24Shares

पोखरा । आसन्न निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले पोखरा महानगरपालिका–२३ स्थित ठुलाखेतमा वडास्तरीय चुनावी सम्पर्क कार्यालय उद्घाटन गरेको छ । आइतबार सम्पन्न उक्त कार्यक्रममा कांग्रेस नेताहरूले जनताको आवश्यकता पहिचान गरेर समाधानमा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गर्दै चुनावी अभियानलाई तिब्र बनाउने संकेत दिएका छन् ।

नेपाली कांग्रेस वडा इकाई सभापति भरत भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कास्की क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का सभापति मनोज गुरुङ र समानुपातिक तर्फका उम्मेदवार, कांग्रेस महासमिति सदस्य आई बहादुर गुरुङ प्रमुख वक्ताका रूपमा सहभागी थिए ।

कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्यका उम्मेदवार मनोज गुरुङले सस्तो लोकप्रियताका लागि जनतामा असम्भव आशा बाँड्ने प्रवृत्तिको आलोचना गर्दै जनताका वास्तविक समस्या पहिचान गरी समाधानमा केन्द्रित हुने बताए । उनले कास्की क्षेत्र नम्बर ३ का विभिन्न क्षेत्र र समुदायमा पुगेर नागरिकका सुझाव संकलन गरिसकेको जानकारी गराउँदै ती सुझाव समेटेर आफ्नो प्रतिबद्धता पत्र तयार गर्ने उल्लेख गरे ।

“हामी केवल भाषणमा सीमित हुँदैनौं, जनताले दिएका सुझावलाई व्यवहारमा उतार्ने जिम्मेवारीपूर्वक अगाडि बढ्छौं,” उनले भने । साथै, उनले निर्वाचनमा विजय सुनिश्चित गर्न पार्टी पंक्तिलाई अनुशासित र जिम्मेवार ढंगले परिचालन गरिने प्रतिबद्धता व्यक्त गरे ।

समानुपातिक उम्मेदवार आई बहादुर गुरुङले पनि वडा–वडामा पुगेर नागरिकका महत्त्वपूर्ण सुझाव संकलन गरिरहेको जानकारी गराउँदै सबै सुझाव समेटेर जनमुखी प्रतिबद्धता पत्र तयार गरिने बताए । उनले कांग्रेस सधैं जनताको आवाज सुन्ने पार्टी भएको उल्लेख गरे ।

कार्यक्रममा नेपाली कांग्रेस कास्कीका उपसभापति एवं निर्वाचन परिचालन समितिका संयोजक युवराज कुँवर, संविधान सभा सदस्य शारदा पौडेल, गण्डकी प्रदेश सभा सदस्य प्रकाश बराल, लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय अध्यक्ष देवेन्द्र कुमार शेरचन, कास्की क्षेत्र नम्बर ३ का सचिव लक्ष्मी पौडेल, पोखरा महानगरपालिका वडा नं. २३ क वडाध्यक्ष रामकाजी गुरुङ, नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य इन्दिरा लामिछाने, वडा इकाई सचिव रविन्द्र गुरुङ लगायत वक्ताहरूले आ–आफ्ना धारणा राखेका थिए ।

वक्ताहरूले देश निर्माण, शान्ति स्थापना र राजनीतिक परिवर्तनमा नेपाली कांग्रेसले खेलेको ऐतिहासिक भूमिकाको स्मरण गराउँदै सस्तो लोकप्रियतामा नलागी लोकतन्त्र, समावेशिता र विकासका ठूला परिवर्तन कांग्रेसकै नेतृत्वमा सम्भव भएको दाबी गरे । उनीहरूले आगामी निर्वाचनमा कांग्रेसलाई विजयी बनाउन कार्यकर्ता तथा मतदातालाई एकजुट हुन आह्वानसमेत गरे ।

उद्घाटनसँगै बिभिन्न स्थानमा कोण सभा सहित मार्की, घाटसिना, दमदमे, कुद्बिर डांडा, सिदानेमा घरदैलोले पोखरा–२३ मा कांग्रेसको चुनावी गतिविधि थप सशक्त र संगठित हुने अपेक्षा गरिएको छ ।

24Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected