71Shares

पोखरा भ्यूज
पोखरा । मतगणना हुन नसकेको स्याङ्जा २ को मतगणना वुधबार रातिदेखि गणना गर्न थालिएपछि गण्डकी प्रदेशमा सरकारको नेतृत्व र मुख्यमन्त्रीबारे वहस शुरु भएको छ । गण्डकी प्रदेशमा गठबन्धनमा रहेका दलहरुले सरकार बनाउन सक्ने गरी नतिजा निकाले पनि सरकारको नेतृत्व कसले लिने र मुख्यमन्त्री को बन्ने यकिन भएको छैन । यद्यपि राजनीतिकवृत भने विभिन्न अड्कलबाजी सहित गरमागरम वहस चलेको छ ।

प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ ३६ सिट रहेको गण्डकी प्रदेश सभामा ३४ सिटको नतिजा आउँदा नेपाली काँग्रेसले १६ सिटमा जित निकाल्दै पहिलो पार्टी भएको छ । २०७४ को निर्वाचनमा ठूलो दल बनेको एमाले यसपटक १२ सिटमा खुम्चिएर दोस्रो दल बनेको छ । त्यस्तै माओवादीले ५ सिट पाएको छ भने १ स्वतन्त्र सासंद निर्वाचित भएका छन् । यद्यपि स्याङ्जा २ को क र ख प्रदेशको नतिजा भने आउन बाँकी छ । चापाकोटका केही मतदान केन्द्रको विवादले रोकिएको मतगणन निर्वाचनको आयोगको निर्देशनपछि वुधबार राति ९ बजेबाट गणना शुरु भएको छ । यसको अन्तिम नतिजा एक दुई दिनभित्रै सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारी छ । समानुपातिकतर्फको २४ सिटमध्ये दलहरुले अहिले प्राप्त गरेको मतको आधारमा नेपाली काँग्रेसले ८, नेकपा एमालेले ९, माओवादीले ४ सिट र १ सिट अन्यले पाउने सम्भावना छ ।

प्रदेशमा सबैभन्दा ठूलो दलको बनेको नेपाली काँग्रेसले नै गठबन्धन सरकारको नेतृत्व गर्ने धेरैको अनुमान छ । तर गठबन्धनमा रहेका दलहरुले केन्द्रदेखि प्रदेशसम्म पदको बाँडफाड गर्दा गण्डकी प्रदेश कुन दलको भागपर्छ यसै भन्न नसकिने केहीको तर्क छ । गण्डकीमा गठबन्धनको सरकार बनेको अवस्थामा नेपाली काँग्रेस र माओवादीमध्ये कुनै एक दलले नै सरकारको नेतृत्व गर्नेमा कुनै शंका छैन । यद्यपि गण्डकीमा नेपाली काँग्रेसले नै गठबन्धनको नेतृत्व गर्ने राजनीतिक विश्लेषकहरुको धारणा छ ।

गण्डकीमा नेपाली काँग्रेसले गठबन्धन सरकारको नेतृत्व पाउँदा मुख्यमन्त्रीको दौड रहेका नेताहरुले आआफ्नो लविङ शुरू गरेका छन् । नेपाली काँग्रेसका गण्डकी सभापति शुक्रराज शर्मा समानुपातिकतर्फ पहिलो प्राथमिकतामा रहेको भए पनि ३३ प्रतिशत महिला सासंद हुनुपर्ने संवैधानिक प्रावधानले उनी सासंद बन्न सक्ने सम्भावन कम छ । प्रदेश सभामा सदस्य बन्न नसके सभापति शर्माको मुख्यमन्त्री बन्ने सपनामा ब्रेक लाग्ने छ । त्यस्तै अर्का सम्भावित दावेदर हुन्, गोरखका सुरेन्द्र पाण्डेको । काग्रेस केन्द्रीय सदस्य समेत रहेका पाण्डे यसअघि राष्ट्रिय सभाका सासंद थिए । गोरखा २ मा माओवादी अध्यक्ष प्रचण्डलाई छोडेर प्रदेशमा झरेका पाण्डेलाई गण्डकी प्रदेशको मुख्यमन्त्रीको सशक्त दावेदारका रुपमा हेरिएको छ । माओवादीका केही नेताले चुनावी आमसभालाई सम्बोधन गर्दा उनलाई मुख्यमन्त्रीका रुपमा चर्चा गरेका थिए ।

उता गण्डकी प्रदेश सरकारमा कानून, सञ्चार तथा प्रदेशमामिलामन्त्री समेत रहेका विन्दुकुमार थापालाई पनि गण्डकी प्रदेशको मुख्यमन्त्रीका रुपमा हेर्न थालिएको छ । कास्की २ (ख) बाट दोस्रोपटक विजय भएका थापा गण्डकी प्रदेशमा स्वच्छ छवी र इमान्दार मन्त्रीका रुपमा चिनिन्छन् । सासंद र मन्त्री हुँदा पाएको सम्पूर्ण सेवा सुविधासमेत विकास निर्माणमा खर्चेर मन्त्री थापाले आफूलाई निष्कलंक नेताका रुपमा स्थापित गराएका छन् । शालिन र नम्र स्वाभावका थापा मौजुदा मन्त्री परिषद् सदस्यमध्ये काँग्रेसबाट दोस्रोपटक जित्ने एक मात्र नेता हुन् । सफल व्यवसायी समेत उनी पोखराको सबैभन्दा जेठो संस्था पोखरा उद्योग वाणिज्य संघको पूर्वअध्यक्ष समेत हुन् । पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष हुँदा उनैको अगुवाईमा पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल तत्काल निर्माण गर्नुपर्छ भन्ने नागरिक आन्दोलन भएको थियो । मुख्यमन्त्रीको दौडमा रहेका दुवै नेता संस्थापन समूहमा छन् । थापा र पाण्डे बाहेक नवलपुरका महेन्द्रध्वज जि.सी पनि मुख्यमन्त्रीको दौडमा आउन सक्ने आँकलन गरिएको छ । यद्यपि मुख्यमन्त्री हुनका लागि संसदीय दलको नेता चुनिनुपर्ने व्यवस्था छ ।

दोस्रो कार्यकालका लागि प्रदेशसभामा पुनः निर्वाचित भएका मन्त्री विन्दुकुमार थापाले गण्डकी प्रदेश सरकारको नेतृत्व गर्ने जिम्मेवारी पाए आफू मुख्यमन्त्री बन्न तयार रहेको प्रतिक्रिया दिए । ‘यद्यपि सरकारको नेतृत्व र मुख्मन्त्रीमन्त्रीबारे गठबन्धनमा रहेका दलहरुबीचको राजनीतिक परार्मशका आधारमा तय हुन्छ, हामी यसबारे पार्टी र गठबन्धनका दलहरुसँग आन्तरिक छलफलमा छौं,’ मन्त्री थापाले भने ।

उता सरकारको नेतृत्वले माओवादीले पाउने अवस्थामा तनहुँ १ (ख) बाट निर्वाचित नेता हरिबहादुर चुमान मुख्यमन्त्रीको दावेदार हुनेछन् । एमालेले नेता खगराज अधिकारीलाई मुख्यमन्त्रीका रुपमा अघि सारेको भए पनि गण्डकीमा तत्काल एमाले नेतृत्वमा सरकार बन्ने अवस्था छैन ।

71Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected