0Shares

काठमाडौँ, १९ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो, खोप सम्बन्धी सुखद् समाचारबाट हामी प्रोत्साहित हुँदै गर्दा सबैका लागि खोपको उपलब्धताको विषय ठूलो अनिश्चितताको रुपमा देखापरेको छ भन्दै धनी र गरीब सबैका लागि खोपको पहुँच सुनिश्चित गर्नमा कोभाक्सले गरेको पहलकदमीको हामी सराहना गर्दछौं भन्नुभएको छ । उहाँले खोपको विश्वव्यापी पहुँच सुनिश्चित नभएसम्म संसार महामारीबाट सुरक्षित हुने छैन समेत भन्नुभएको छ । ‘कोभिड–१९ महामारी सम्बोधनार्थ संयुक्त राष्ट्र संघीय महासभाको ३१ औं विशेष अधिवेशन’ लाई भच्र्यूल माध्यमबाट संवोधन गर्दै प्रधानमन्त्री ओलीले संकटको यस घडीमा देखाएको विश्वव्यापी समन्वय र नेतृत्वका लागि नेपाल संयुक्त राष्ट्र संघ तथा विशेषतः विश्व स्वास्थ्य संगठनको सराहना गर्दछ भन्नुभयो । “चुनौतीहरुको सामना गर्दै गर्दा हामीलाई विद्यमान संकट निवारण गर्नका लागि एउटा दरिलो विश्वव्यापी सम्बोधनको आवश्यकता रहेको छ । सर्वप्रथम र प्रमूखरुपमा, हामीले बहुपक्षीयतालाई स्वच्छ नयाँ जीवन दिनुपर्दछ । हामीलाई गरीबी, भोकमरी तथा बढ्दो असमानता लगायत जलवायु संकट तथा विश्वव्यापी महामारीजस्ता हाम्रा समयका गम्भीर चुनौतिहरु सामना गर्नसक्ने पुर्नसवलीकृत बहुपक्षीयताको आवश्यकता छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

सो संवोधनको पूर्ण पाठ यस प्रकार छ ।

‘कोभिड–१९ महामारी सम्बोधनार्थ संयुक्त राष्ट्र संघीय महासभाको ३१ औं विशेष अधिवेशन’मा
प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको सम्बोधन

विशेष अधिवेशनका अध्यक्ष महोदय,
संयुक्त राष्ट्र संघका महासचिवज्यू,
महामहिमज्यूहरु तथा विशिष्ट महानुभावहरु !

कोभिड–१९ महामारी सम्बन्धी विशेष महाअधिवेशन आयोजना गर्नु भएकोमा अध्यक्षज्यूप्रति म हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु । अभूतपूर्व गति र व्यापकताका साथ फैलिरहेको महामारीले जो कसैलाई जुनसुकै स्थानमा रहे पनि प्रभावित तुल्याएको छ । १३ लाखभन्दा बढीले ज्यान गुमाइसकेको र प्राय सबै समाज, अर्थतन्त्र र मुलुकहरु गम्भीर रुपमा प्रभावित भैरहेको सन्दर्भमा महामारीको त्रासदी अकथनीय रहेको छ ।

विद्यमान महामारी फगत एक स्वास्थ्य संकट मात्र होइन । यो त राष्ट्रहरुबीच आपसी रुपमा तथा आन्तरिक रुपमा चुलिंदै गएको असमानता एवम् मानिसको जीवन र प्रकृतिबीचको बढ्दो असमाञ्जस्यता विरुद्ध जागरुक हुन बजेको घण्टी हो । हो, हामी सबै एउटै प्रकोपको भूमरीमा छौं । हामीमध्ये कसैलाई लाग्न सक्छ कि आफू धेरै सुरक्षित छौं, तर यस्तो होइन । हामी सबैजना खतरामा छौं । महामारीले हामीलार्इ एउटा अमूल्य शिक्षा प्रदान गरेको छ ।यो संसार एउटा सानो जहाज हो र हामी सबैजना यसका यात्री । हामीलाई मन परोस वा नपरोस, हामी एउटै भाग्यका हिस्सेदार हौं ।

अध्यक्ष महोदय,

अन्य मुलुकहरु जस्तै नेपाल पनि यो स्तरको संकटको लागि तयार थिएन ।तथापि, भाइरसको नियन्त्रणका लागि हामीले उपलब्ध सबै राजनैतिक, आर्थिक, मानवीय तथा प्राविधिक स्रोतहरुको परिचालन गरेका छौं । हामी मुख्यत तीनवटा उद्देश्यहरुबाट मार्गनिर्देशित भएका छौं: स्वास्थ्य स्याहार प्रणालीको सुदृढीकरण; जनताको जीवनको रक्षा; एवम् दिगो तथा उत्थानशील पुर्नस्थापना ।

आवश्यक परेकालाई निशुल्क परीक्षण एवम् उपचार सेवाहरु प्रदान गरिएको छ । संघीय, प्रान्तीय तथा स्थानीय तहका स्वास्थ्य प्रणालीमा आवश्यक पूर्वाधार, मानवीय तथा वित्तीय स्रोत एवम् चिकित्सकीय उपकरणहरु सुनिश्चित गरिएको छ । शुन्यप्रायः अवस्थाबाट शुरु गरेर हामीले मुलुकभर ६८ वटा पी सी आर परीक्षण सुविधासहितका प्रयोगशालाहरु विस्तार गरिसकेका छौं । ७० भन्दा बढी अस्पतालहरुलाई कोभिड–१९ अस्पतालका रुपमा तोकिएको छ । सबै ७५३ स्थानीय तहमा आधारभूत स्वास्थ्य स्याहार सुविधा सहितका अस्पतालहरु निर्माण गर्ने लक्ष्यका साथ हामी अघि बढिरहेका छौं ।

हामीले कोभिड–१९ सम्बन्धी कूल ४८ वटा संहिता तथा निर्देशिकाहरु तयार गरेका छौं । स्वास्थ्य मापदण्ड, सुरक्षा र निर्मलीकरण सम्बन्धमा सामाजिक संघसंस्था, व्यक्तिविशेष, आमसंचार जगत तथा सामाजिक सञ्जाल मार्फत भएका जनचेतना अभिबृद्धिका कार्यक्रम एवम् स्वास्थ्य मन्त्रालयले गर्ने दैनिक सूचना संप्रेषण विशेषतः उपयोगी रहेका छन् ।

अध्यक्ष महोदय,

संकटको यस घडीमा देखाएको विश्वव्यापी समन्वय र नेतृत्वका लागि नेपाल संयुक्त राष्ट्र संघ तथा विशेषतः विश्व स्वास्थ्य संगठनको सराहना गर्दछ ।चुनौतीहरुको सामना गर्दै गर्दा हामीलाई विद्यमान संकट निवारण गर्नका लागि एउटा दरिलो विश्वव्यापी सम्बोधनको आवश्यकता रहेको छ । सर्वप्रथम र प्रमूखरुपमा, हामीले बहुपक्षीयतालाई स्वच्छ नयाँ जीवन दिनुपर्दछ । हामीलाई गरीबी, भोकमरी तथा बढ्दो असमानता लगायत जलवायु संकट तथा विश्वव्यापी महामारीजस्ता हाम्रा समयका गम्भीर चुनौतिहरु सामना गर्नसक्ने पुर्नसवलीकृत बहुपक्षीयताको आवश्यकता छ ।

यसका लागि हामीले सहकार्य र ऐक्यबद्धताको मार्ग छनौट गर्नुपर्दछ, एकल कार्य होइन । दोस्रो, महामारी अन्तरराष्ट्रिय प्रतिबद्धता र सहकार्यबाट पछि हट्ने बहानाको रुपमा प्रयोग गरिनु हुँदैन । विशेष परिस्थितिमा रहेका राष्ट्रहरुलाई आफ्नो अर्थतन्त्र स्थिर बनाउन, आर्थिक स्थिरता रक्षा गर्न तथा ऋण संकटको सामना गर्न बृहत सहयोगको खाँचो रहेको छ ।

तेस्रो, खोप सम्बन्धी सुखद् समाचारबाट हामी प्रोत्साहित हुँदै गर्दा सबैका लागि खोपको उपलब्धताको विषय ठूलो अनिश्चितताको रुपमा देखापरेको छ । धनी र गरीब सबैका लागि खोपको पहुँच सुनिश्चित गर्नमा कोभाक्सले गरेको पहलकदमीको हामी सराहना गर्दछौं । खोपको विश्वव्यापी पहुँच सुनिश्चित नभएसम्म संसार महामारीबाट सुरक्षित हुने छैन । सम्पूर्ण मानवजगत संकटमा रहेको अवस्थामा जीवन–रक्षक खोप अत्यधिक मुनाफा कमाउने माध्यम बन्न सक्दैन भन्नेमा हाम्रो दृढ विश्वास रहेको छ । खोपहरु वास्तवमै विश्वव्यापी सार्वजनिक वस्तुका रुपमा सबै राष्ट्र तथा मानिसका लागि सर्वसुलभ र पहुँचयोग्य हुनुपर्दछ ।

अन्त्यमा, उचित पुर्नस्थापना र असल पुर्ननिर्माणका योजना बनाउदै गर्दा हाम्रा प्रयासहरु एजेन्डा २०३० तथा पेरिस सम्झौता अनुकूल हुनुपर्दछ । हामीले स्वास्थ्य र सामाजिक सुरक्षा प्रणाली; पूर्वाधार र रोजगारी सिर्जनामा लगानी गर्नुपर्दछ । यस सन्दर्भमा भएका राष्ट्रिय प्रयत्नहरु अन्तरराष्ट्रिय सहयोगका परिपूरकका रुपमा रहनुपर्दछ ।वर्तमान संकटले जीवनको रक्षा तथा समाजको सुरक्षाका लागि विश्वव्यापी एकता र उचित प्रतिबद्धताको माग गर्दछ । मानव सभ्यताले सधै विनाशकारी चुनौतिहरु सामना गरेको र सफलतापूर्वक पुनरागमन गरेको छ । हामी लडखडाउनु हुँदैन । एउटै समुदाय, एउटै सभ्यता र एउटै विश्वका रुपमा हामीले तुरुन्तै कार्य गर्नुपर्दछ । कसैलाई पनि पछि नछोडीकन हामी पहिलेभन्दा उत्तम परिस्थितिमा फर्कनुपर्छ ।

धन्यवाद ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected