जसलाई रोमन अंग्रेजी शव्दमा परिवर्तन गर्दा पिएआईएसए अर्थात पैसा बन्दछ । बैंक वित्तीय संस्थामा पैसा÷रुपैंयाको कारोवार हुने भएको र कर्जा जोखिम न्यूनिकरणको लागि अपनाउन सकिने कुनै विधि पैसाकै नामबाट भएको खण्डमा संझन र प्रयोग गर्न पनि सजिलो हुने हेतुले पैसा विधिको नामाकरण एवं विश्लेषण गर्न खोजिएको छ । यस पैसा विधिमा बैंक वित्तीय संस्थाले कर्जा लगानी गर्ने क्रममा जोखिम व्यवस्थापनको लागि मुख्यतया के के कुराहरुमा सावधानी अपनाउनु पर्ने हुन सक्छ भन्ने पाँचवटा मूख्य तत्वहरुलाई मध्य नजर गर्दै शव्दको चयन एवं यसमा समावेश भएका पाँच अक्षरहरुको अर्थ तथा विश्लेषण गर्न खोजिएको छ ।
कर्जा लगानी गर्ने क्रममा विविध किसिमका सावधानीहरु अपनाउनुपर्ने हुन सक्छ ती मध्ये मूख्यरुपमा अपनाउनुपर्ने पाँचवटा सावधानीका तत्वहरुहरुको संयोजनलाई समेटेर पैसा विधिको नामाकरण गरिएको छ । पैसामा भएको पहिलो अक्षर पि बाट पर्पज अफ फण्ड अर्थात के उद्देश्य प्राप्तिका लागि ग्राहकले पैसा माग गरेको हो कर्जाको उपयोग कसरी हुन्छ कर्जा सदुपयोगिताको बारेमा बुझेर मात्र कर्जा प्रस्ताव स्वीकार गर्नुपर्दछ भन्ने विषयलाई महत्वपूर्ण तत्वको रुपमा स्वीकार गरिएको छ । दोश्रो अक्षर एबाट एक्युन्टेन्स वीथ द कस्टुमर्स अर्थात ग्राहकसँगको चिनजानको माध्यम वा श्रोत के हो ग्राहकको बारेमा राम्रोसंग जानकार भएर मात्र कर्जा प्रस्तावको प्रक्रिया शुरु हुनुपर्दछ भन्ने एक महत्वपूर्ण सावधानीलाई समावेश गरिएको छ । तेश्रो अक्षर आईबाट इन्कम सोर्स फर लोन रिपेमेन्ट अर्थात पैसा लगिसकेपछि ब्याज तथा साँवा कुन श्रोतबाट तिर्न सक्ने हो, ग्राहकको आम्दानीको श्रोत के हो यस विषयमा उचित सावधानी अपनाउनु पर्दछ भन्ने महत्वपूर्ण तत्वलाई समावेश गरिएको छ । चौँथो अक्षर एसबाट सेभिङ्ग फरम इन्कम एण्ड ट्र्यान्ज्याँक्सन क्यासफ्लो अर्थात ग्राहकको आम्दानी भए अनुसार बचतको स्थीति के कस्तो छ र नगद परिचालनको अवस्था के कस्तो छ यसका साथै बैंक तथा वित्तीय संस्थामा खाता सञ्चालनको अवस्था के कस्तो छ सो सम्बन्धमा उपयुक्त जानकारी हुनुपर्छ भन्ने अर्को एक महत्वपूर्ण सावधानीको तत्वलाई समावेश गरिएको छ । अन्त्यमा, पाँचौ अक्षर एबाट एसेस्ट्स अफर फर सेक्युरिटी एण्ड कोल्याटरल अर्थात पैसा लगिसकेपछि कथम कदाचित ग्राहकले ब्याज तथा साँवा तिर्न नसकेको अवस्थामा पनि बैैक वित्तीय संस्थालाई हानी नोक्सानीबाट जोगाउन के कस्तो सम्पत्तीलाई धितोको रुपमा स्वीकार गर्ने भन्ने विषय अत्यन्त महत्वपूर्ण सावधानीको तत्वमा पर्दछ त्यसै विषयलाई यस विधिमा पनि समावेश गरिएको छ ।
बैंक वित्तीय संस्थामा विभिन्न किसिमका ग्राहकबाट विविध किसिमका कर्जा प्रस्ताव आएको हुन सक्छ । ग्राहकको आवश्यकता अनुसार कर्जाको प्रकृतिमा विविधता भएसँगै जोखिकको प्रकृति पनि पृथक पृथक हुन सक्छ । कर्जाको प्रकृति अनुसार विभिन्न दृष्टिकोणबाट यसको विश्लेषण गर्नुपर्ने हुन सक्छ तथापी न्यूनतम रुपमा पैसा विधिको पाँचवटा तत्वलाई मनन गरेर विश्लेषण गर्न सकियो भने उल्लेख्य रुपमा जोखिमलाई निराकरण गर्न सकिने देखिन्छ । यस विधिमा समावेश भएको पहिलो अक्षर पि अनुसार ग्राहकले पैसा के प्रयोजनको लािग माग गरेको हो, ग्राहक स्वंयलाई साँच्चिकै रुपमा कर्जा आवश्यक हो वा होइन, उसको आवश्यकतालाई परिपूर्ति गर्न कानुनी तथा नियमाकीय निकायको मार्ग निर्देशनले वाधा पर्छ कि पर्दैन भन्ने कुराको ख्याल राख्नुपर्ने विषयलाई स्मरण गराउँदछ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ (बाफिया) को परिच्छेद ८, दफा ५५ अनुसार पनि बैैक तथा वित्तीय संस्थाले प्रयोजन खुलाएर मात्र कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरेको छ । देशको विद्यमान नियम कानुन तथा नियमाकीय निकायको निर्देशन अन्तर्गत रहेर बैैक तथा वित्तीय संस्थाले आफ्नो कर्जा लगानी नीतिको निर्माण गरेका हुन्छन । उक्त नीतिमा पनि कर्जा सदुपयोगिताको विषय निर्देशित गरेको हुन सक्छ । कस्तो खालको ग्राहकबाट कस्तो प्रकारको कर्जाको माग भइरहेको छ । बैैक तथा वित्तीय संस्था समक्ष उक्त प्रस्ताव के कसरी आइपुगेको छ । ग्राहकको चरित्र एवं छवि, व्यापार÷व्यवसायको वस्तुस्थीति पहिचान गर्ने आधार के के हुन भन्ने कुराले कर्जा जोखिम न्युनिकरणमा महत्वपूर्ण भुमिका खेल्न सक्छ । यस विषयमा नजर अन्दाज गर्नु हुँदैन भन्ने महत्वपूण सावधानीको स्मरण पैसा विधिको दोश्रो अक्षर ए अनुसार गर्न सकिन्छ । ग्राहकको विषयमा पूर्णरुपमा पहिचान गर्न सकिएको खण्डमा भविष्यमा आइपर्ने जोखिमलाइ न्यूनिकरण गर्न सकिने हुन्छ ।
त्यस्तै गरि कर्जाको साँवा तथा ब्याज तिर्नको लागि के कस्तो आम्दानीको श्रोतलाई आधार बनाइएको छ । कर्जा अवधिभर उक्त आय श्रोतबाट आम्दानी हुनसक्छ कि सक्दैन भन्ने विषय एकिन गर्न सकिएन भने कर्जा लगानी खराव हुन पनि सक्छ । कर्जाको प्रकृति अनुसार आम्दानीको श्रोत पनि फरक फरक हुन सक्दछ । जस्तो कि व्यक्तिगत कर्जाको लागि एकाघर परिवारका सदस्यको जागिरको तलव भत्ता, घरभाडा, व्यापार व्यवसायको नाफा लगायत अन्य विविध किसिमका श्रोतहरुलाई आधार बनाइएको हुन सक्छ । उद्योग व्यवसायको हकमा उक्त उद्योग व्यवसायबाट के कति कारोवार हुने हो नाफा नोक्सानको प्रक्षेपण कस्तो छ नगदको प्रवाहको प्रक्षेपण कस्तो छ त्यस क्षेत्रमा ग्राहकको अनुभव के कति छ यस्ता विषय हेर्नुपर्ने हुन सक्छ । एउटै प्रकृतिको कर्जामा पनि समान किसिमको आम्दानीको श्रोत नहुन सक्छ । ग्राहकबाट भनिएको आम्दानीको श्रोत कत्तिको भरपर्दो हो र भविश्यमा पनि यसको निरन्तरता के हुने हो यस्ता विषयमा सुनिश्चितता गर्नुृपर्ने हुन्छ । यस्तो विषय कर्जा जोखिम न्यूनिकरणको लागि अपनाउनु पर्ने एक महत्वपूर्ण सावधानीको तत्व हो जसलाई पैसा विधिको तेश्रो अक्षर आई ले स्मरण गराउँद्छ । साथसाथै आम्दानी गरे अनुरुप बचत भइरहेको छ कि छैन नगदको प्रवाह के कस्तो छ भन्ने विषय पनि अर्को महत्वपूर्ण सावधानीको तत्व हो । आम्दानी गरे अनुसार बचत नै नभएको खण्डमा भोलिको दिनमा साँवा तथा ब्याज तिर्न ग्राहक असमर्थ हुन सक्दछ । यस विषयको आँकलन गर्नको लागि पैसा विधिको चौँथो अक्षर एस ले स्मरण गराउँद्छ ।
राम्रो समयमा त यसैपनि राम्रो हुने नै भयो । यदि खराव समय आयो भने पनि कर्जा नोक्सानीलाई न्यूनिकरण गर्न पर्याप्त चल अचल सम्पत्ती सुरक्षणको रुपमा प्राप्त हुन्छ वा हुँदैन भन्ने विषय कर्जा जोखिम न्यूनिकरणको अत्यन्त महत्वपूर्ण सावधानीको तत्व हुन आँउछ । धितो हेरेर कर्जा दिने भन्ने विषय त झन नेपालको बैंकिङ्ग प्रणालीमा एक अभिन्न अंगको रुपमा लिदै आएको देखिन्छ । जसलाई पैसा विधिको अन्तिम अक्षर ए को अर्थ लगाएर एक महत्वपूर्ण तत्वको रुपमा स्वीकार गरिएको छ । व्यक्तिगत कर्जाहरुको हकमा बैंक वित्तीय संस्थाले ग्राहकबाट अचल एवं स्थीर सम्मत्तीलाई धितोको रुपमा स्वीकार गर्ने गर्दछन् भने व्यापार व्यवसायको हकमा चल अचल एवं स्थीर संम्पत्ती दुवैलाई धितोको रुपमा स्वीकार गर्ने गरेको देख्न सकिन्छ । संक्षेपमा भन्नुपर्दा कर्जा जोखिम न्यूनिकरण गर्न अवलम्बन गर्नुपर्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय अभ्यास र उपायहरु धेरै भन्दा धेरै हुन सक्छन । जसलाई पैसा विधिले प्रतिस्थापन गर्न सक्छ भन्ने कदापी होइन तर यसमा उल्लेख गरिएको पाँच महत्वपूर्ण तत्वको उचित विश्लेषण गर्न सकियो भने एक हदसम्म कर्जा जोखिम न्यूनिकरणमा मद्दत पुग्ने देखिन्छ ।
कर्जा लगानीको आकार तथा गुणस्तरले कुनै पनि बैैक तथा वित्तीय संस्थाको नाफामा प्रत्यक्ष असर पारिरहेको हुन्छ । गुणस्तरयुक्त कर्जा लगानी बढिरहेको अवस्थामा त्यसबाट नियमित आर्जित व्याजका कारण त्यस बैैक तथा वित्तीय संस्थाको नाफामा उल्लेख्य वृद्दि हुँदै जाने गर्दछ । तर कर्जा लगानीको आकार ठुलै भएको अवस्थामा त्यसबाट आर्जित व्याज समयमा नै असुल हुन नसकी कर्जा नियमित हुन नसकेको अवस्थामा भने नाफामा उल्लेख्य गिरावट आउने गर्दछ ।
यसर्थ बैंक तथा वित्तीय संस्थाले आफ्नो कर्जा लगानीको गुणस्तरलाई उच्च कायम राख्दै एवं कर्जामा अन्तरनिहित जोखिमलाई न्यूनिकरण गर्दै नाफा कमाउनुपर्ने हुन्छ । कर्जा लगानी भनेको सदैव जोखिमपूर्ण काम हो । किनभने, कर्जा लगानी भइसके पश्चात नियमित रुपमा व्याज आँउछ की आँउदैन, भनेको समयमा साँवा भुक्तानी हुन्छ की हँदैन भन्ने अनिश्चितता सदैव कायम हुन्छ । अनिश्चितताका बावजुद बैंक तथा वित्तीय संस्थाले कर्जा लगानी गर्नुपर्ने हुन्छ । किनकी तिनीहरुको नाफा एवं सक्षमता त्यसैसँग जोडिएको हुन्छ । तसर्थ कर्जाको जोखिम व्यवस्थापन उपयुक्त तरिकाले गरी बैंकको गुणस्तरीय कर्जा लगानी बढाई दिर्घकालिन रुपमा बैंकको अवस्था सबल बनाउनु नै बैंक तथा वित्तीय संस्थाको आजको टडकारो आवश्यकता हो जसलाई पैसा विधिमा संक्षेपमा समेट्ने प्रयास गरिएको छ ।