47Shares

पोखरा । मुस्ताङ जिल्लाका विभिन्न राजनीतिक दलमा आवद्ध प्रभावशाली नेताहरू बुधबार नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। साविक नेकपा (माओवादी केन्द्र) मुस्ताङका पूर्व जिल्ला अध्यक्ष गणेश थकाली, नेकपा (एमाले) मुस्ताङ जिल्ला कार्यसमिति सदस्य प्रतिभा गुरुङ तथा ताक्लुङ निवासी नेता चन्द्र बि.क. नेपाली कांग्रेसमा समाहित भएका हुन्।

नवप्रवेशी नेताहरूलाई नेपाली कांग्रेस मुस्ताङ जिल्ला सभापति एवं पूर्व मन्त्री रोमी गौचन थकालीले एक कार्यक्रमबीच औपचारिक रूपमा पार्टीमा स्वागत गरे। स्वागत कार्यक्रममा बोल्दै सभापति गौचनले प्रजातान्त्रिक मूल्य–मान्यता, समावेशी राजनीति र जनसेवामा विश्वास गर्ने व्यक्तित्वहरूको कांग्रेस प्रवेशले जिल्लामा पार्टीलाई थप सुदृढ र जनमुखी बनाउने विश्वास व्यक्त गरे।

कार्यक्रममा प्रदेशसभा सदस्य बिकल शेरचन, प्रदेशसभा क्षेत्र नं. २ का कार्यवाहक सभापति योगेश शेरचनलगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। वक्ताहरूले नेपाली कांग्रेसको प्रजातान्त्रिक विचारधारा, सामाजिक न्याय र समावेशी विकासप्रतिको स्पष्ट प्रतिबद्धताका कारण जनविश्वास क्रमशः बढ्दै गएको उल्लेख गरे।

नवप्रवेशी नेताहरूको राजनीतिक अनुभव, नेतृत्व क्षमता र संगठनात्मक दक्षताले पार्टीलाई आगामी दिनमा अझ संगठित, एकताबद्ध र प्रभावकारी बनाउने अपेक्षा व्यक्त गरिएको थियो। उनीहरूको आगमनले मुस्ताङमा कांग्रेसको संगठन विस्तार तथा जनआधार सुदृढ हुने विश्वास पनि व्यक्त गरियो।

नवप्रवेशी नेताहरूले लोकतन्त्रको रक्षा, सामाजिक न्यायको प्रवर्द्धन र समावेशी विकासमा नेपाली कांग्रेसको ऐतिहासिक भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै पार्टीभित्र रहेर मुस्ताङको समग्र विकास र जनताको सेवामा सक्रिय योगदान गर्ने प्रतिबद्धता जनाएका छन्।

47Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected