कोलम्बो, १० माघ । श्रीलङ्काले तमिल अलगाववादीहरूसँगको द्वन्द्वको क्रममा सेनाले युद्ध अपराध गरेको आरोपमा अनुसन्धान गर्ने शुक्रबार जानकारी गराएको छ । संयुक्त राष्ट्र सङ्घीय मानवअधिकार परिषद्ले यस मुलुकमा विगतमा भएका मानव अधिकार उल्लङ्घनका घटनामा छलफल गर्नेगरी तय भएको योजनाभन्दा एक महिना अगाडि सरकारले उक्त कुरा जानकारी गराएको हो ।
तीन दशक लामो गृहयुद्धमा कम्तिमा एक लाख व्यक्ति मारिए र सरकारले सन् २००९ मा चलाएको निर्णायक कारबाहीमा छोटो समयमै कम्तीमा ४० हजार तमिल नागरिक मारिएका थिए भनी तत्कालिन सरकामाथि आरोप लगाइने गरेको छ । सरकारले उक्त मृत्यु सङ्ख्यालाई भने अस्वीकार गर्दै आएको छ ।
सन् २००९ मा सेना प्रमुख रहेका राष्ट्रपति गोतावाय राजापाक्षले शुक्रबार छानवीनका लागि शुक्रबार नै एक समिति बनाई छ महिनाभित्र युद्ध अपराधसम्बन्धी मुद्दाहरूबारे अनुसनधान गर्न निर्देशन दिनुभएको छ । समितिलाई यस पहिलेका सरकारले छानवीन गरेका मुद्दाहरूलाई समेत अनुसन्धानको दायरामा ल्याउने र छ महिनाभित्र मानव अधिकार र अन्तर्राष्ट्रिय मानवीय कानुन उल्लङ्घनका आरोपबारे छानवीन गरी बुझाउन भनिएको राष्ट्रपतिको कार्यालयद्वारा जानकारी गराएको छ ।
“मानव अधिकार उल्लङ्घनका पीडितलाई न्याय र मेलमिलाप गराउन बारम्बार असफल भएको श्रीलङ्कामा अनुसन्धान आयोगको लामो इतिहास रहेको छ,“ एनेमेस्टी इन्टरनेसनलले सरकारी घोषणापछि ट्वीटमार्फत् दिएको प्रतिक्रियामा उल्लेख छ ।