0Shares

पोखरा । पोखरा महानगरपालिका वडा नं १७ दोविल्लाका बासिन्दाले सेती नदी र फुस्रेखोलाको कटान नियन्त्रणका लागि प्रतिनिधिसभा सदस्यका उम्मेदवारसँग स्पष्ट र दीर्घकालीन प्रतिवद्धता माग गरेका छन्। वर्षेनी बढ्दो कटानका कारण सिंगो बस्ती नै उच्च जोखिममा परेको भन्दै उनीहरूले समस्याको स्थायी समाधान आवश्यक रहेकोमा जोड दिएका हुन्।

चुनावी अभियानका क्रममा दोविल्ला पुगेका नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार रश्मी आचार्यसमक्ष स्थानीयले बस्ती संरक्षणलाई चुनावी प्राथमिकतामा राख्न आग्रह गरेका छन्।

सेती नदी र फुस्रेखोलाको निरन्तर कटानका कारण वस्ती असुरक्षित बन्दै गएको बताउँदै स्थानीय भगवती पौडेलले पोखरा १७ र १५ को सिमानामा बग्ने सेती नदी तथा वडा नं २१ को सिमानामा रहेको फुस्रेखोलाको संगमस्थल दोविल्लामा हरेक वर्ष मनसुनमा कटान झनै तीव्र हुँदै गएको बताइन ।

उनका अनुसार निरन्तरको वर्षाका कारण वस्ती मात्र होइन, मुख्य सडकसमेत भासिने अवस्थामा पुगेको छ। केही वर्षअघि खोला किनारामा पर्खाल निर्माणको काम सुरु गरिए पनि हालसम्म सम्पन्न हुन नसक्दा जोखिम झनै बढेको उनले बताइन ।

अर्का स्थानीय गौतम गिरीका अनुसार उक्त क्षेत्रमा ४४ घरपरिवार बसोबास गर्दै आएका छन्। कटानको जोखिम बढेपछि केही परिवार विस्थापित भइसकेको उल्लेख गर्दै उनले नदी तथा खोला किनारामा तटबन्ध, पर्खाल निर्माण र जोखिम न्यूनीकरणका अन्य उपाय तत्काल लागू गर्न सरकारको ध्यानाकर्षण गराए ।

दोविल्लावासीले स्थानीय तह, प्रदेश र संघीय सरकारको ध्यानाकर्षण गराउँदै दीर्घकालीन समाधान नहुँदा सिंगो बस्ती विस्थापित हुने खतरा रहेको बताएका छन्। साथै पोखरा १७ र २१ जोड्ने दोविल्लास्थित फुस्रेखोलामाथिको पक्की पुलसमेत जोखिममा परेकोप्रति चिन्ता व्यक्त गरेका छन्।

स्थानीयको भेलामा उम्मेदवार रश्मी आचार्यले नदी तथा खोलाको कटानका कारण उच्च जोखिममा रहेको दोविल्ला क्षेत्रको संरक्षण तथा आवश्यक पूर्वाधार निर्माणका लागि आफू प्रतिवद्ध भएर लाग्ने विश्वास व्यक्त गरे । जनभावनाको कदर गर्दै विकास निर्माणमा जुट्ने प्रतिबद्धता जनाउँदै उनले पार्टीको चुनावी घोषणापत्र तयार गर्न सुझाव संकलनका लागि टोल–टोलमा पुगेको जानकारी दिए ।

यसअघि पनि विभिन्न राजनीतिक दलका उम्मेदवारसमक्ष कटान नियन्त्रणका लागि पहल गर्न आग्रह गरिएको बताउँदै स्थानीय नवयुवा राजु गिरीले फुस्रेखोलाको संगमस्थल दोविल्ला क्षेत्रमा दुवै नदीको कटानका कारण सहारा क्वलद्वारा सञ्चालित सहारा एकेडेमीसहित विभिन्न संघ–संस्था तथा ठूलो बस्ती उच्च जोखिममा परेको उल्लेख गरे ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected