0Shares

काठमाडौँ, १७ पुस । प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेट अन्तर्गत वागमती प्रदेशको छनोट खेलमा काठमाडौँ र ललितपुर विजयी भएका छन् । विहिबार भएको छनोट खेलमा काठमाडौँले भक्तपुरलाई चार विकेटले तथा ललितपुरले त्रिभुवन विश्वविद्यालयको टोलीलाई २९१ रनले पराजित गरेको हो ।

काठमाडौँको मुलपानीस्थित क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको भक्तपुरले ३३ दशमलव ४ ओभरमा ९७ रन बनायो । अन्ठानब्बे रनको विजय लक्ष्य काठमाडौँले २३ दशमलव पाँच ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । काठमाडौँका लागि जितेन्द्रसिंह ठकुरीले ३८, रविन जोशीले २७ तथा विभत्सु थापाले १६ रन बनाउनुभयो ।

बलिङतर्फ भक्तपुरका सुवास खत्रीले चार तथा धिरज अधिकारीले दुई विकेट लिनुभयो । यसअघि ब्याटिङ गर्ने क्रममा भक्तपुरका लागि अदित सुवेदीले ३६, कृष कार्कीले २७ तथा सुवास खत्रीले १४ रन बनाउनुभयो । बलिङतर्फ काठमाडौँका ईशान पाण्डेले ७ दशमलव ४ ओभरमा २८ रन खर्चेर ५ विकेट लिनुभयो । यस्तै सुमन उदयले ३ विकेट लिनुभयो ।

यसैगरी त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा आजै भएको अर्को खेलमा आदिल खानको दोहोरो शतकको सहयोगमा ललितपुरले त्रिभुवन विश्वविद्यालयको टोलीलाई पराजित गरेको छ ।

टस जितेर ब्याटिङ रोजेको ललितपुरले ४० ओभरमा ४ विकेट गुमाउँदै ३७५ रन बनायो । तीन सय ७६ रनको विजय लक्ष्य पछ्याउने क्रममा त्रिभुवन विश्वविद्यालयले २९ दशमलव ४ ओभरमा ८४ रन मात्र बनाउन सक्यो । ललितपुरका लागि आदिल खानले १२१ बलमा १६ चौका र १५ छक्काको मद्दतमा २०१ रन बनाउनुभयो । यस्तै आशुतोष घिरायले ५८ बलमा १२ चौका र ३ छक्काको मद्दतमा ८३ रन बनाउनुभयो ।

त्रिभुवन विश्वविद्यालयका लागि भने पृथु बाँस्कोटाले ४८ बलमा ४ चौका र ३ छक्काको मघतमा ४३ रन बनाउनुभयो । अन्य खेलाडीको खेल प्रर्दशन सम्झिन लायक रहेन । बलिङतर्फ ललितपुरका सुमित झाले चार तथा युनिस थापा र तिलक भण्डारीले दुई दुई विकेट लिनुभयो ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected