56Shares

काठमाडौँ । नेपाली काँग्रेसभित्र महाधिवेशनको मितिलाई लिएर देखिएको मतभेदले पार्टीभित्रको शक्ति संघर्ष सतहमा आएको छ। केन्द्रीय कार्य सम्पादन समितिले बहुमतका आधारमा नियमित महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म गर्ने प्रस्ताव पारित गरे पनि विशेष महाधिवेशनको विषय भने अझै अनिश्चित बनेको छ।

काँग्रेसका महामन्त्री गगनकुमार थापाले नियमित महाधिवेशनको मिति पारित भए पनि विशेष महाधिवेशनबारे निर्णय टुंगिन नसकेको बताएका छन्। केन्द्रीय समिति बैठकपछि उनले पार्टी विधानको धारा १७(२) अनुसार पुस मसान्तभित्र विशेष महाधिवेशन आह्वान गर्नुपर्ने स्पष्ट कानुनी व्यवस्था रहेको दाबी गरे।

‘कार्यवाहक सभापतिले विधानको धारा ४३ प्रयोग गर्दै वैशाखमा महाधिवेशन गर्ने प्रस्ताव प्रस्तुत गर्नुभयो। हामी ४–५ जनाले फरक मत राख्यौं तर बहुमतले प्रस्ताव पारित भयो,’ थापाले भने, ‘विशेष महाधिवेशन माग गर्दै बुझाइएको पत्रअनुसार तीन महिनाभित्र बोलाउनैपर्छ। पुस २८–२९ अन्तिम म्याद हो।’

विशेष महाधिवेशनको मागलाई पार्टीभित्र नेतृत्व सुधार र आन्तरिक लोकतन्त्रको बहससँग जोडेर हेरिएको छ। यसले काँग्रेसभित्र हालको नेतृत्व संरचनालाई निरन्तरता दिने समूह र तत्काल संगठनात्मक पुनर्संरचना चाहने समूहबीचको मतभेद झनै स्पष्ट बनाएको छ।

यता, नेपाली काँग्रेस केन्द्रीय अनुशासन विभाग प्रमुख आनन्दप्रसाद ढुंगानाले पार्टी केन्द्रीय समितिले गरेका औपचारिक निर्णयबाहेकका गतिविधि मान्य नहुने बताएका छन्। उनले केन्द्रीय समितिको निर्णय विपरीत गएर पार्टी विधान उल्लंघन गर्ने जो कोही भए पनि कारबाहीको दायरामा ल्याइने चेतावनी दिएका छन् ।

ढुंगानाले विशेष महाधिवेशनका नाममा हल बुक गर्ने लगायतका गतिविधिबारे हालसम्म अनुशासन समितिमा औपचारिक उजुरी नआएकाले कारबाही प्रक्रिया अघि नबढेको स्पष्ट पारे। ‘उजुरी आएमा पार्टी विधान र अनुशासनको प्रचलित मापदण्डअनुसार कारबाही हुन्छ,’ उनले भने।

56Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected