
पोखरा । पोखरामा केन्द्रीय कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेड र मकवानपुरको हेटौँडामा केन्द्रीय कार्यालय रहेको समृद्धि फाइनान्स कम्पनी लिमिटेड एक आपसमा गाभिने भएका छन्।

आवश्यक प्रक्रियासँगै नियामक निकायको स्वीकृतिपछि आउँदो मंसिर महिनाभित्र एकीकृत कारोबार सुरु गर्ने लक्ष्यसहित मर्जरको कामलाई अघि बढाइने पोखरा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश गुरुङले जानकारी दिए । मर्जर समझदारीसँगै आइतबारदेखि दुवै संस्थाको सेयर कारोबार रोक्का गरिएको उनले जानकारी दिए ।
नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत प्राप्त दुई संस्थाले मर्ज हुनका लागि आइतबार एकापसमा गाभिने (मर्जर)सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। समझदारीपत्रमा पोखरा फाइनान्सका तर्फबट मर्जर समितिका संयोजक तिलबहादुर गुरुङ र समृद्धिका तर्फबाट मर्जर समितिका संयोजक सुदीप घिमिरेले हस्ताक्षर गरेका छन्।
एक सेयरबराबर एकको स्वाप रेसियोमा मर्ज हुन लागेका दुई संस्थाले मर्जरपछि पोखरा फाइनान्स लिमिटेडको नामबाट एकीकृत कारोबार गर्ने सम्झौतामा उल्लेख छ। मर्जरपछि संस्थाको केन्द्रीय कार्यालय काठमाडौंमा रहनेछ। हाल पोखरा फाइनान्सको चुक्ता पुँजी एक अर्ब आठ करोड २५ लाख छ भने समृद्धिको ८१ करोड ८९ लाख रुपैयाँ छ।
मर्जरपछि बन्ने सञ्चालक समिति अध्यक्षसहित सातसदस्यीय बन्ने भएको छ। समितिमा समृद्धिका तर्फबाट अध्यक्ष र तीन सञ्चालक रहँदा पोखराका तर्फबाट तीन सञ्चालक रहनेछन्। सञ्चालकको टुंगो लागे पनि प्रमुख कार्यकारी अधिकृत को हुने भन्ने निर्णय भइसकेको छैन।





